शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री रेणु यादवले भनिन्–‘रौतहटमा भएको घटनाको छानविन हुनुपर्छ अनि मात्र राजीनामाको कुरा आउँछ’

शनिबार, ०८ माघ २०७८, १५ : ५८
शनिबार, ०८ माघ २०७८

जनता समाजवादी पार्टी नेपालकी नेतृ रेणु यादवले आफूले गौर घटना पुनः दोहोरिने वा सिके राउतलाई मार्ने कुरा नबोलेको दावी गरेकी छिन् । सिके राउत नेतृत्वको जनमत पार्टीले आफूविरुद्ध गरेको आन्दोलन र त्यसबाट उत्पन्न मुठभेडको स्थितिलाई हेरेर आफूले गौर घटना पुनः दोहरिन सकिने कुरा बोलेको उनले स्पष्ट पारिन् ।

उनले भनिन्, ‘मसँग सुरक्षाकर्मी थिए, हाम्रा हजारौं नेता तथा कार्यकर्ता थिए, त्यसलाई जनमत पार्टीका कार्यकर्ताले रोक्ने प्रयास गरेका थिए, यहाँ कुनै घटना नहोस् भनेर म अर्को बाटो भएर कार्यक्रमस्थलमा गएकी हुँ । यदि मैले हिंसा चाहेको भए, त्यहाँ आफ्ना कार्यकर्ता र सुरक्षाकर्मीलाई छोडेको भए के हुन्थ्यो ? त्यहाँ विगतमा जसरी गौर घटना भएको थियो त्यस्तै अवस्था सृजना हुन्थ्यो तर मैले संयमता अपनाएर त्यस्तो नहोस् भनेर अर्को बाटो अपनाएकी थिएँ ।’

अर्को बाटो भएर कार्यक्रममा सहभागी हुँदा पनि जनमत पार्टीका युवा तथा विद्यार्थीहरुले हुलदङ्गा गरिरहेको दावी मन्त्री यादवको छ । अवस्था हेरेर नै आफूले पटक–पटक गौर घटना स्मरण गराएको उनले बताइन् । ‘त्यस्तो घटना हुन्छ वा होस् भनी भन्न चाहेको होइन, मैले सिके राउतलाई त्यस्तो नहोस् भनी सचेत गराएको हुँ’ उनले भनिन् । 

तपाईको राजीनामाको माग उठेको छ नि भन्ने रातोपाटीको प्रश्नमा उनले भनिन्, ‘राजीनामाको कुरा उठाउनुभन्दा पहिले रौतहटमा माघ ५ गते के भएको थियो, त्यसको सत्यतथ्य छानविन हुनुपर्छ, मैले त्यहाँ के बोलेको थिएँ र जनमत पार्टीका नेताहरुले कसरी त्यो कुरालाई अतिरञ्जित गरेका छन् त्यसको छानविन हुनुपर्छ । छानबिनबाट जे कुरा आउँछ त्यसपछि पार्टीले त्यसको बारेमा निर्णय लिन्छ ।’

उनले भनिन्– ‘त्यहाँ तीनवटै तहका सुरक्षा निकायका प्रतिनिधिको उपस्थिति थियो । त्यहाँ के–के भएको थियो, मैले के बोलेको सबै कुराको रेकर्ड उनीहरुसँग छ’ उनले भनिन् । मन्त्री यादवले सरकारले त्यसको सत्यतथ्य छानविन गरेपछि सबै कुरा बाहिर आउने बताइन् । 

सहिदको सम्झनामा आयोजित कार्यक्रममा भाग लिन आफू रौतहट गएको बताउँदै उनले त्यो सरकारको कार्यक्रम नभएको बताइन् । उनले भनिन्– ‘मधेश आन्दोलनमा मारिएका सहिदको सम्झनामा कार्यक्रम थियो र त्यसलाई बिथोल्ने प्रयास जनमत पार्टीले गरेको हो ।’ मन्त्री यादवले त्यसको पनि छानविन हुनुपर्ने माग गरिन् ।

जनमत पार्टीका नेता–कार्यकर्ताले रौतहटमा मात्र नभई जहाँ पनि जसपा नेपालका मन्त्री तथा नेता र कार्यकर्तालाई टार्गेट गर्ने गरेको मन्त्री यादवले आरोप लगाइन् । उनले भनिन्, ‘जनमत पार्टीले किसानका लागि आन्दोलन गरिरहेको छ, त्यसमा हाम्रो केही गुनासो छैन, शान्तिपूर्ण आन्दोलन गर्न पाउनुपर्छ तर आन्दोलनको नाममा अरुलाई हुलहुज्जत गर्ने, हिंसा भड्काउने, मर्ने मार्नेको कुरा गर्ने प्रवृत्तिले समस्या समाधान हुनुभन्दा बढी बिग्रिन्छ ।’ 

सिके राउतले पोस्ट गरेको भिडियो र आफूले बोलेको भिडियो फरक रहेको बताउँदै उनले भनिन्, ‘मैले बोलेको पुरा भिडियो हेरेपछि सबै कुरा छर्लङ्ग हुन्छ, मैले किन त्यो कुरा बोलेको हुँ, त्यही भिडियोमा छ तर सिके राउतले मैले बोलेको भिडियोलाई काँटछाँट गरी इडिट गरेर सनसनी फैलाउने गरी ल्याउनु भएको छ, त्यसको पनि छानबिन हुनुपर्छ ।’ 

अरुले बोलेको कुरालाई त्यसरी इडिट गरेर सार्वजनिक गर्न पाइन्छ कि पाइँदैन त्यो कुराको पनि छानविन हुनुपर्ने मन्त्री यादवको माग छ ।  केही दिनअघि सोही कार्यक्रममा मन्त्री यादवले रौतहटको सदरमुकाम गौरमा भएको जस्तो घटना गराउने अभिव्यक्ति दिएको भन्दै चर्को आलोचना हुँदै आएको छ । गौरमा २०६४ साल चैतमा  मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरूले तत्कालीन नेकपा माओवादीका २९ जना कार्यकर्ताहरूको निर्ममतापूर्वक हत्या गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप