बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय चुनावबारे गठबन्धनमा गडबड : देउवाको प्रस्तावमा काँग्रेसकै नेताहरुको विमति

प्रचण्ड–माधवसँगको सहमतिबाट देउवा किन यू–टर्न भए ?
बिहीबार, ०६ माघ २०७८, १९ : १३
बिहीबार, ०६ माघ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका शीर्ष नेताबीच वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा मत विभाजित भएको छ । प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव वैशाखमै गर्ने प्रस्ताव अगाडि सारेका छन् ।

देउवाको प्रस्तावमाथि विमति राख्दै गठबन्धनको उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाखमा संघीय निर्वाचन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

प्रचण्डको प्रस्तावमा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले समर्थन जनाएका छन् तर काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले वैशाखमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने विषयमा दह्रो अडान लिएको अवस्था छ ।

स्थानीय निर्वाचनबारे प्रधानमन्त्री र शीर्ष नेताबीच एक मत नहुँदा गठबन्धनमै गडबड पैदा गरेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई जानकारी दिए ।

स्रोतले भन्यो, ‘मंगलबारको बैठकमा हामीले उहाँहरु पाँच जनालाई सहमति खोज्न भनेका थियौं । आवश्यकता परे प्रमुख निर्वाचन आयुक्तलाई पनि बोलाएर कुराकानी गर्नुस् । यो कुरा मिलिरहेको छैन भनेर हामीले जोडदार ढंगले कुरा राखेका थियौं । तर उहाँहरूबीच थप छलफलसमेत हुन सकेन । त्यसैले आजको बैठक स्थगित हुन पुगेको छ ।’

नेताहरुबीच बैठकसमेत बस्न नसकेपछि बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक पनि स्थगित भएको उनको भनाइ छ ।

‘ऐन र संविधानबीच तालमेल नमिलेको कुरा बताएका छौं । निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचनको मिति तर्कसंगत छैन । यस विषयमा शीर्ष नेताहरुले निर्वाचन आयुक्तसँग छलफल गरेपछि मात्र आगामी बैठक बस्नेछ,’ उनले भने ।

स्थानीय निर्वाचन अगाडि गर्ने कि संघ र प्रदेशको भन्नेबारे काँग्रेसभित्रै सहमति नहुँदा आजको बैठक स्थगित भएको देखिन्छ । यद्यपि विहीबार अपरान्ह देउवा, प्रचण्ड, र माधव नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीचको छलफलपछि सत्तारुढ गठबन्धनको बैठक शुक्रबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।​

 

पौडेल, सिटौला र खड्काले देउवालाई दिएनन् साथ

मंगलबार उच्चस्तरीय समन्वय समिति बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले पार्टीका शीर्ष नेतासहित कानुनमन्त्री दिलेन्द्र बडू र महान्यायाधिवक्ता खुमबहादुर खातीलाई राखेर छलफल गरेका थिए । उक्त बैठकबाट देउवा स्थानीय तहको निर्वाचन वैशाखमै गर्नुपर्ने निष्कर्षमा पुगेका थिए ।

देउवाको प्रस्तावमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र उपसभापति पूर्णबहादुर खड्काले आपत्ति जनाएका थिए । बैठकमा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र कानुनमन्त्री दिलेन्द्र बडूले भने देउवाको प्रस्तावमा समर्थन जनाएका थिए ।

उच्च स्रोतका अनुसार उपसभापति खड्काले वैशाखमा स्थानीय तहको चुनाव गरे गठबन्धन अगाडि बढ्न नसक्ने चेतावनी दिएका थिए । तर देउवाले वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने कुरा नरोक्न सकिने जवाफ दिएका थिए ।

‘गठबन्धन जोगाउने जिम्मा मेरो भयो । म जसरी पनि जोगाउँछु । तर स्थानीय तहको निर्वाचन सार्न सकिँदैन । यसबारे तपाईहरुले प्रचण्ड र माधव नेपाललाई मनाएर सहयोग गर्नुस् । म पनि लाग्छु,’ देउवाले भनेका थिए ।

स्रोतका अनुसार पौडेल, सिटौला र खड्का देउवाको आग्रह मान्न तयार भएनन् । कार्की र बडूले भने वैशाखमा स्थानीय तहको चुनाव गर्ने देउवाको भनाइ ठीक भएको बताएका थिए । समन्वय समितिको बैठकमा पनि देउवा सोही अनुसार प्रस्तुत भए । स्थानीय तहमा गठबन्धन गरेर जान आफू तयार रहेको भन्दै वैशाखमा स्थानीय तहको चुनाव गर्ने कुरामा सहमत भइदिन आग्रह गरेका थिए ।

‘बरु मिलेर जाऊ । मिलेर जाने कुरामा कुनै समस्या भएन तर स्थानीय तहको चुनाव वैशाखमै गर्नुपर्छ,’ देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘बाहिर माहोल अर्को भइसक्यो । स्थानीय निर्वाचन सार्दा परिस्थिति एन्टी करेन्ट जान्छ ।’

समन्वय समिति बैठकमा पनि देउवाले पौडेल, सिटौला र खड्काको साथ पाएनन् । पौडेल र सिटौला समन्वय समितिका सदस्यका रुपमा सहभागी थिए भने मंगलबार खड्का पनि बैठकमा बसेका थिए ।

‘वैशाखमा स्थानीय चुनाव गर्ने देउवाजीको प्रस्तावलाई रामचन्द्रजी, सिटौलाजी र पूर्णबहादुर खड्काजीले ठाडै प्रतिवाद गर्नुभयो,’ बैठकमा सहभागी ती नेताले भने ।

काँग्रेस उपसभापति खड्काको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘ऐन र कानुन मिलाउनुपर्ने छ । त्यसो गर्दा समय लिन्छ । केही दिन समय लिँदा के फरक पर्छ ? अलि दिन जान्छ नि । यो बीचमा संघ र प्रदेशको चुनाव पहिला गरेर जाऊ अथवा सबै चुनाव एकसाथ गरौं ।’

खड्काको भनाइमा प्रचण्ड लगायतका नेताले समर्थन जनाए पनि देउवाले भने असहमति जनाए । ‘यो वा त्यो बहानामा स्थानीय तहको चुनावलाई पछाडि लैजाने कुरा गर्नु हुँदैन,’ देउवाको भनाइ थियो ।

अनि ‘यू–टर्न’ भए देउवा

माओवादी र एकीकृत समाजवादीका नेताहरुले प्रधानमन्त्री देउवा पूर्ववत् सहमतिबाट ‘यू–टर्न’ भएको बताउँछन् । ‘महान्यायाधिवक्ता खम्मबहादुर खातीले प्रधानमन्त्रीको दिमाग भुटिदिनुभयो । केही दिन अगाडिसम्म देउवाजी संघ र प्रदेशको चुनाव पहिला गरेरमात्र स्थानीय चुनाव गरौं भन्नेमा हुनुहुन्थ्यो,’ एकीकृत समाजवादीका एक नेताले भने ।

उनका अनुसार प्रचण्ड, माधव र देउवाका बीचमा वान टू वान कुराकानी हुँदा संघ र प्रदेशको चुनाव पहिला गरेर मात्र स्थानीय चुनाव गर्ने सहमति भएको थियो ।

प्रचण्ड र माधव नेपालले आ–आफ्नो पार्टीको फोरममा त्यही बिफ्रिङ गरेका थिए । माधव नेपालले त पार्टीभित्र तीनवटै चुनाव एकै पटक गरे के होला भनेर राय समेत लिएका थिए । एकीकृत समाजवादीका नेताहरुले संघ र प्रदेशको चुनाव अगाडि गर्दा राम्रो हुने राय नेपाललाई दिएका थिए ।

माओवादी केन्द्रमा पनि सोही अनुसारको धारणा बनेको थियो । तर मंगलबार प्रधानमन्त्री देउवाले अप्रत्यासित रुपमा वैशाखमै स्थानीय तहको चुनाव गरिछाड्ने अडानसहित प्रस्ताव राखेको उनको भनाइ छ ।

तर प्रचण्ड, गंगालाल तुलाधर, उपेन्द्र यादव लगायतले स्थानीय तहको निर्वाचन अगाडि गर्ने कुरा उल्टो भएको बताएका थिए ।

‘हिजो पनि उल्टो भएको थियो चुनाव । संघीय र प्रदेशको चुनाव गरेरमात्र स्थानीय चुनाव गर्नुपर्ने थियो । त्यो बेला परिस्थिति त्यस्तो थिएन होला,’ प्रचण्डले भनेका थिए, ‘त्यस कारण हामीले स्थानीय तहको चुनाव अगाडि गर्यौ होला । अब संघ र प्रदेशको चुनाव गरेर मात्रै स्थानीय तहको चुनाव गरौं ।’

उनले तीन वटै चुनावमा यो गठबन्धन कायम भएर जानुपर्नेमा पनि जोड दिएका थिए । देउवाले गठबन्धन कायम राखेर जाने कुरामा कुनै समस्या नभएको भन्दै उनले आश्वस्त पारेका थिए ।

‘कहाँ कहाँ को कसलाई भनेर भागबण्डा गर्नु पर्छ, त्यो गर्दै जाऊ । ज्यादै प्रेसर भइसक्यो । तर निर्वाचन आयोगले पनि वैशाखमै गर्नु भन्छ । बाहिरको स्थिति पनि वैशाखमै गरौं भन्ने छ,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी काँग्रेसका एक नेताले भने, ‘हामीले चुनाव सारेर जाँदा ज्यादा आक्रमण हुन्छ । चुनाव सार्ने काम नगरौं भन्ने मेरो भनाइ हो ।’

स्थानीय तह निर्वाचन वैशाखमै गर भन्दै मिडिया र एमाले गुटका तीन वटा संस्थाको दबाबमा देउवा प्रभावित भएको गठबन्धनका नेताहरुको बुझाइ छ ।

‘एमाले निकट तीन वटा संस्था गाउँपालिका महासंघ, नगरपालिका महासंघ, जिल्ला समन्वय समिति महासंघबाट वैशाखमै स्थानीय निर्वाचन गर भनेर वक्तव्य दिने काम भयो । एमालेको यो फण्डाबाट प्रधानमन्त्री प्रभावित हुनुभयो,’ माओवादी स्रोतले भन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप