शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ओलीको ‘ग्रिन सिग्नल’ पर्खँदै राप्रपाका दुई झापाली उम्मेदवार

बुधबार, २१ पुस २०७८, १८ : ०१
बुधबार, २१ पुस २०७८

आगामी माघ १२ गते हुने राष्ट्रियसभाको चुनावका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग प्रदेश १ मा चारजना मतदाता छन् । प्रदेशसभाका एक सांसद र तीनजना स्थानीय जनप्रतिनिधिले राप्रपाका तर्फबाट मतदान गर्न पाउनेछन् । चार मतदाताको मतभार १२० हुनेछ । चार भोटमात्रै रहेको राप्रपाले राष्ट्रियसभाका लागि प्रदेश १ बाट अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ । तर, प्रदेश १ का तीनवटा सीटमध्ये आफूले एकसीट पाए एमालेलाई सघाउन तयार रहेको राप्रपा नेताहरु बताउँछन् ।

‘हामीले एमालेसँग एकसीट मागेका छौं, पार्टीको उच्च तहमा यसबारे छलफल भइरहेको छ,’ राप्रपा स्रोतले रातोपाटीसँग भन्यो, ‘एमालेले राप्रपालाई एक सीट दियो भने प्रदेश १ मा एमाले र राप्रपाबीच चुनावी तालमेल हुन सक्छ ।’

आफ्नो पक्षमा मत नभए पनि एमालेसँग गठबन्धन गरेर राप्रपाका उम्मेदवार केन्द्रीय संसदमा आउने र राजतन्त्रको नारा घन्काउने रणनीतिमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभाको चुनावमा आफ्नो जित सुनिश्चित गर्नकै लागि भए पनि अहिले राष्ट्रियसभाको चुनावमा आफूहरुलाई गुन लगाइदिन सक्ने राप्रपा नेताहरुको आशा छ ।   

प्रदेश १ मा राष्ट्रियसभाको चुनावमा मतदाताहरुको कुल मतभार ९३१२ छ । सत्तारुढ गठबन्धनसँग ४६६८ मतभार छ । एमालेसँग ४५२४ मतभार छ । १२० मतभार रहेको राप्रपाले एमालेलाई सघायो भने एमाले–राप्रपा गठबन्धनको मतभार ४६४४ पुग्छ । यो अवस्थामा सत्तारुढ गठबन्धनलाई जित्न २५ मतभार चाहिन्छ ।

स्थानीय तहका प्रमुख वा उपप्रमुखको १८ मतभार हुने भएकाले राप्रपाले सघाएको अवस्थामा एमालेले दुईजना जनप्रतिनिधि (३६ मतभार) आफूतिर तान्यो भने प्रदेश एकमा जित हात पार्न सक्छ । अर्थात् सत्ता गठबन्धनका दुई–तीनजना जनप्रतिनिधिहरु कारणबस अनुपस्थित बनेको अवस्थामा पनि एमाले–राप्रपाले जित्ने अवस्था आउन सक्छ ।

​तर, राप्रपाको १२० मतभार आफूतिर तान्न एमालेले  झापाली उम्मेदवार सुमित्रा भण्डारीको उम्मेदवारी फिर्ता लिएर राप्रपाकी रञ्जु प्याकुरेललाई सघाउनुपर्ने हुन्छ । अथवा गुरु बरालको उम्मेदवारी फिर्ता लिएर राप्रपाका उम्मेदवार अम्मरबहादुर बिष्टलाई सघाउनुपर्ने हुन सक्छ । तथापि यसबारे राप्रपा र एमालेबीच कुरो मिलिनसकेको नेताहरु बताउँछन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन दुबै झापाका नेता हुन् । झापा क्षेत्र नम्बर ५ मा ओलीलाई र क्षेत्र नम्बर ३ मा लिङ्देनलाई आगामी चुनाव जित्न दुबै पार्टीको साथ चाहिएको छ । त्यसर्थ असिहले राष्ट्रिय सभाको चुनावमा उनीहरुबीच तालमेल हुने– नहुने विषयलाई आगामी संसदीय चुनावसँग पनि जोडेर हेर्न थालिएको छ । त्यसैले, अहिले राप्रपाले राष्ट्रियसभामा उम्मदेवार बनाएका दुई झापाली उम्मेदवारहरुले केपी ओलीको ग्रिन सिग्नल पर्खिइरहेका छन् ।

८ उम्मेदवारमा ४ झापाली !

प्रदेश १ मा संयोग कस्तो परेको छ भने राप्रपाका दुबै उम्मेदवार झापाकै हुन् । राष्ट्रियसभाका तीन सीटमा हुन लागेको चुनावमा भाग लिएका प्रदेश १ का ८ उम्मेदवारमध्ये ४ जना एउटै जिल्लाका छन् ।

एमाले उम्मेदवार सुमित्रा भण्डारीका साथै राप्रपाका उम्मेदवार विष्ट र प्याकुरेल झापाकै हुन् ।  पार्टी प्रमुख नै झापाली भएको मौकामा एमाले र राप्रपामा झापाली उम्मेदवारले प्राथमिकता पाएका हुन् । यसैगरी काँग्रेस उम्मेदवार गोपाल बस्नेत पनि झापाकै हुन् ।

को हुन् विष्ट र प्याकुरेल ?

प्रदेश १ मा मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारहरु अघि सारेको छ । झापा निवासी खुल्लातर्फका उम्मेदवार अमर विष्ट लामो समयदेखि राप्रपाको राजनीतिमा सक्रिय छन् । पञ्चायत कालदेखि नै राजनीतिमा सक्रिय विष्ट यसै साता राप्रपाको केन्द्रीय सदस्य मनोनित भएका छन् ।

विष्ट तत्कालीन समयमा गाउँ पञ्चायतको प्रधानपञ्च हुँदै प्रजातन्त्र आएपछि राप्रपाको झापा जिल्ला सचिव बनेका थिए । राप्रपा नेपालमा हुँदा उनी जिल्ला अध्यक्ष बनेका थिए । पार्टीका विचारहरु स्थापित गर्न र संसदमा पार्टीको प्रतिनिधित्व गर्ने योजनासहित आफूले उम्मेदवारी दिएको विष्ट बताउँछन् ।

त्यसैगरी राप्रपाबाट महिला कोटामा उम्मेदवारी दिएकी रञ्जु प्याकुरेल झापा बिर्तामोड–३ निवासी हुन् । उनी पनि लामो समयदेखि राप्रपामा सक्रिय छिन् । राप्रपाको बिर्तामोड नगरपालिकाको अध्यक्ष रहेकी प्याकुरेल यसअघि  जिल्ला कमिटी सहसचिव थिइन् । उनी पार्टीले दिएको जिम्मेवारी पूरा गर्न आफूले राष्ट्रिय सभा सदस्यको पदमा उम्मेदवारी दिएको बताउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप