बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचन : बागमतीमा सत्तारुढ गठबन्धन बलियो

बुधबार, २१ पुस २०७८, ०६ : ३९
बुधबार, २१ पुस २०७८

मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट दुई सीटमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । हेटौँडास्थित प्रदेश निर्वाचन कार्यालयमा मंगलबार उम्मेदवारी दर्ता भएको हो ।

सत्तारुढ गठबन्धनका २ जना, नेकपा एमालेका २ जना र नेमकिपाका २ जना गरी ६ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीबाट गोमा तिमल्सिना उम्मेदवार बनेका छन् ।

यस्तै, प्रमुख प्रतिपक्ष दल एमालेबाट गोपाल शाक्य र निरकुमारी कुँवर दर्लामी र नेमकिपाबाट कृष्णबहादुर तामाङ र गीता काफ्लेले उम्मेदवारी दिएका छन् । सत्तारुढ गठबन्धनमा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपा आवद्ध छन् ।

निर्वाचन आयोगले आगामी माघ १२ गते मतदानको कार्यक्रम राखेको छ । मतदान हेटौंडा–८ स्थित हेटौंडा औद्योगिक क्षेत्र व्यस्थापन बोर्डको सभाहलमा हुनेछ । मनोनयन दर्ता भएसँगै उम्मेदवारहरू मत माग्न र चुनावी प्रचार प्रसारमा सक्रिय भएका छन् । निर्वाचनमा सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अंक गणितीय हिसाबले बलियो रहेको गठबन्धनविरुद्ध एमाले एक्लै चुनावी मैदानमा होमिएको हो ।

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेशसभा सदस्यले मतदान गर्ने छन् । बागमती प्रदेशसभा सदस्य १०९ जना र स्थानीय तहका २३७ जना प्रमुख÷उपप्रमुख गरी कुल ३४६ जना मतदाता कायम रहेको राष्ट्रियसभा निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ छ । जसअनुसार निर्वाचनमा १०९ जना प्रदेशसभा सदस्यको ५ हजार २३२ मतभार छ भने स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुखको ४ हजार २६६ मतभार छ । बागमती प्रदेशमा कुल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार गणना हुनेछ ।

प्रदेशमा गठबन्धन बलियो

बागमती प्रदेश अन्तर्गत राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धन बलियो देखिएको छ । स्थानीय तहका जनप्रतिनिधिका रुपमा गठबन्धनमा आवद्ध दलका पक्षमा ११८ जना मतदाता छन् भने प्रदेशसभातर्फ ५९ जना छन् ।

स्थानीय तहमा नेपाली काँग्रेसको ६७ मत, माओवादी केन्द्रको ३४ मत र एकीकृत नेकपा समाजवादीको १७ मत छ भने प्रदेशसभातर्फ काँग्रेसको २२, माओवादीको २३, समाजवादीको १३ र जसपाको एक मत छ ।

सबै जनप्रतिनिधि मतदानमा उपस्थित भएको खण्डमा स्थानीय तहमा काँग्रेसको एक हजार २०६, माओवादी केन्द्रको ६१२ र नेकपा एकीकृत समाजवादीको ३०६ गरी कुल २ हजार १२४ मतभार गणना हुनेछ । प्रदेशसभातर्फ काँग्रेसको १ हजार ५६, माओवादी केन्द्रको १ हजार १०४, नेकपा एकीकृत समाजवादीको ६२४ र जसपाको ४८ गरी कुल २ हजार ८३२ मतभार गणना हुनेछ ।

बागमती प्रदेशमा गठबन्धनभित्र स्थानीय तह र प्रदेशसभा सदस्य गरी कुल १७७ जना मतदाताबाट ४ हजार ९५६ मतभार छ ।

यता प्रमुख प्रतिपक्ष दल एमालेको स्थानीय तहका ११५ जना मतदाता छन् भने प्रदेशसभातर्फ ४३ जना मतदाता छन् । एमालेसँग प्रदेशसभा र स्थानीय तहमा गरी कुल १५८ जना मतदाता छन् ।

स्थानीय तहबाट एमालेको २ हजार ७० र प्रदेशसभातर्फ २ हजार ६४ गरी कुल ४ हजार १३४ मतभार गणना हुनेछ । एमालेका सबै मतदाता मतदानमा सहभागी भएको अवस्थामा पनि जितका लागि पर्याप्त हुँदैन ।

बागमती प्रदेशका स्थानीय तहमध्ये २ वटा पालिकामा साना दलको नेतृत्व  छ । प्रदेशको एक पालिकामा राप्रपाले नेतृत्व गरेको छ भने अर्को एक पालिकामा नेमकिपाको नेतृत्व छ ।

प्रदेशसभातर्फ साना दलको ७ मत छ । प्रदेशसभामा नेमकिपाको २, राप्रपाको २ र विवेकशील साझा पार्टीको ३ मत छ । बागमती प्रदेशमा साना दलसँग प्रदेशसभाका ७ जना र स्थानीय तहका ४ जना गरी कुल ११ जना मतदाता छन् ।

स्थानीय तहमा राप्रपा २ र नेमकिपाको २ गरी ४ जना मतदाता छन् जसको मतभार ७२ हुन्छ । प्रदेशसभा तर्फ राप्रपाको २ जना र नेमकिपाको २ जनाका ९६ का दरले १६२ मतभार छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा यी दुई दलको गरी कुल २६४ मतभार रहनेछ ।

त्यस्तै निर्वाचनमा प्रदेशसभामा ३ जना सांसद रहेको विवेकशील साझा पार्टीको १४४ मतभार छ । त्यसो त नेमकिपाले निर्वाचनमा एक्लै जाने निर्णयका साथ २ जना उम्मेदवार खडा गरिसकेको छ ।

निर्वाचनमा कसलाई सहयोग गर्ने भन्नेबारे राप्रपा र विवेकशील साझा पार्टीले ठोस निर्णय गर्न सकेका छैनन् । यी दुवै पार्टीको समर्थन एमालेले पाएको खण्डमासमेत उसले जित्ने सम्भावना रहँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप