बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

माघ १२ ‘टार्गेट’ : १९ पदका लागि सात प्रदेशमा ४३ उम्मेदवार (सूचीसहित)

कुन–कुन दलले दिए उम्मेदवारी ?
मङ्गलबार, २० पुस २०७८, १७ : ५५
मङ्गलबार, २० पुस २०७८

आगामी माघ १२ गते राष्ट्रियसभाका १९ पदमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको उम्मेदवारी मनोनयनको समय सकिएको छ । आयोगले तोकेको समयभित्र विभिन्न ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दिएका छन् । आयोगको निर्वाचन कार्यतालिका अनुसार मंगलबार सातवटै प्रदेशको निर्वाचन कार्यालय पुगेर विभिन्न दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिपक्षी दल एमालेले १९ वटै सिटमा उम्मेदवारी दर्ता गराएको छ । सत्तारुढ गठबन्धनले १९ सिटमा साझा उम्मेदवार उठाएका छन् । काँग्रेसले ६ सिट लिएको छ भने माओवादी र एकीकृत समाजवादीले ५/५ सिट पाएका छन् । जसपाले २ र राजमोले एक सिट गरी पाँच दलीय गठबन्धनले १९ सिटमा तालमेल गरेका छन् ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले १ र नेपाल मजदुर किसान पार्टीले दुई सिटमा उम्मेदवार उठाएका छन् ।  

राष्ट्रियसभा सदस्यका लागि हरेक प्रदेशका उम्मेदवारलाई सो प्रदेशका प्रदेशसभा सदस्यहरु र पालिकाका प्रमुख–उपप्रमुखहरुले मतदान गर्ने संवैधानिक प्रावधान छ । यसका लागि माघ १२ गते हरेक प्रदेशमा मतदान हुनेछ ।  

उम्मेदवारी दिन विभिन्न दलका उम्मेदवारहरू प्रदेश एकमा विराटनगर, २ मा जनकपुर, वागमतीमा हेटौडा, गण्डकीमा पोखरा, लुम्बिनीमा दाङ, कर्णालीमा सुर्खेत र सुदूरपश्चिमको धनगढीस्थित निर्वाचन कार्यालय पुगेका थिए ।

१९ सिटमा सत्ता गठबन्धन दलले भागबण्डा गरेर काँग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५/५, जनता समाजवादीले २ र जनमोर्चाले एक सिटमा प्रतिस्पर्धा गर्दैछन् । एक्लै चुनावी मैदानमा रहेको एमालेले रिक्त १९ पदमा एक्लै उम्मेदवारी दर्ता गरेको छ ।

गठबन्धनसँग एमालेको एक्लो प्रतिस्पर्धा

माघ १२ गते हुने निर्वाचनका लागि आयोगले मंगलबार बिहान १० बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका तय गरेको थियो । रिक्त १९ राष्ट्रिय सभा सदस्यको पदका लागि माघ १२ मा हुने निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सातजना अन्य समूहबाट निर्वाचित हुनेछन्  ।

निर्वाचन आयोगका अनुसार प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन् । चुनावका लागि १२ दल निर्वाचन आयोगमा दर्ता भएका थिए । यो चुनावका लागि सत्ता साझेदार दल र प्रतिपक्षी एमाले प्रतिस्पर्धा गर्दैछन् ।

कुन पार्टीले कसलाई बनाए उम्मेदवार ?

नेकपा एमाले

एमालेका तर्फबाट प्रदेश १ बाट गुरु बराल, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दिएका छन् भने प्रदेश २ बाट उसमान अन्सारी र विना र साहले उम्मेदवारी दिएका छन् । त्यस्तै वागमती प्रदेशबाट गोपाल शाक्य र निरकुमारी कुँवरलाई उम्मेदवार बनेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा अर्जुनकुमार सुनाम, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेल उम्मेदवार बनेका छन् भने लुम्बिनी प्रदेशमा कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ताले उम्मेदवारी दिएका छन् । कर्णाली प्रदेशबाट एमालेले पदमबहादुर माझी, गंगा थापा र चूडामणि शर्मालाई उम्मेदवार बनाएको छ ।

नेपाली काँग्रेस

नेपाली काँग्रेसले प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ  र सुदूरपश्चिममा नारायण मिश्रलाई उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्र

माओवादी केन्द्रबाट प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपांग/अल्पसंख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित)ले उम्मेदवारी दिएका छन् ।

नेकपा (एकीकृत समाजवादी)

नेकपा एकीकृत समाजवादीबाट प्रदेश १ मा जयन्ती राई, बागमतीबाट गोमा तिमिल्सिना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहरा र  सुदूरपश्चिमबाट मदनकुमारी साह (गरिमा) राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका छन् ।

जसपा- जनता समाजवादी पार्टीले प्रदेश १ र २ मा एक–एकजना उम्मेदवार बनाएको छ । जसमा प्रदेश एकबाट अल्पसंख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खालिद सिद्दिकीले राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दिएका छन् ।

लोसपा- लोसपाबाट प्रदेश २ मा  रुपा कुमारी यादव उम्मेदवार बनेका छन् ।

राजमो- गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले लुम्बिनीमा राजेश  विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।

नेमकिपा- नेपाल मजदुर किसान पार्टीले बागमतीमा गीता काफ्ले र कृष्ण तामाङलाई उम्मेदवार बनाएको छ ।
राप्रपा- अमर बहादुर विष्ट र रञ्जु प्यकुरेललाई प्रदेश १ मा राष्ट्रियसभा सदस्य उम्मेदवार बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप