शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सधैँका लागि कप्तान बन्न आएको हैन : ज्ञानेन्द्र मल्ल

‘कारबाही फिर्ताको विषयमा पनि सहमति भयो’
मङ्गलबार, २० पुस २०७८, १४ : ०१
मङ्गलबार, २० पुस २०७८

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सबै विवाद बिर्सिएर अब विश्वकप छनोटमा ध्यान केन्द्रित गर्ने बताए । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा २८ खेलाडीसँगै अभ्यास गरिरहेका मल्लले वर्गीकरणको विषय पछि सतहमा देखिएको खेलाडी र क्यानबीचको समस्या समाधान भएको उनले बताएका हुन् ।

क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद मिलेसँगै फेब्रुअरीमा ओमानमा हुने ट्वान्टी–२० विश्वकप छनोट खेलका लागि मंगलबारबाट सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित भएका छन् । 

क्यानले सार्वजनिक गरेको ३० खेलाडी मध्ये मंगलबार कारबाहीमा परेका ४ खेलाडीसहित सबै जसो खेलाडी मैदानमा देखापरेका हुन् । मंगलबारको प्रशिक्षणमा मल्लसहित अन्य खेलाडीले पनि प्रशिक्षण स्थलमा सहभागिता जनाए । 

मंगलबार मैदानमा सञ्चारकर्मीसँग बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ज्ञानेन्द्र मल्लले आफू सधैँभरि कप्तान बन्नका लागि नआएको बताए । बोर्ड र खेलाडीसँग पहिले नै यसरी छलफल भएको भए यो विवाद यस्तो अवस्था नआउने भन्दै मल्लले बिना जानकारी कप्तानबाट हटाउँदा दुःख लागे पनि सधैँ कप्तान बन्नुपर्छ भन्ने अडानमा नरहेको बताए । 

मल्लले आत्मसम्मानका हिसाबले अलि अप्ठेरो महसुस भएको भन्दै देश, आफ्नो र परिवारका लागि खेल्ने बताए । यस्तै मल्लले क्यानसँग खेलाडीहरूको प्रोत्साहन भत्ता बढाउने र ४ जना खेलाडीलाई गरिएको कारबाही फिर्ताको विषयमा पनि सहमति भएको बताए । उनले इगो बाहिर राखेर नेपाली क्रिकेटको लागि एक ठाउँमा बस्नुभन्दा पनि विगत बिर्सिएर अघि बढ्ने अवस्थामा पुगेका बताए । अब विश्वकप छनोट नजिकिँदै गएको भन्दै मल्लले छनोटमा खेलमा केन्द्रित हुने जिकिर गरे ।

सेन्ट्रल कन्ट्र्याक्टमा वर्गीकरणको विषयमा सञ्चारमाध्यममा बोलेका कारण चार खेलाडी ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरिएको थियो । त्यसपछि क्रिकेट संघ र खेलाडीबीचको विवाद उत्कर्षमा पुगेको थियो । क्यानले मल्ल र ऐरीको कप्तान र उपकप्तान पदबाट हटाउँदै युवा लेग स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दिएको थियो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप