आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटीकर्मी शाहीलाई धम्की दिनेलाई कानुनी दायरामा ल्याउन महासंघको माग

आइतबार, १८ पुस २०७८, १३ : ४४
आइतबार, १८ पुस २०७८

सुर्खेतस्थित रातोपाटीकर्मी पंखबहादुर शाहीलाई ज्यान मार्नेसम्मको धम्की दिनेलाई तत्काल कानुनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघले माग गरेको छ । 
महासंघका महासचिव रोशन पुरीले आइतबार एक विज्ञप्ति जारी गर्दै धम्की दिने व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकारको सुरक्षा र स्वतन्त्रतामा गम्भीर बन्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।  

सुर्खेतमा राजा वीरेन्द्रको शालिक पुनर्स्थापनासम्बन्धी समाचार लेखेको विषयलाई लिएर शाहीलाई राजकुमार शाही, भरत शाही ठकुरी, टिजंग शाहीलगायतका व्यक्तिले सामाजिक सञ्जालमार्फत गालीगलौज र भौतिक कारबाहीको धम्की दिएका थिए ।

‘प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनु पर्नेमा पत्रकारलाई यस किसिमले धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो’, महासंघको विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रेसविरोधी यस घटनाको कडा भर्त्सना गर्दछ । र, धम्की दिने व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याएर पत्रकारको सुरक्षा र स्वतन्त्रतामा गम्भीर बन्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’

 रातोपाटी अनलाइनमा पुस १५ गते बिहीबार वीरेन्द्रचोकमा वीरेन्द्रको शालिक पुनर्स्थापनासम्बन्धी समाचार प्रकाशित भएको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप