शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

छापामार शैलीमा राजा वीरेन्द्रको सालिक ठड्याएपछि...

राजनीतिक दलहरु भन्छन्– यो प्रतिगामी चलखेल हो
बिहीबार, १५ पुस २०७८, १० : ११
बिहीबार, १५ पुस २०७८

बुधबार दिउँसो १२ बजेको समय । वीरेन्द्रनगरमा सिमसिमे वर्षा भइरहेका कारण बाहिर सुनसान थियो । चिसोले गर्दा मान्छेहरु घरभित्रै थिए । पसलहरु खुले पनि चहल–पहल खासै थिएन ।

वीरेन्द्रनगरको मुख्य चोक ‘वीरेन्द्र चोक’ नजिक एकाएक एउटा समूह तामझामसहित आयो । त्यो समूहले स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक ल्याएको थियो । टाउकोमा श्रीपेच, आँखामा चश्मासहित वीरेन्द्रकै वनावटमा रहेको अर्धकदको सालिक चोकमा ठड्याइयो ।

त्यो सालिक ठड्याउने समूह को हो भन्नेसमेत सुरुमा कसैले पत्तो पाएनन् । राजाको सालिक ठड्याउने समूह थियो– स्वतन्त्र सुर्खेतीवासी जनता समूह । राजतन्त्रवादी उक्त समूहले राजा वीरेन्द्रको ७७ औं जन्मजयन्तीको अवसर पारेर छापामार शैलीमा सालिक ठड्याएको थियो ।

यति सजिलै वीरेन्द्र चोकमा कसैले राजाको सालिक ठड्याउला भनेर कसैले कल्पना नै गरेका थिएनन् । २०६२/०६३ को जनआन्दोलन हुँदा सालिक भत्काइएको थियो । १४ वर्षपछि त्यहाँ पुनः राजाको सालिक ठडिएपछि सालिकसँगै तस्वीर खिचाउनेहरुको भिड लाग्यो । त्यो क्रम बुधबार साँझसम्म पनि चलिरह्यो ।

तस्वीर खिचाउनेहरु राजावादीमात्र थिएनन् । त्यहाँ पत्रकारदेखि गणतन्त्रवादी समेतले तस्वीर खिच्दै सामाजिक सञ्जालमा पोष्ट्याउन भ्याए ।

बुधबार दिनभर वीरेन्द्र चोकको वातावरण हेर्दा मुलुकमा राजतन्त्र नै छ कि जस्तो लाग्थ्यो । किनकि वातावरण नै राजामय थियो । लाग्थ्यो– त्यहाँ राजाको सालिक होइन, स्वयम् राजा वीरेन्द्र उभिएका छन् र उनको दर्शन गर्नेहरु लामबद्ध छन् ।

चोकको दायाँ छेउमा प्रहरी बिट छ । तर, सालिक ठड्याउँदै गर्दा सुरक्षा निकाय भने सुरक्षा दिएर बसेजस्तो गरिरहेको थियो । यतिमात्र होइन, बुधबार साँझतिर प्रहरीको एउटा गाडीनै चोकको एक छेउमा राखिएको थियो भने केही प्रहरीले सालिकसँग तस्वीर खिचाउनेहरुलाई सुरक्षा दिइरहेका देखिन्थे ।

स्वतन्त्र सुर्खेतीवासी जनता समूहका सदस्य धर्म ढकालले वीरेन्द्र चोकको इतिहास बचाईराख्नका लागि राजाको सालिक अनिवार्य भएकाले राखिएको बताए । उनले भने, ‘यो कुनै एउटा व्यक्तिले मात्र नभई जनताको अपेक्षाअनुसार राखिएको हो । राजाको इतिहास चिनाउनका लागि आवश्यक थियो । हाम्रो इतिहास के हो भन्ने बुझ्नुपर्छ ।’

उनले यो सालिक राख्न निकै ठुलो बलिदानी गरिएको समेत दाबी गरे । उनले वीरेन्द्रनगरमा राजा वीरेन्द्रको देन भएकाले नै सालिक राखिएको बताए । उनका अनुसार राखिएको सालिक पोखराबाट आएका योगी बलभद्रनाथ गिरीले ल्याएका थिए ।

उनले भने, ‘वीरेन्द्र चोक भनिन्छ, यहाँ सालिक त नगरपालिकाले राख्नुपर्ने हो । तर उल्टो नाम बदल्ने कदमहरु चालिए ।’

लामो समयदेखि राजाको सालिक राख्ने विषयलाई लिएर विवाद भइरहेको थियो । ०७५ जेठ महिनामा वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रको सालिक रहेको स्थानमा ‘पानीको फोहोरा’ राख्ने गरी सुरक्षा निकायको रोहबरमै राति डोजर लगाएको थियो । क्षति पु¥याएको जिर्ण वीरेन्द्रको सालिकले नगरको शोभा बिगारेको र त्यो ठाउँलाई आकर्षक बनाउने भन्दै योजना अघि सारियो ।

पुनर्निर्माण भएको लामो समयसम्म यहाँ राजाको सालिक राख्ने वा नराख्ने विषयमा विवाद भइरहेको थियो । अचानक सालिक ठडिएपछि स्थानीय प्रशासन, स्थानीय सरकार र राजनीतिक दलहरु सशंकित बनेका छन् ।

राप्रपा सुर्खेत जिल्ला नेतृ सन्तोषी शाहीले सालिक राख्ने विषयमा पार्टीलाई पूर्व जानकारी नभएको बताइन् । सालिक राखेपछि भने आफूले त्यहाँ गएर तस्वीर खिचेको र साँझपख आफ्नो पार्टीले दीप प्रज्ज्वलनसमेत गरेको बताइन् ।

प्रदेश राजधानीको मुटुमा रहेको यो चोकको विषयमा विगत लामो समयदेखि राजतन्त्रवादी र गणतन्त्रवादी दलहरुबीच निकै संघर्ष चलिरहेको थियो ।

यस्तो छ वीरेन्द्र चोकको इतिहास

तत्कालीन राजा वीरेन्द्र २०२३ सालमा पहिलो पटक सुर्खेत आएका थिए । सुर्खेत उपत्यका मन परेर उनले २०२९ सालमा सहरी योजनाविद् माधवभक्त माथेमालाई उपत्यकाको गुरुयोजना बनाउन लगाएका थिए । वीरेन्द्रले मन पराएको ठाउँ भएकाले तत्कालीन कटकुवा नगर पञ्चायतलाई वीरेन्द्रनगर पञ्चायत नामाकरण गरिएको बुझिन्छ ।

त्यसैको सम्झनास्वरुप सहरको मुख्य चोकमा राजा वीरेन्द्रको सालिक बनाईएको थियो । वीरेन्द्रको सालिक २०४४ सालमा अनावरण गरिएको हो । त्यो बेला राजा वीरेन्द्र र रानी ऐश्वर्य दुवै सुर्खेत आएका थिए । त्यो सालिक भारतको जयपुरबाट निर्माण गरी ल्याइएको थियो ।

०६२/०६३ को जनआन्दोलनका बेला सालिकसहितको वीरेन्द्र चोक तोडफोड हुन पुगेको थियो ।

विवाद के थियो ?

तोडफोड भएको सालिक लामो समयसम्म त्यस्तै रह्यो । त्यसपछि राजावादी र संघीय लोकतन्त्र र गणतन्त्रमा विश्वास राख्ने पार्टीहरुबीच सालिक राख्ने विषयमा विवाद भइरह्यो । सालिकको बीचको बचेको भाग त्यसै झुण्डिरहेको थियो ।

त्यो झुण्डिएको सालिकलाई स्थानीय सरकार बनेपछि नगरपालिकाले नगरपालिकाको कम्पाउन्डभित्र दमकल पार्किङ गर्न बनाइएको ठाउँमा फालेको थियो । बेवारिसे मिल्किएको सालिकको टाउको र खुट्टा थिएन । त्यो सालिकको बचेको भाग अहिले छ/छैन भन्ने कुनै अत्तो–पत्तो छैन ।

तोडफोड भएको सालिक र जीर्ण संरचनाले नगरको शोभा बिगारेको भन्दै ‘पानीको फोहोरा’ सहितको चोक निर्माण गर्ने योजना बनाएर ०७५ जेठमा राति सुरक्षा निकायको रोहबरमा त्यहाँ डोजर चलाइएको थियो । पुनर्निर्माणका लागि नगरपालिकाले पाँच लाख बजेट विनियोजन गरेको थियो । सालिकको भग्नावशेषलाई हटाएपछि त्यसबेला निकै विवाद भएको थियो ।

त्यतिबेला वीरेन्द्रकै सालिक राख्न राप्रपा लगायत राजावादीहरुले दबाब दिइरहेका थिए । उनीहरुले वीरेन्द्रनगर नाम रहने हो भने वीरेन्द्रको सालिक राख्न अफ्ठ्यारो मान्न नहुने तर्क गरेका थिए ।

राजावादी मात्र नभइ केही स्थानीयवासीले पनि वीरेन्द्रचोकमा राजाको सालिक हुनपर्ने तर्क राख्दथे । तर राजतन्त्र फाल्न संघर्ष गरेका दलहरु त्यसका विरुद्धमा थिए । विवादकै बीच पुनर्निर्माणको काम अलपत्र प¥यो ।

०७५ माघ १८ मा वीरेन्द्र नगरपालिकाको त्यो निर्णय

पुनर्निर्माण अलपत्र परेपछि वीरेन्द्रनगर नगरपालिकाको २०७५ माघ १८ गते बसेको कार्यपालिका बैठकको निर्णय नम्बर ५ मा ‘वीरेन्द्र नगरपालिका–६ स्थित वीरेन्द्र चोकको सौन्दर्य र स्वच्छतालाई कायम गर्दै आकर्षक चोक बनाउन यथावस्थामा मर्मत तथा सम्भार गर्ने’ भन्ने निर्णय गरेको थियो ।

त्यहीअनुसार चोकको निर्माण गरिएको थियो । निर्माण गर्दा नगरपालिकाले सो ठाउँको नाम वीरेन्द्र चोक नै उल्लेख गरेको थियो ।

निर्माण सकिएपछि नाम राख्ने विषयमा विवाद

पुनर्निर्माण गरिएको केही समयपछि चोकको नाम फेरि कसरी वीरेन्द्र चोक रह्यो भन्नेमा विवाद भयो । निर्माण कार्य सम्पन्न भएको केही दिनमै नगर कार्यपालिकाको बैठकले कार्यपालिकाको मर्मबमोजिम नभएको भन्दै नामकरणका विषयमा छानबिन समिति बनायो ।

निर्माण सम्पन्न भएपछि वीरेन्द्रनगर नगर कार्यपालिकाको ०७६ असोज २ मा बसेको ६४ औं कार्यपालिका बैठकले वीरेन्द्रनगर नगरपालिकाको वडा नं.–६ को मुख्य चोकमा पुनर्निर्माण गरिएको स्मारकमा कार्यपालिकाको निर्णयविपरित वीरेन्द्र चोक लेखेर निर्माण भएको सन्दर्भमा १० दिनभित्र छानबिन गरी यथार्थसहितको प्रतिवेदन कार्यपालिका बैठकमा पेस गर्न लोकप्रसाद चालिसेको अध्यक्षतामा तीन सदस्यीय समिति बनाएको थियो । चालिसे वीरेन्द्रनगर नगरपालिका–१२ का अध्यक्ष समेत हुन् ।

तर छानबिन समितिका अध्यक्ष रहेका चालिसे अहिले त्यो कुरा स्वीकार गर्न तयार छैनन् ।

चालिसेले रातोपाटीसँगको कुराकानीमा भने, ‘आज (बुधबार) सालिक राखियो भन्ने कुरा मैले पनि सुनेँ । त्यतिबेला मेरो अध्यक्षतामा नामको विषयमा नभई निर्माणको विषयलाई लियर छानबिन समिति बनेको हो । हामीले पछि सत्यतथ्य रिपोर्ट बुझाएका थियौं ।’

उनले अहिले जर्बजस्त सालिक राखिएपछि यो विषयमा थप बोल्न चाहेनन् तर नामको विषयमा समिति नबनेको प्रतिक्रिया दिए । तर, नगरपालिकाको त्यतिबेला गरेको निर्णय रातोपाटीले खोज्दा निर्णयमा नामकै विषयमा समिति बनेको भेटियो ।

वीरेन्द्र चोकमा राजाको सालिक राख्न माग गर्दै हस्ताक्षर संकलन

नगरपालिकाले पुनर्निर्माण गर्दा राजाको सालिक नराख्ने निर्णय गरेपछि स्थानीय युवाले हस्ताक्षर समेत संकलन गरेको तथ्य रातोपाटीले फेला पारेको छ ।

०७५ वैशाख २८ गते स्थानीय ललित भट्टराई, चिन्तामणि शर्मा लगायतले वीरेन्द्रनगरको इतिहास जोगाउनका लागि त्यस स्थानमा वीरेन्द्रकै सालिक राख्न माग गर्दै हस्ताक्षर संकलन गरेका थिए ।

मेयर–उपमेयर जवाफविहीन, वडाअध्यक्ष भन्छन्– प्रहरी प्रशासन के हेरेर बसेको थियो ?

बुधबार सालिक राखेको विषयमा वीरेन्द्र नगरपालिकाका मेयर देवकुमार सुवेदीले यो विषयमा प्रतिक्रिया दिन चाहेनन् । सुवेदीकै निर्देशनमा (०७५ जेठ) मा तत्कालीन वीरेन्द्रचोकलाई भत्काएर सानो चिटिक्क परेको (उनीहरुको भाषामा) चोक बनाईएको थियो । तर उनले बोली फेर्दै भने, ‘हिजो हामीले हटाएका पनि थिएनौं । आज राखेका पनि होइनौं । आज दिउँसो एक्कासी कसले राखेछन् ? त्यो विषयमा मलाई थाहा छैन ।’

उपमेयर मोहनमाया ढकालले यो विषयमा कुनै जानकारी नभएको बताइन् ।

नगरपालिकाले पुनर्निर्माण गरेको चोकमा राजावादीहरुले एक्कासी राजाको सालिक राखेपछि मेयर–उपमेयर प्रतिक्रियाविहीन बनेका हुन् ।

वीरेन्द्रचोक रहेको वीरेन्द्रनगर नगरपालिका–६ का वडाअध्यक्ष मोतिप्रसाद कँडेलले पहिलादेखि नै यो विवादास्पद विषय भएकाले स्थानीय प्रशासनको मुख्य जिम्मेवारी रहेको बताए ।

उनले भने, ‘त्यो राख्न दिने नदिने कुरा प्रहरी प्रशासनको हो । साइडमा प्रहरी बिट पनि छ । के हेरेर बसेको हो ? एक्कासी छापामार शैलीमा सालिक राखिएको मैले पनि सुनेँ ।’

यता राजनीतिक दलहरुले भने प्रहरी प्रशासन र नगरपालिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।

प्रहरी प्रशासन भन्छ– भिडभाड भएकाले सुरक्षा दिएको हो

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवं एसपी पदमबहादुर विष्टले यो विषयमा खासै बोल्न चाहेनन् । प्रहरीको ‘पोटेक्शन’मा किन सालिक राख्न दिइयो भन्ने रातोपाटीको प्रश्नमा उनले भने, ‘ए ! प्रहरी त्यहाँ सुरक्षा दिन जानु गल्ती हो ? त्यहाँ मान्छेको भिडभाड थियो । प्रहरीले सुरक्षा दिएको हो । हामीलाई कसैले आधिकारिक रुपमा राख्न दे पनि भनेको छैन र हटाइदे पनि भनेको छैन ।’

नेताहरु भन्छन्– प्रतिगामी कदम हो

राजतन्त्र फाल्न संघर्ष गरेको नेकपा (माओवादी केन्द्र) सुर्खेतका नेता कृष्ण जिसी ‘जितेन्द्र’ प्रतिगामी चलखेल भएको टिप्पणी गर्छन् । नेकपा एमाले सुर्खेतका नेता गंगाराम तिमिल्सिना पनि जिसीको भनाइसँग सहमत छन् । उनी यस विषयमा स्थानीय प्रशासन र नगरपालिकासमेत जिम्मेवार हुनुपर्ने बताउँछन् ।

माओवादी नेता जिसी कुनै एउटा समूहले छापामार शैलीमा सालिक राख्नु गलत भएको बताउँछन् । उनी भन्छन्, ‘गणतन्त्र स्थापना गर्न जनताले सामन्ती राजसंस्थाका विरुद्धमा लड्दा त्यसको अवेशषका रुपमा रहेको सालिकलाई भत्काइएको थियो । भन्नुको अर्थ नागरिकको लागि राजाको कुनै योगदाननै छैन । उनीहरु भनेका शासक हुन् । जनताले विद्रोह गरेर विस्थापित गरेको चिजलाई एउटा सानो झुण्डलै स्थापित गर्नु वाहियात कुरा हो ।’

नेताहरुले गणतन्त्रमा यस्ता खालका गतिविधि हुँदा स्थानीय प्रशासनले लापरबाही देखाएको प्रतिक्रिया पनि दिए । जिसीले यो विषयमा प्रहरी प्रशासनले लापरबाही देखाएको आरोप लगाए ।

‘भोलि केही दुर्घटना भएको खण्डमा त्यसको जिम्मेवार स्वयम् स्थानीय प्रशासन हुन्छ,’ उनले भने, ‘प्रशासनले रोक लगाउनु पर्नेमा रमिता हेरिरहेको देखिन्छ । प्रशासनले पनि यो व्यवस्था बचाउनका लागि राज्यलाई सहयोग गर्नुपर्ने हो । तर स्वयम् राज्यका अधिकारीहरुबाट पनि लापरबाहीका काम भइरहेको छ ।’

तर माओवादी केन्द्र वीरेन्द्रनगर कमिटीका अध्यक्षसमेत रहेका रत्न गाह भने सालिक राख्दा संस्थागत रुपमा राख्नुपर्ने तर्क राख्दछन् । यस विषयमा पार्टीमा छलफल हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप