शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एमसीसीबारे पुस १७ पछि निर्णय हुने, एमालेले संसद् अवरुद्ध पारिरहे अझै पर धकेलिने

आइतबार, ११ पुस २०७८, ०८ : ०६
आइतबार, ११ पुस २०७८

राष्ट्रिय बहसको विषय बनेको अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे पुस १७ गते सकारात्मक समाधान आउने सत्ता गठबन्धनका नेता प्रचण्डले बताएका छन् । तर, एमालेले संसद अवरुद्ध पारिरहे एमसीसी प्रकरण अझै केही समय पछि धकेलिने उनले बताएका छन् । सत्तारुढ गठबन्धनका नेता एवं माओवादीका अध्यक्ष प्रचण्डले तीन सदस्यीय कार्यदलको बैठक पुस १७ गते बस्ने र त्यसले सकारात्मक समाधान निकाल्ने आशा व्यक्त गरेका हुन् ।

राजधानीमा शनिबार पत्रकारसँगको अन्तरक्रियामा प्रचण्डले भने, ‘फेरि एकचोटि सबै डकुमेन्ट हेरौं, कहाँ–कहाँ हो त करेक्सन नगरी नहुने, त्यो पत्ता लगाऔं भनेर कमरेड नारायणकाजी श्रेष्ठ, कमरेड झलनाथ खनाल र माननीय मन्त्री ज्ञानेन्द्रबहादुर कार्की तीनजनाको कार्यदल हामीले बनाएका छौं । उहाँहरु एकचोटि बसिसक्नुभो । डकुमेन्ट संकलन गर्दै हुनुहुन्छ । फेरि १७ गते बैठक बस्दै हुनुहुन्छ । त्यहाँबाट आउँछ ।’

प्रचण्डले अगाडि भने, ‘त्यो कुराको समाधान सकारात्मक होस् भन्ने हाम्रो चाहना छ । नकारात्मक होस् भन्ने त होइन । तर, क्लियर त हुनपर्यो । जनतामा पनि भरोसा हुनपर्यो ठीकै छ भन्ने । त्यो नआइकन जबरजस्ती गर्नहुँदैन भन्ने हो हाम्रो ।’

एमालेले संसद अवरुद्ध पारिरहेको सन्दर्भ कोट्याउँदै प्रचण्डले यो विषय अझै केही समय पछि पनि सर्न सक्ने बताए । उनले भने, ‘हामीलाई एमसीसीको बारेमा फाइनलमा पुग्न अझै केही समय लाग्न सक्छ । किनभने, प्रमुख प्रतिपक्षले सदन अवरोध गर्दा पनि गाह्रो छ टेक्निकल रुपमा । त्यहाँ पनि म्यानेज गर्नुपर्ने छ ।’

तर, एमसीसीकै कारण गठबन्धन टुटाउन खोज्ने विपक्षीको रणनीति भने सफल नहुने प्रचण्डको दाबी छ । उनले भने, मैले प्रधानमन्त्री शेरबहादुरजीसँग धेरैपटक धेरै कुरा गरेको छु । उहाँको छिटो पास होस् भन्ने त छ नै, तर यहाँ गठबन्धनमा भनेको जस्तो भएन, ढीलो भयो भनेर उहाँ हतारमा अन्ततिर जानुहुन्छ भन्नेचाहिँ म कहीँ कतै देख्दिनँ । त्यसले मुलुकलाई, न काँग्रेसलाई फाइदा पनि हुँदैन । त्यसकारण यसमा नेपाली काँग्रेसले दायाँ–वायाँ गर्ने स्थिति हुन्छ भन्ने मलाई लाग्दैन ।’    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप