शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

वार्ता गर्ने तयारीमा क्यान, ‘पर्ख र हेर’ को रणनीतिमा खेलाडी

आइतबार, ०४ पुस २०७८, १७ : ५२
आइतबार, ०४ पुस २०७८

चारजना राष्ट्रिय क्रिकेट खेलाडीलाई पदमुक्त गरेपछि चौतर्फी दबाबमा परेको क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले खेलाडीहरूसँग वार्ता गर्ने तयारी सुरु गरेको छ । वार्ताका लागि क्यानले खेलाडीहरूसँग सम्पर्क गरिरहेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले रातोपाटीलाई जानकारी दिए ।

गत मङ्सिर २९ गते क्यानले अनुशासन उल्लङ्घन गरेको भन्दै कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सहभागी नगराउने निर्णय गरेको थियो । तर, क्यानको उक्त निर्णय विवादित बन्न पुग्यो । खेलाडीमाथि गरिएको कारबाहीप्रति उद्योगी÷व्यवसायी, कलाकार, पूर्व खेलाडी, राजनीतिक दलका नेता तथा सर्वसाधारणले असन्तुष्टि व्यक्त गरे । उनीहरूले सामाजिक सञ्जालमार्फत क्यानलाई तत्काल आफ्नो निर्णयबाट फिर्ता हुनुपर्ने माग राखेका थिए । 

आलोचना बढ्न थालेपछि प्रधानमन्त्री र खेलकुद मन्त्रीदेखि सत्तारुढ दल नेकपा माओवादी (केन्द्र)का अध्यक्षसमेतले चासो देखाए । क्यानले खेलाडीलाई कारबाही गरेको जानकारी पाएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरेर यसबारे सोधिखोजी गरेका थिए । प्रधानमन्त्रीले फोनमा भनेका थिए, ‘क्यानमा के गरेको हो यो ? प्रचण्डजीले पनि यसमा चासो राख्नुभएको छ, मिलाउनुस् है ।’ नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटमा क्यान विवादबारे सोधिखोजी गरेपछि  प्रधानमन्त्री देउवाले चन्दलाई फोन गरेर विवाद सुल्झाउन निर्देशन दिएका थिए । 

​यस्तै, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले समेत यस विषयमा असन्तुष्टि पोखिसकेका छन् । उनले पुस २ मा क्यानका पदाधिकारीलाई मन्त्रालयमै बोलाएर विवाद तत्काल सुल्झाउन समेत भनेका थिए । मन्त्री गहतराजले भनेका थिए, ‘नेपाललाई खेलमार्फत विश्वसामु चिनाएका खेलाडीलाई दुरुत्साहित हुने गरी कारबाही गरिनु गलत हो ।’ मन्त्री गहतराजले खेलाडीको वर्गीकरण प्रक्रियामा समेत चासो राख्दै यसबारे बुझ्ने प्रयास गरेको सचिवालयले जानकारी दिएको छ ।

​चौतर्फी आलोचनापछि क्यान अध्यक्ष चन्द शनिबार प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगेका थिए । त्यसभेटमा क्यानले गरेको पछिल्लो निर्णय र यसमा सरकारले हस्तक्षेप गरेमा भोग्नुपर्ने परिणामको विषयमा छलफल भएको बताइएको छ । 

वार्तामा बोलाउने क्यानको तयारी

अध्यक्ष चन्दले क्यान वार्तामा बस्न तयार रहेको र खेलाडीलाई वार्तामा बोलाउने तयारी भइरहेको रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘पछिल्लो घटनाक्रमलाई धेरै लम्ब्याउने भन्दा पनि सुल्झाउने पक्षमा क्यान छ । अब खेलाडीसँग वार्ता गरेर निर्णय लिन्छौँ ।’ उनले खेलाडीले अनुशासनभन्दा बाहिर गएर मिडियामा बोलेपछि कारबाही गरिएको बताए । अब खेलाडीसँग हुने वार्तापछि निस्कने निष्कर्षबाट अगाडीको बाटो तय हुने उनको भनाई छ ।

‘पछिल्लो घटनाक्रमले क्यानलाई विवादित बनाउन झुण्ड परिचालित भएको जस्तो देखिएको छ,’ उनले भने, ‘यसबाट विचलित नहुँदै क्यान अगाडी बढ्छ ।’ खेलाडी र क्यानबीचको झगडाले कसैलाई पनि फाइदा नगर्ने भएकाले छलफलको पक्षमा रहेको र खेलाडी त्यसका लागि तयार रहेको उनको बुझाई छ ।

‘पर्ख र हेर’ रणनीतिमा खेलाडी

खेलाडीहरू भने यतिबेला पर्ख र हेरको रणनीतिमा छन् । क्यानले खेलाडीको वर्गीकरण गरे लगत्तै त्यसको विरोध गर्दै मिडियामा उत्रिएका खेलाडीले यतिबेला चुप बस्ने र हेर्ने रणनीति लिएका हुन् । 

​उनीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाली क्रिकेटमा विकसित भइरहेको पछिल्लो घटनाक्रमले आफूहरूलाई दुःखी बनाएको बताउँदै क्यानलाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । उनीहरूले क्रिकेटमा भविष्य खोजिरहेको खेलाडीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आउन नदिन क्यानलाई आग्रह गरेका थिए । यसका साथै, आफूहरू वार्ताका लागि तयार रहेको समेत उनीहरूको भनाई थियो ।

पत्रकार सम्मेलनपछि अब आफूहरू तत्काल कुनै प्रतिक्रिया दिने पक्षमा नरहेको मल्लले रातोपाटीलाई बताए । उनले भने, ‘अब क्यानले कस्तो व्यवहार गर्छ त्यही अनुसारको रणनीति बनाउने गरी बसेका छौँ ।’

कसरी सुरु भयो विवाद ?

क्यानले असोज तेस्रो साता गरेको क्रिकेट खेलाडीको वर्गीकरण गरेको थियो । त्यसबारे चार खेलाडीले मिडियामा आफ्नो असन्तुष्टि पोखेका थिए । क्यानले मिडियाबाजी गरेको आरोप लगाउँदै चार खेलाडीलाई स्पष्टिकरण सोधेको थियो । जसको जवाफमा खेलाडीहरूले क्यानसमक्ष उल्टै ११ बुँदे मागपत्र बुझाएका थिए । स्पष्टीकरणको जवाफको सट्टा उल्टै मागपत्र आएपछि क्यानले खेलाडीमाथि कारबाही गर्ने निर्णय गरेको थियो ।

क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको छ । यस्तै, तथा कमलसिंह ऐरी र सोमपाल कामीलाई समेत गरी चार जना खेलाडीलाई ६ महिनाका लागि ‘सेन्ट्रल कन्ट्र्याक्ट’बाट हटाएपछि विवाद चर्किएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप