ad
मेरो जीवन

‘खुट्टा तान्ने मात्र होइन, भाँच्नै खोज्ने धेरै थिए’

पुलिसको बर्दी लगाएर ड्युटी कहिल्यै बसिनँ : हरि खड्का

person explore access_timeकात्तिक २७, २०७८ chat_bubble_outline0
तस्बिर : कृष्ण खड्का

हरि खड्का नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान हुन् । नेपाली टिमका लागि सर्वाधिक १३ गोल गर्ने कीर्तिमान उनको र निराजन रायमाझीको नाममा संयुक्त छ । खड्काले आफ्नो खेल करियरको अधिकांश समय नेपाल पुलिस क्लबमा बिताए । त्यसअघि उनले एनआरटीबाट केही समय खेले ।  सक्रिय खेल जीवनबाट सन्यास लिएपछि खड्काले फिफा तथा एएफसीले सञ्चालन गर्ने विभिन्न प्रशिक्षण कोर्सहरू लिएका थिए । केही वर्ष उनले महिला राष्ट्रिय टोलीलाई प्रशिक्षण दिए, अहिले एन्फाको महिला विभागको प्रमुख छन् । फुटबलमार्फत देशको नाम अन्तर्राष्ट्रिय स्तरमा समेत पुर्‍याउन सफल हरि खड्काका जीवनका विभिन्न पाटाहरू रातोपाटीको मेरो जीवन स्तम्भमा उनकै शब्दमा : 


मीठो पकाउँछु



साधारण नेपाली खाना दाल, भात, तरकारी र अचार नै मनपर्छ । मननपर्ने केही छैन । माछा, मासुलगायत सबथोक मीठो लाग्छ, नियमित खान्छु । साथीभाइ, परिवार र आफन्तसँग रेस्टुरेन्ट जान्छु । रेस्टुरेन्टमा धेरै खाने भनेको मम, चाउमिन, पिज्जा आदि परिकार हुन् । पकाउन रुचि छ । नियमित पकाउने होइन, श्रीमतीलाई सन्चो नहुँदा, आफूलाई जाँगर चलेको बेला पकाउँछु । मैले सबैभन्दा मीठो पकाउने चिया र मासु हो ।



फिट्नेसमा सजग



फिट्नेसमा सजग छु । एक्सरसाइज गरेन भने जिउ दुख्छ । हामी फिट्नेसभन्दा पनि खेलाडी मेन्टेन भन्छौँ । त्यसका लागि जगिङ, वाकिङदेखि फुटसलसम्म खेल्छु । प्रशिक्षण दिनुपर्ने समयमा अलिअलि फुटबल खेल्छु । आफ्नै फुटसल पनि छ । घरमा फिट्नेसका सामान भने छैनन् ।





ब्रान्डेड पहिरन

पहिरन क्याजुअल नै मनपर्छ । म स्पोर्ट म्यान भएको कारणले ट्र्याक सुट नै बढी प्रयोग गर्छु ।  फर्मल कार्यक्रममा जानुपर्दा धेरैजसो सुटपाइन्ट र विशेष कार्यक्रममा दौरासुरुवाल प्रयोग गर्छु । पहिरनमा मनपर्ने रङ्ग भनेको कालो र सेतो हो । पहिरन ब्रान्डेड मनपर्छ । मनपर्ने भेटियो भने ब्रान्ड हेर्दिनँ ।

जीवनी मनपर्छ

केही अगाडिसम्म पुस्तक नियमित अध्ययन गर्थंे । अहिले ब्रेक भएको छ । अचेल समयअनुसार आफूलाई अपडेट राख्न इन्टरनेटमा स्पोर्टस्का विभिन्न जानकारी लिन्छु । हरिवंश आचार्यको ‘चिनो हराएको मान्छे’, कर्ण शाक्य लगायत धेरै लेखकका पुस्तक पढेको छु । साहित्यमा जीवनी, आफूलाई प्रेरणा मिल्ने, जीवन परिवर्तनमा सहयोग पुग्ने खालका पुस्तकहरू पढ्छु ।

फुटबलले घुमायो

घुमघाममा धेरै रुचि त होइन । स्पोर्ट पर्सनालिटी भएकाले स्थिर रहन नसकिने रहेछ । त्यसैले घुमिरहने गर्छु । प्राकृतिक सौन्दर्यले भरिएका, ऐतिहासिक ठाउँहरू घुम्न मनपर्छ । खेलकुद होस् वा अन्य सिलसिलमा देशका प्रायः सबै जिल्ला पुगिसकेँ । ताप्लेजुङ र हुम्लाजुम्ला भने अझै पुगेको छैन । यी ठाउँमा पुग्न मन लागेको छ ।

विदेशमा साउथ एसियाका सबै, जापान, कोरिया, चीन, इराक, इरानलगायत गरेर २० वटा जति राष्ट्र पुगेँ होला । अहिले जान मन लागेको ठाउँ इन्डोनेसियाको बाली हो । त्यहाँ पुग्न पाए, हेर्न पाए हुन्थ्यो भन्ने छ ।

के को फुर्सद
फुर्सद छैन नि । अहिले म खेलकुद परिषद्मा सदस्य र महिला फुटबल खेलाडीको डिपार्टमेन्ट हेडको जिम्मेवारीमा छु । सोही कारणले फुर्सद छैन । कहिलेकाहीँ फुर्सद भयो भने साथीभाइ, घरपरिवारसँग रमाउने र घुम्ने गर्छु ।

दुईवटा मोबाइल बोक्छु
पहिले म एउटा मोबाइल बोक्थेँ । अहिले सामसुङ र आइफोन ब्रान्डको गरी दुईवटा फोन बोक्छु । फोन गर्ने, भाइबर, फेसबुक जस्ता सामाजिक सञ्जाल चलाउने, तस्बिर खिच्ने, मेल चेक गर्ने लगायतका काममा मोबाइल प्रयोग गर्छु ।
पछिल्लो समय कहिलेकाहीँ टिकटक पनि बनाउँछु । लकडाउनको फुर्सदले टिकटक बनाउन सिकायो । मोबाइल छिटोछिटो फेर्ने बानी छैन, चलेसम्म पुरानै चलाउँछु ।

टीभी किन नहेर्नु 
टीभी प्रायः हेर्छु । टीभीमा धेरै हेर्ने भनेको विदेशी फुटबलका खेल हुन् । त्यसपछि डान्स, गायन, कमेडी लगायतका रियालटी सोहरू हेर्छु । पहिले पहिले घरकी गृहमन्त्री अर्थात् श्रीमतीको कारणले भारतीय सिरियल ‘कुमकुम भाग्य’, ‘कसौटी’ आदि हेर्थें । अहिले हेर्दिनँ ।

हल जान्थेँ नि
फिल्म हेर्न धेरै मनपर्छ, हेर्छु । पछिल्लो समय हरेको फिल्मको नाम त याद भएन । नेपाली, हिन्दी, साउथ र अङ्ग्रेजी लगायत सबै प्रकारका फिल्महरू हेर्छु । लकडाउन अगाडि त फिल्म हलमै गएर हेर्थें । पछिल्लो समय भने घरमै हेर्छु । नेपाली कलाकार अलिअलि चिन्छु । दयाहाङ, भुवन केसी लगायतसँग राम्रो चिनजान छ ।

फुटबलले सबथोक दियो
झापाको साधारण परिवारमा जन्मिएको मानिस म । खेलकुद अर्थात् फुटबलले नाम, परिचय र काठमाडाँैमा बाँच्ने आधार सबैथोक दिएको छ । फुटबलमा लागेर अहिलेसम्म पछुतो गर्नुपरेको छैन । केही समयअगाडि म महिला खेलाडी डिपार्टमेन्टको हेड कोच थिएँ । त्यसबाट राजीनामा दिएपछि अहिले डिर्पाटमेन्ट हेड भएको छु ।

फुटबलप्रति सानैदेखि शोख थियो, पछि पेसा बन्यो । म जन्मेको ठाउँ झापाको चन्द्रगढी हो । त्यहाँ फुटबलको माहोल हुन्थ्यो । त्यसैले स्कुल पढ्दा विद्यालय स्तरका खेलहरू खेल्थेँ, पुरस्कार जित्थेँ । 

​१९९३ अगाडि म काठमाडौँ छिरेँ । म फुटबलमा आफूलाई भाग्यमानी खेलाडी पनि मान्छु । किनभने म राष्ट्रिय टिममा आउन डेब्यु गर्ने समय  वसन्त गुरुङ, स्वर्गीय मणिशाह जस्ता दिग्गज खेलाडी व्यस्त हुनुभयो । सोही कारणले मैले अवसर पाएँ । मैले खेलुन्जेल बेन्चमा रिजर्भ भएर बस्नुपरेन ।

काठमाडौँ आए पनि पहिले एनआरटीबाट युथ, अन्डर सिक्स्टिन खेलेँ । त्यसपछि नेपाल पुलिस क्लबबाट तीन पटक लिक च्याम्पियन भएँ । त्यही समय फुटबल प्रशिक्षणका लागि जर्मन जाने स्कलरसिप मिल्यो । त्यहाँबाट प्रशिक्षित भएपछि मेरो फुटबल प्यासन भयो । त्यसपछि महेन्द्र पुलिस क्लबको खेलाडीका रूपमा रहेँ ।

ठ्याक्कै यकिन भएन ३२ देखि ३८ अन्तर्राष्ट्रिय खेले खलेको छु मैले । पहिलो अन्तर्राष्ट्रिय खेल १९९५ मा सार्क गेममा श्रीलङ्कासँग थियो । त्यसपछि नियमित जस्तै भयो । देशका लागि फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी अहिलेसम्म मै हो । इराक, इराना जस्ता जोखिमपूर्ण राष्ट्रहरूमा पनि अन्तर्राष्ट्रिय खेल खेल्दै गोल गरेर देशलाई चर्चा दिएको छु । अन्तर्राष्ट्रिय खेलमा कसैबाट थ्रेट कहिल्यै खेप्नुपरेन । 

आफ्नो देशमा भने राम्रो खेलेको देखेर डाहा गर्ने, खुट्टा भाँच्छु भनेर कोसिस धेरै भए । म आफ्नै इस्टाइलबाट खेल्ने भएकाले केही सफल हुन सकेनन् ।

मेरा मिल्ने साथी मधु कार्की थिए । जो अहिले  अमेरिकामा छन् । एक पटक विराटनगरको एक खेलमा हामी एकअर्काको विपक्षमा थियौँ । उहाँ एकदमै टप खेल्नुहुन्थ्यो । त्यो खेलमा उहाँले मेरो खुट्टा भाँच्न खोज्नु भएको थियो । मैले लक गर्दिएँ । उहाँकै खुट्टा भाँचियो । त्यो कुरोले अहिले पनि दुःख लाग्छ । फुटबलमा मेरो सपना विश्वकप खेल्ने कहिल्यै भएन । नेपाललाई साउथ एसियामा टप गराउने भन्ने रह्यो । अहिले पनि विश्वकप हाम्रो सपना मात्र हो ।

अहिले खेलकुदमा राजनीति भयो भनिन्छ । मेरो विचारमा राजनीतिक स्तरमा जबसम्म खेलको छलफल हुँदैन । तबसम्म सोचेजस्तो विकास असम्भव छ ।  

अवकाश प्राप्त प्रहरी म
म अवकाश प्राप्त प्रहरी हुँ । सिपाईबाट प्रहरीको जागिरमा छिरेको थिएँ । त्यसपछि खुला प्रतिस्पर्धाबाट असई भएँ । सईमा अवकाश लिएको हुँ । प्रहरीको २० वर्षे जागिरमा एक दिन पनि ड्युटी गर्नुपरेन । पहिले फुटबल खेलेँ, त्यसपछि स्पोर्ट सेक्सनको इन्चार्ज भएर बसेँ । हाकिमहरूसँगको मिटिङमा सहभागी हुँदा भने ड्रेस लगाउने बेग्लै कुरो हो । खेलाडी भएकाले बन्दुक समाएर कहिल्यै ड्युटी बस्नु परेन ।

प्रेम गरेँ
२०५८ सालमा मैले प्रेम विवाह गरेको हो । मैले पहिलो पटक उनलाई २०५६ तिर देखेको थिएँ । उनी ८ कक्षामा पढ्दै थिइन् । देख्ने बित्तिकै मनपर्‍यो । म खेलाडी हरि खड्का भनेर उनले चिनेकी पनि थिइनन् । मैले उनलाई प्रेम प्रस्ताव राखेँ, उनले स्वीकारिन् । त्यसपछि हामी फिल्म हल, एकान्तकुना लगायतमा विभिन्न स्थानमा डेटिङ जान थाल्यौँ । दुई वर्ष त्यसरी बित्यो । जब उनले एसएलसी पास गरिन् । उनको परिवारसँग मागेर विवाह गरे । हाम्रो प्रेम अहिले झन् गाढा भएको छ । 

सपना अन्तर्राष्ट्रिय क्लब
नेपाली फुटबल टोलीले राम्रा अन्तर्राष्ट्रिय खेल जितेको हेर्ने, खेल जित्न सक्ने बनाउनु नै मेरो सपना हो । हामीले अहिलेसम्म साफ च्याम्पियनसिप जितेका छैनौँ । त्योसमेत जिताउने धोको छ । नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्लबमा पनि अवसर पाएको हेर्न मन छ । अर्काे सपना मेरो सर्वाधिक गोल गरेको रेकर्ड, छिट्टै तोडिएको हेर्ने । त्यो रेकर्ड ब्रेक नभएको कारणले अहिलेसम्म नेपाली फुटबल टोलीले राम्रो स्टाइगर नपाएको महसुस हुन्छ । अहिलेसम्म एस्यिन स्तरमा प्रतिस्पर्धा गर्ने एउटा टिम त हामीले बनाउन सक्छौँ ।

त्यो भूल हो
जीवनमा भूलहरू नजानेर अलिअलि भएका होलान् कि ! जानीजानी गरेजस्तो लागेको छैन । त्यसैले पछुताउनुपर्ने भूल केही छैन । सानोमा बुबाआमाको सपना त डाक्टर, इन्जिनियर बनाउने थियो । फुटबलमा आएर त्यो सपना पूरा गर्न सकिनँ । त्यसलाई भूल के भन्ने ।

दुःख क्षणिक
मलाई सबै कुरा क्षणिक हो भन्न लाग्छ । त्यसैले दुःखलाई कसरी लिने भन्ने कुरो हो । दुःख भयो भनेर चिन्ता गर्दिनँ । चिन्तन गर्छु । अहिलेसम्म भगवानले दुःख महसुस हुन दिएका पनि छैनन् ।

खुसी आफैँभित्र
खुसी आफैँमा हुने हो । केलाई खुसी मान्ने र के खुसी भन्नेमा फरक हो । म जे कुरामा पनि खुसी हुन खोज्छु । त्यसैले खुसी छु । आफ्नो कर्ममा सफल भएको छु । नाम, दाम, इज्जत छ । त्यो पनि अर्काे खुसी हो ।

 

आधुनिक गीत मनपर्छ गीतसङ्गीत मन नपर्ने मानिस को होला र ? मुड अनुसारका सङ्गीत सुन्न मनपर्छ । मनछुने, सुन्दा आनन्द लाग्ने गीतहरू बढी सुन्छु । नेपाली, हिन्दी सबै प्रकारका गीत मनपर्छन् । आधुनिक गीत बढी मनपर्छ । कहिलेकाहीँ गीत गुनगुनाउँछु । केही स्टेज कार्यक्रममा गीत गाएको छु ।

 

रोग केही छैन
अहिलेसम्म फिट एन्ड फाइन छु । किनभने केही दिन अगाडि गङ्गालाल अस्पताल गएर होलबडी चेकअप गराएको थिएँ । केही रोग देखिएन । डाक्टरले भनेको अलि अलि भिटामिन डी पुगेको छैन रे । ग्यास्टिकको भने समस्या छ । यसको औषधि खान्छु ।

राशि ‘मिथुन’
मेरो राशि ‘मिथुन’ हो । ग्रहदशामा विश्वास लाग्छ । केही अगाडिसम्म हेराउने, जुराउने गर्थें । अहिले नगरेको धेरै भयो । पूजापाठमा आस्था राख्छु ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।