शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराजासँग पाँच बुँदे सहमति प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनौती

बिहीबार, ०१ पुस २०७८, ०९ : २२
बिहीबार, ०१ पुस २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति नभएको स्पष्ट पारेका छन् । प्रचण्डले प्रेस वक्तव्य जारी गर्दै ओलीलाई सो आरोप पुष्टि गर्न चुनौति समेत दिएका छन् । उनले राजासँग पाँच बुँदे सहमति भएको भन्ने शत प्रतिशत झुटो कुरा प्रचार भएको बताएका हुन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार एक कार्यक्रममा बोल्दै २०६० साल मङ्सिर १८ गते तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष प्रचण्डबीच ‘उपद्रव मच्चाउनका लागि पाँचबुँदे सहमति भएको’ दाबी गरेका थिए । ओलीले भने यो आरोपको ‘फ्याक्ट’ चेक गर्ने जिम्मा आफूले नलिई ज्ञानेन्द्र र प्रचण्डलाई नै छाडेका थिए ।

​प्रचण्डले ओलीलाई उक्त दाबी प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिएका छन् । उनले ओली झुट, बेइमानी र धोकाको अर्को नाम भएको समेत प्रेम वक्तव्यमा उल्लेख गरेका छन् ।

प्रचण्डले विज्ञप्तिमा भनेका छन्  

दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के.पी. शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म के. पी. ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु । साथै मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु । आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरूको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप