बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ज्ञानेन्द्र र प्रचण्डबीच ५ बुँदे सहमति भएको थियो : ओली

‘नेपाली काँग्रेस प्रतिगामी शक्तिहरूको मतियार भयो, सच्चियोस्’
बुधबार, २९ मङ्सिर २०७८, १७ : ४२
बुधबार, २९ मङ्सिर २०७८

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०६० साल मङ्सिर १८ गते तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष प्रचण्डबीच ‘उपद्रव मच्चाउनका लागि पाँचबुँदे सहमति भएको’ दाबी गरेका छन् । फौजदारी न्याय सिद्धान्तमा आरोप जसले लगाउँछ, प्रमाणको भार पनि उसैमा निहित हुन्छ । तर, एमाले अध्यक्ष ओलीले भने यो आरोपको ‘फ्याक्ट’ चेक गर्ने जिम्मा आफूले नलिई ज्ञानेन्द्र र प्रचण्डलाई नै छाडेका छन् ।
एमाले अध्यक्ष ओलीले बुधबार पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै भने, ‘साथीहरूलाई बताऊँ, प्रचण्ड र ज्ञानेन्द्रका बीचमा सहमति भएर, सहमतिका साथ उपद्रव भएको थियो । त्यसपछि ०६० साल मङ्सिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा ५ बुँदे सहमति गरेर..., के सहमति भएको थियो त्यो ? कि ज्ञानेन्द्रले कि त प्रचण्डले भन्नुपर्‍यो नि । के सहमति भएको थियो ? कसका विरुद्ध सहमति भएको थियो ?’
 
ज्ञानेन्द्र र प्रचण्डबीच पाँच बुँदे सहमति भएपछि ज्ञानेन्द्रले देशव्यापी अभिनन्दन कार्यक्रम चलाएको ओलीले बताए । उनले भने, ‘त्यो सहमतिले गर्दा ज्ञानेन्द्रले अभिनन्दन कार्यक्रम चलाए देशव्यापीरुपमा । लोकतान्त्रिक शक्ति रुकुम, रोल्पामा पाइलो टेक्न नसक्ने, नेताहरू जान नपाउने, त्यहाँ भएका नेताहरू मारिने । ज्ञानेन्द्र जाने र त्यहाँ धूमधाम स्वागत हुने । विराटनगर, यहीँ काठमाडौँमा पनि हामीले देख्यौँ, थापाथलीदेखि हिँडेर मंगलबजारसम्म उधुम स्वागत । को थिए स्वागत गर्ने ?’
 
शपथ ग्रहण गरेका केन्द्रीय सदस्यहरूलाई आगामी कार्यभारबारे निर्देशन दिने क्रममा केपी ओलीले नेपाली काँग्रेसलाई खराब तत्त्वहरूको साँठगाँठमा लागेको आरोप लगाए । उनले काँग्रेसलाई सच्चिन आग्रह गरे । ओलीले भने, अस्थिरताका निम्ति औजार भएका व्यक्तिहरू क्रियाशील छन् । त्यस्तो कुरालाई प्रयोग गर्न पुरानो इतिहास बोकेको नेपाली काँग्रेस (लागेको छ) । तर, नेपाली काँग्रेसको इतिहास पनि के हो भने सधैँ बाहिरबाट हतियार ल्याउने । नेपाली काँग्रेसले अहिलेसम्म खराब तत्त्वसँग साँठगाँठ गर्ने र देशभक्त र अग्रगामी, प्रगतिशील, वामपन्थी शक्तिका विरुद्ध जाइलाग्ने । सधैँ नेपाली काँग्रेसको नीति त्यही रह्यो ।’
 
अध्यक्ष ओलीले आगामी चुनावमा वामपन्थी शक्तिसँग एकता वा तालमेल होला कि भन्ने आफ्नै पार्टीका नेताहरूको आशालाई ‘भ्रम’को संज्ञा दिएका छन् । ओलीले सम्बोधनमा प्रष्ट शब्दमा भने, ‘अझै कतिपय साथीहरूमा कम्युनिस्ट एकता भन्ने छ । प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी, अस्थिरताका संवाहक तत्त्वहरू हुन् । कुनै भ्रम राख्नुपर्दैन, त्यस्ताहरूसँग एकता गरेर कहीँ पुगिन्छ ? त्यो एकीकरण सम्भव नै छैन ।’


 
ओलीको सम्बोधनको सम्पादित अंश
 
अहिले राष्ट्र दुई ध्रुवमा विभाजित हुँदै गएको छ । यसलाई अलि समन्वयात्मक ढङ्गले सुव्यवस्था, सुशासन र समृद्धि तर्फका हाम्रा प्रयासहरूमा सिङ्गो देश केन्द्रित हुनुपर्दथ्यो । स्थिरता र स्थायित्वतर्फ सिङ्गो देश केन्द्रित हुनुपर्दथ्यो तर, भएन । भएको छैन र त्यतापट्टि जाने स्थिति पनि देखिँदैन । किनभने, अस्थिरता मच्चाउन खोज्ने शक्तिहरू क्रियाशील छन् । नियन्त्रित अस्थिरता । खुलस्त भनिरहेका छन् कतिपय शक्तिहरूले नियन्त्रित अस्थिरता हाम्रो नीति हो नेपालको सन्दर्भमा । त्यो भनिरहेका छन् र त्यसका लागि ती कामहरू गर्ने शक्ति यहाँ छन् । नियन्त्रित अस्थिरताका संवाहकहरू । अस्थिरता मात्रै सिर्जना गर्न खोज्ने ती शक्तिहरू छन् ।

नेपालमा जनयुद्ध नामको गतिविधि सफल हुँदैनथ्यो । किनभने, त्यो सफल गर्न सुरु गरेकै होइन । त्यो त अस्थिरता सिर्जना गर्न रआफ्नो दुनो सोझ्याउने नीति अन्तर्गत ती कुराहरू भएका हुन् ।

अहिले ती शक्तिहरूमा सबभन्दा चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी । सबभन्दा अहिले अस्थिरताका संवाहक तत्त्वहरू यिनीहरू नै हुन्, कुनै भ्रम राख्नुपर्दैन । अझै कतिपय साथीहरूमा कम्युनिस्ट एकता भन्ने छ । त्यस्ताहरूसँग एकता, अस्थिरताका संवाहकहरूसँग एकता गरेर कहीँ पुगिन्छ ? त्यो एकीकरण सम्भव नै छैन । हामीले राम्ररी चिनिसकेका छौँ, यिनको कनेक्सन कहाँ छ ? तार कहाँ जोडिएको छ ? कहाँबाट स्वीच अन–अफ हुन्छ ? त्यो हामीले देखेका छौँ । छर्लङ्गै देखेका छौँ ।
 
महान् जनयुद्ध भनेर युवा र जनताहरूलाई, महिलाहरूलाई दुर्गम ठाउँबाट उरालियो । सुगम ठाउँहरूबाट उरालियो । सेन्टिमेन्टमा ल्याइयो । युवाहरू ज्यान दिन तयार भए । होमिए परिवर्तन भनेर । हतियार कहाँबाट आयो ? त्यतापट्टि फर्केर हेर्न दिइएन । एउटा सेन्टिमेन्ट ल्याइयो । तर, यति बुझिएन, यति हेरिएन, कहाँबाट कसले हतियार दिँदैछ नेपालमा अस्थिरता ल्याउन ?
 
नेपालमा जनयुद्ध नामको गतिविधि सफल हुँदैनथ्यो । किनभने, त्यो सफल गर्न सुरु गरेकै होइन । त्यो त अस्थिरता सिर्जना गर्न । त्यो एउटा बार्गेनिङ चिप्स हो । त्यो आफ्नो हातमा कन्ट्रोलको, घोडाको लगाम आफ्नो हातमा हुन्छ नि, लगाम हातमा राख्ने विधि हो । त्रसित, अशान्त, अस्तव्यस्त बनाइदिने र आफ्नो दुनो सोझ्याउने नीति अन्तर्गत ती कुराहरू भएका हुन् ।
 
बाहिरका अरू देशका तालिम केन्द्रहरूमा तालिम दिइन्थ्यो बकाइदा । त्यो कुनै कथा त हैन नि । तालिम लिएर आएका साथीहरू छँदै छन् । तर, त्यतिबेला महान् क्रान्तिको एउटा सेन्टिमेन्ट त्यतातिर लगियो । बुझ्न उनीहरूले राम्ररी पाएनन् के गर्न खोजिँदैछ भनेर । र मामुली कर्मचारीहरू, मामुली ‘पेड’ मान्छेहरू महान् नेताका रूपमा प्रस्तुत भए धोकापूर्ण ढङ्गले र देशले अलि दुःख पायो ।
 
अस्थिरताका निम्ति औजार भएका व्यक्तिहरू क्रियाशील छन् । त्यस्तो कुरालाई प्रयोग गर्न पुरानो इतिहास बोकेको नेपाली काँग्रेस (लागेको छ) । तर, नेपाली काँग्रेसको इतिहास पनि के हो भने सधैँ बाहिरबाट हतियार ल्याउने । सधैँ बाहिरबाट सहयोग, समर्थन र बलबाट जे गर्नुपर्छ, गर्नेखालको इतिहास रहेको छ । नेपाली काँग्रेसको सुरुदेखिको इतिहास के हो भनेर अहिलेसम्म पनि चिन्नलाई पर्याप्त हुन्छ ००७ सालको आन्दोलनपछि । ००७ साल फागुन ७ गते त्रिभुवनलाई काठमाडौँमा इण्डियाले ओराल्यो । त्रिभुवन लोकतन्त्र प्रजातन्त्र भएर फर्के । भागेको राजा प्रजातन्त्र भएर फर्क्यो ! क्रान्ति गरेको भनेको नेपाली काँग्रेस उसका खोकिला मुनि यसो बच्चोजस्तो गरेर उसले चेपेर लिएर आयो । यो खोकिलामा चेपेको के हो भन्दा यो चाहिँ क्रान्तिकारी काँग्रेस ! परिवर्तनकारी काँग्रेस ! मैले लिएर आएँ भनेर त्रिभुवन ‘वेभिङ’ गर्दै (हात हल्लाउँदै) गौचरणमा ओर्ले । ००७ साल फागुन ७ गतेको कुरा हो यो ।
 
मोहनशमशेर राणा नै प्रधानमन्त्री भए ।  त्यस कुरालाई यो उपयुक्त भएन भन्ने वामपन्थी देशभक्तहरू भीमदत्त पन्तको भारतीय सेना बोलाएर टाउको कटाइयो । डोटीको दक्षिण भेगमा भीमदत्त पन्तको भारतीय सेनाले समातेर, टाउको काटेर बेञ्चमा राखेर प्रदर्शनी गर्‍यो । आफ्नो देशमा केही असन्तुष्टि भयो, यो त ठिक भएन । किन फर्काको फेरि राजा ? के हो दिल्ली सम्झौता ? किन फेरि राणै प्रधानमन्त्री ? किन यसलाई पूर्णता हुन दिइएन ?
केही प्रश्न उठाए केआई सिंहले, रामप्रसाद राईहरूले । अरू विभिन्न ठाउँका मान्छेहरूले उठाए । तराईतिरका मुगलाल महतोहरूले उठाए । कुलदीप महतोले उठाए । जदुकानुले उठाए । गेना राउतले उठाए । यस्ता थुप्रो मान्छेहरूले उठाए । भैरवप्रसाद आचार्यले उठाए । अनेकले उठाए यस्ता विषयहरू । तिनीहरू दमित भए । कोही गायब भए, कोही जेल हालिए । कोही जेल फोडेर भागे । कोही काटिए । कोही मारिए । यस्तो खालको स्थिति भयो । 

ज्ञानेन्द्रले उधुम मच्चाउँदा साथीहरूलाई बताउन्, प्रचण्ड र ज्ञानेन्द्रका बीचमा सहमति भएर, सहमतिका साथ त्यो उपद्रव भएको थियो । त्यसपछि ०६० साल मङ्सिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा ५ बुँदे सहमति गरेर..., के सहमति भएको थियो त्यो, कि ज्ञानेन्द्रले कि त प्रचण्डले भन्नुपर्‍यो नि । के सहमति भएको थियो ? कसका विरुद्ध सहमति भएको थियो ? त्यो सहमतिले गर्दा ज्ञानेन्द्रले अभिनन्दन कार्यक्रम चलाए देशव्यापीरुपमा ।

२००८ साल माघ १ गते नेपाली काँग्रेसका मातृकाप्रसाद कोइराला ‘कमाण्डर इन चिफ’ भएका र सभापति भएका ००७ सालको आन्दोलनका नायक । नेपाली काँग्रेसका सभापति ००८ साल माघ १ गते प्रधानमन्त्री भए । ४ गते इण्डिया भ्रमणमा गए । ११ गते फर्कँदा दक्षिणको सेना उत्तरको सिमानामा लगेर सेनाका चेकपोष्ट राख्ने सम्झौता गरेर आए । दक्षिणको छिमेकीको सेना उत्तरको सिमानामा राख्ने, नेपालको स्वाभिमान कहाँ गयो ? पहिला नभएको कुरा, राणा शासनमा नभएको, भारतीय राजदूतलाई क्याबिनेट बैठकमा राखेर क्याबिनेट गर्ने ००७ सालको क्रान्तिभन्दा पछि चलन चल्यो, राष्ट्रियता हामीले हेर्‍यौँ भने ।
 
त्यसपछि तुरुन्तै कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लाग्यो । परिवर्तनकारी र आन्दोलनकारी शक्तिमाथि प्रतिबन्ध, साँठगाँठ प्रतिक्रियावादीसँग । नेपाली काँग्रेसले अहिलेसम्म खराब तत्त्वसँग साँठगाँठ गर्ने र देशभक्त र अग्रगामी, प्रगतिशील, वामपन्थी शक्तिका विरुद्ध जाइलाग्ने । सधैँ नेपाली काँग्रेसको नीति त्यही रह्यो । यो बडो जटिल परिस्थिति हो पहिलेदेखि अहिलेसम्म । हामी चाहान्छौँ– नेपाली काँग्रेसले यो गलत बाटो, गलत नीति, गलत तरिका अवलम्बन गर्न छोडोस् । नेपाली काँग्रेस प्रतिगामी शक्तिहरूको मतियार भयो पटकपटक । काँग्रेसको कमजोरीले गर्दा ००७ सालको उपलब्धि ०१७ सालमा गुम्यो ।

हामीले संविधानअन्तर्गतका अधिकार मान्छेले कार्यान्वयन गर्न पाउन् भनेर ४० प्रतिशत संसद् वा पार्टीको केन्द्रीय कार्यसमिति भनेर ‘वा’ राखिदिँदा संसद् नचलेका बेला उधुम ! हामीले नेपाली नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्छ भन्दा उधुम भयो । देशै बेच्न खोज्यो अरे ! दया लाग्छ ।
 
त्यही कुरो हामीले भन्दै आयौँ ०५८ मा, ०५९ मा । आश्विन १८ माघ १९ जस्ता प्रतिगामी कदमहरू भए । माघ १९ मा गएर त पार्टीहरूको कुनै मतलब नै छैन आफैँले घोषणा गरेर, आफैँले सबै शासन हातमा लिएर । ज्ञानेन्द्रले उधुम मच्चाए ।

हामीले संविधानअन्तर्गतका अधिकार मान्छेले कार्यान्वयन गर्न पाउन् भनेर ४० प्रतिशत संसद् वा पार्टीको केन्द्रीय कार्यसमिति भनेर ‘वा’ राखिदिँदा संसद् नचलेका बेला उधुम ! हामीले नेपाली नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्छ भन्दा उधुम भयो । देशै बेच्न खोज्यो अरे ! दया लाग्छ ।

ज्ञानेन्द्रले उधुम मच्चाउँदा साथीहरूलाई बताउन्, प्रचण्ड र ज्ञानेन्द्रका बीचमा सहमति भएर, सहमतिका साथ त्यो उपद्रव भएको थियो । त्यसपछि ०६० साल मङ्सिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा ५ बुँदे सहमति गरेर..., के सहमति भएको थियो त्यो, कि ज्ञानेन्द्रले कि त प्रचण्डले भन्नुपर्‍यो नि । के सहमति भएको थियो ? कसका विरुद्ध सहमति भएको थियो ? त्यो सहमतिले गर्दा ज्ञानेन्द्रले अभिनन्दन कार्यक्रम चलाए देशव्यापीरुपमा ।
 
लोकतान्त्रिक शक्ति रुकुम, रोल्पामा पाइलो टेक्न नसक्ने, नेताहरू जान नपाउने, त्यहाँ भएका नेताहरू मारिने, ज्ञानेन्द्र जाने र त्यहाँ धूमधाम स्वागत हुने । विराटनगर, यहीँ काठमाडौँमा पनि हामीले देख्यौँ, थापाथलीदेखि हिँडेर मंगलबजारसम्म उधुम स्वागत । को थिए स्वागत गर्ने ? कसरी युवा शक्तिलाई दुरुपयोग गरिएको थियो ? कसरी गुमराहमा पारिएको थियो ? बाहिर क्रान्तिका कुरा, राष्ट्रियताका कुरा, एकखालको परिवर्तनका कुरा, भित्रभित्र प्रतिक्रियावादी साँठगाँठका कुरा । यसको शिकार नेपाल हुने गर्‍यो र हामी अहिले पनि त्यसको मार खाइरहेका छौँ ।
 
केही स्वार्थी मानिसहरू त्यसका पछाडि कुदिराख्या छन् । ती कुराहरूलाई हामीले सच्याउनुपर्नेछ । हामी जन दबाबबाट, जनताको चेतनाबाट, जनताको संगठनबाट, जनताको आन्दोलनबाट ती कुराहरूलाई सच्याउन सक्छौँ । आज हामीले गर्नुपर्ने काम यी छन् । हाम्रो केन्द्रीय कमिटीमा निर्वाचित साथीहरूले बुझ्नुपर्ने कुरा के छ भने यस्तो स्थितिबाट हामीले देशलाई समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो परिकल्पनालाई, हामीले निर्दिष्ट गरेको राष्ट्रिय आकाङ्क्षालाई प्राप्त गर्न जनतालाई सचेत गर्ने, संगठित गर्ने, परिचालित गर्ने र जनदबाबको एउटा उभार सृष्टि गर्ने कामबाट अगाडि बढ्न सक्छौँ । त्यसअनुसार हामी सक्रिय भएनौँ भने कसले गर्छ ? त्यसअनुसारको सक्रियता हाम्रो हुनुपर्छ ।
 
हामी जनताका नेता हुनुपर्छ । जनताको नेता हुनका लागि विचार, व्यवहार, आचरण शैली कस्तो हुनुपर्छ, त्यसअनुसार जानुपर्छ । भ्रमहरू तोड्नुपर्छ हामीले ।
 
भ्रष्टहरूले सदाचारीलाई भ्रष्ट भनेर उडाउँछन् । प्रचण्डले सेयर बजारका सवालमा बडो क्रान्तिकारी... । साम्राज्यवाद विकसित भयो भने सेयर बजार हुन्छ रे ! साम्राज्यवादको विकसित रूपचाहिँ लेनिनले भन्दा अलि बढ्ता जान्ने भएछन् दुई स्टेप ! पुँजीवाद विकसित रूप भएर साम्राज्यवाद हुन्छ भनेर लेनिनले भनेका थिए । त्योभन्दा माथि गएर साम्राज्यवाद विकसित भएपछि सेयर पुँजीमा जान्छ भनेर प्रचण्डले एउटा नयाँ थेसिस ठोक्दिए ! दुई दिनमा सेयर बजार धराशायी ! त्यसको जनताको जीवनमा कति असर हुन्छ, सेयर लगानीकर्ताहरूको अवस्था कस्तो हुन्छ, तिनीहरूको आर्थिक स्थिति के हुन्छ, केही पनि मतलब छैन । अर्थतन्त्रको केही पनि मतलब छैन । कुन सेयर कारोबारीले चन्दा दिएन होला, त्यसो भएदेखि ल भनेर ठोक्दिए उनले । न रहे बाँस, न रहे बाँसुरी !
 
यदि हामीले त्यस्तो गर्थ्यौँ भने सडक तात्थे । माइतीघरले पुग्दैनथ्यो । सञ्चार माध्यममा आगो बल्थ्यो । अहिले शान्त छ । चुपचाप छ । कोही बोल्दैनन् । यो त अस्थिरता बढाउने, देशमा अस्थिरता बढाउने, खलबल्याइरहने, ध्वस्त पारिरहने । योखालको सिलसिला चलिरहेका हुनाले यस्तोमा बोलिरहन परेन । संविधान मिच्दा भयो, मनपरी गर्दा भयो, कानुन मिच्दा भयो । चलिरहेको संसद् मध्यरातमा बन्द गरेर भोलिपल्ट संसद् ठाडै छलेर अध्यादेश ल्याउँदा भयो । कसलाई कति सिट भए पुग्छ, कति प्रतिशत भए पुग्छ, सोधिसोधिकन त्यसअनुसार कानुन ! लोकतन्त्र हो !
 
हामीले संविधानअन्तर्गतका अधिकार मान्छेले कार्यान्वयन गर्न पाउन् भनेर ४० प्रतिशत संसद् वा पार्टीको केन्द्रीय कार्यसमिति भनेर ‘वा’ राखिदिँदा संसद् नचलेका बेला उधुम ! हामीले नेपाली नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्छ भन्दा उधुम भयो । देशै बेच्न खोज्यो अरे ! दया लाग्छ । कम से कम देशप्रति त माया गर्न सिकौँ । सत्यप्रति अलिकता निष्ठा त राख्न सिकौँ । अचम्म लाग्छ ।
 
अनि डबलीवाला बुद्धिजीवी, केही मान्यवर गलत मनसायका साथ लगानी भइरहेको छ र परिचालित भइरहेका छन् । ती कुराहरूसँग हामी सजग हुनुपर्छ, आत्तिनुहुँदैन । संसारका जनताले कहीँ पनि मागेर, आरामले, संघर्ष नगरिकन कुनै उपलब्धि हासिल गरेका छैनन् । न्याय पाउँ भनेर न्याय पाएका छैनन् । सामाजिक परिवर्तन, रूपान्तरण र न्याय, विकास यी कुराहरू लडेर, संघर्ष गरेरै पाएका छन् । त्यसका निम्ति सही विचार, सही विचार बोक्ने संगठन, ती विचारहरू कार्यान्वयन गर्ने संगठन, त्यो संगठनको परिचालन, गतिशील संगठन र त्यसको उपयुक्त शैलीका साथ परिचालन । यी कुराहरूलाई हामीले जोड दिनुपर्छ ।
 
एकै दिन रोम बनेको थिएन । वर्षौँ लगाएर रोम बनेको थियो । वर्षौंमात्रै होइन, पुस्तौँ लगाएर मात्रै एउटा देश बन्छ । हामीले यस धर्तीलाई नै मानवोचित धर्ती बनाउनु छ । हामी मानवतावादी हौँ । हामी धर्तीव्यापी छौँ । हामी मानव जातिलाई दुःख नहोस्, सुख होस् भन्ने चाहान्छौँ । थाल्ने कहाँबाट भन्दा हाम्रै देशबाट थाल्छौँ । हामी दुनियाँको ठेक्का लिन सक्दैनौँ ।
 
जहाँसम्म युद्धका कुरा आउँछन् हामी विरोध गर्छौँ । शान्तिका कुरा आउँछन् हामी समर्थन गर्छौँ । हिंसा भयो भने त्यसको विरोध र विश्व शान्तिका लागि प्रयास गर्छौँ । देशभित्र शान्ति कायम होस्, त्यसका निम्ति प्रयास गर्छौँ । शान्ति, सुव्यवस्था, न्याय, न्यायोचित सवाल, समृद्धि, समृद्धिका प्रयास गर्छौँ । विकासका प्रयासमार्फत हामी आर्थिक र भौतिक विकास मात्रै होइन, सामाजिक विकास गर्छौँ । अवधारणागत विकास, मूल्य मान्यतामा विकास ।
 
आधुनिकता भनेको बाटोमा मात्रै आधुनिकता हुँदैन । टेलिफोन र सञ्चारमा मात्रै आधुनिकता हुँदैन । प्लेन उडेरमात्रै आधुनिकता हुँदैन । भौतिक पूर्वाधारको मात्रै होइन, सामाजिक मानसिक पूर्वाधारको विकासका कुराहरूदेखि हामीले लानुपर्छ । यदि हामीले भौतिक पूर्वाधारको मात्रै कुरा गर्‍यौँ भने समाजमा अन्याय, असमानता र विभेद कायमै रहन सक्छ । बाटो त बनेका छन्, बम पड्काएर भत्काउँदै गर्छ । पुल बनेका छन्, बम पड्काएर भत्काउँदै गर्छ । त्यसकारण त्यो मानसिकतालाई पनि हामीले परिवर्तन गर्नु छ । यसकारण हाम्रा अगाडि चुनौति छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप