बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डविरुद्ध खनिए लगानीकर्ता, माओवादीको भोट प्रभावित बन्ने चेतावनी

मङ्गलबार, २८ मङ्सिर २०७८, १८ : ५०
मङ्गलबार, २८ मङ्सिर २०७८

सेयर बजारका लगानीकर्ता नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध खनिएका छन् । प्रचण्डले पुँजीबजारलाई साम्राज्यवादको रुपमा व्याख्या गरेपछि लगानीकर्ता उनीविरुद्ध खनिएका हुन् । प्रचण्डले पार्टीको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उत्पादनमूलक उद्योगमा लगानी हुनुपर्ने पैसा सेयरमा लगानी हुनु साम्राज्यवादको रूप भएको व्याख्या गरेका थिए ।  

इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिकाप्रसाद पौडेलले पुँजी बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति सान्दर्भिक नभएको बताए । पुँजीबजारको लगानीलाई साम्राज्यवादको विकसित रूप भएको भनी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति विडम्बनापूर्ण भएको पूर्व अध्यक्ष पौडेलले बताए ।

उनले पुँजीबजार अर्थतन्त्रको ऐना भएको र यस क्षेत्रलाई साम्राराज्यवादको विकसित रूपको टिप्पणी गर्नु विडम्बनापूर्ण अभिव्यक्ति भएको बताए । पौडेलले उद्योग व्यवसाय गर्न आवश्यक पुँजी निर्माण, बजारमा छरिएर रहेको पुँजी सङ्कलन गर्ने र उद्यमशीलताको विकास पुँजीबजारले गर्छ भन्ने मान्यता राख्ने लगानीकर्ताको लागि प्रचण्डको अभिव्यक्ति विल्कुल गलत तथा समय सान्दर्भिक नभएको बताए ।

यस्तै, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले प्रचण्डको अभिव्यक्ति साना लगानीकर्ताको मर्म विपरीत भएको बताएकी छिन् । अध्यक्ष पोखरेलले शेयरमा लगानी गर्ने लगानीकर्ता पुँजीपति मात्रै नभएको बताउँदै भनिन्, ‘सेयर बजारमा रोडमा साग बेच्ने, घरैमा बसेर एउटा घर गृहिणी र विद्यार्थीको समेत लगानी रहेको छ ।’ प्रचण्डले दिएको अभिव्यक्ति सेयर लगानीकर्तालाई साँढेको जुधाइमा बाच्छाको मिचाई जस्तै भएको उनको टिप्पणी छ ।

४६ लाख लगानीकर्ताको आम्दानीको स्रोत नै पुँजी बजार भएकाले पुँजीबजारलाई लक्षित गरेर टिप्पणी गर्नाले माओवादीको भोटमा समेत असर गर्ने सक्ने बताइन् । प्रचण्ड र वर्तमान अर्थमन्त्रीलाई समेत पुँजीबजारको विषयमा सामान्य ज्ञान समेत नभएको पोखरेलले तर्क गरिन् । उनले भनिन्, ‘नेतृत्व तहमा बसेका व्यक्तिले शेयर बजारका विषयमा गलत टिप्पणी गर्नु लगानीकर्ताको मर्म विपरीत हो । विगत लामो समयदेखि माथिल्लो तहमा बस्ने व्यक्तिहरूले शेयर बजारको विषयमा नकारात्मक कुराहरू बोल्ने गरेका थिए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप