मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

किन घट्दै छ सेयर बजार ?

उच्च बिन्दुबाट चार महिनामै ९०० अंक घट्यो नेप्से
सोमबार, २७ मङ्सिर २०७८, १५ : १२
सोमबार, २७ मङ्सिर २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पछिल्लो चार महिनामा साढे ९०० अंकभन्दा बढीले घटेको छ । कोरोना महामारीमा निरन्तर बढ्दै नेप्से इतिहासकै उच्च बिन्दुमा पुगेको परिसूचक चार महिनायता लगातार घटिरहेको छ ।

नेपालको सेयर बजारको अहिलेसम्मको इतिहासमा यही वर्षको भदौ २ गते परिसूचक ३१ सय ९८ अंकमा पुगेको थियो । बजारले नयाँ कीर्तिमान कायम गरेयता निरन्तर ओरालो गतिमा छ । आज मंसिर २७ गतेसम्म आइपुग्दा परिसूचक २३ सय अंकमा छ ।

भदौ २ गतेदेखि मंसिर २७ गतेसम्मको करिब चार महिने अवधिमा बजार करिब साढे ९०० अंकले घटेको छ भने कारोबार रकम र सेयर किनबेच पनि खुम्चिएको छ । साउन–भदौको समयमा दैनिक २१ अर्ब रुपैयाँसम्मको कारोबार भएको बजारमा अहिले मुस्किलले तीन अर्बको कारोबार हुन्छ । यसले खुम्चिँदो नेप्से परिसूचकलाई कारोबार रकमले पनि साथ दिएको छैन ।

किन घट्दै छ बजार ?

दिनदिनै नयाँ–नयाँ कीर्तिमान कायम गरिरहेको बजारमा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको एउटा व्यवस्थाले नराम्ररी हल्लायो । साउन २९ गते चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले सेयर बजारमा १२ करोड रुपैयाँको सीमा लगाएको थियो । राष्ट्र बैंकले सेयर धितो राखेर ३ वटा बैंकबाट बढीमा १२ करोड रुपैयाँसम्म धितो लिन पाउने व्यवस्था गर्यो ।

यो व्यवस्थाले लगानीकर्ताको खस्किएको मनोबललाई लगत्तै आएको राष्ट्र बैंकको अर्को निर्देशनले झनै खस्कायो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेको व्यवस्थाको प्रभाव नदेखिएको समयमा भदौ ९ गते आएको उक्त निर्देशनले भने बजारलाई प्रभावित बनायो । निर्देशनमा एक वर्ष भित्र लगानीकर्ताले सेयर धितो कर्जालाई १२ करोडको सिमामा ल्याइसक्नुपर्ने थियो । यो निर्देशन आएपछि ठूला लगानीकर्ता सेयर बेच्नुपर्ने स्थितीमा पुगे र राष्ट्र बैंकको निर्देशनअनुसार धितो कर्जा सिमामा ल्याउनतर्फ लागे ।

यसका साथै, कोरोना महामारीमा लगानीका सबै क्षेत्र बन्द हुँदा बजारको सम्पूर्ण लगानी सेयर बजारमा ओइरिएको थियो । उत्पादनमूलक, उर्जामूलक, निर्माण क्षेत्रका उद्योगी÷व्यवसायी र व्यापारी तथा बैंक÷वित्तीय संस्थाले पनि बजारमै लगानी गरेका थिए । महामारी रोकथामका लागि गरिएको लकडाउनमा लगानीका अन्य क्षेत्र बन्द हुँदा पनि बजार खुलै रहेकाले सबै क्षेत्रको लगानी सेयर बजारमा थुप्रिएको थियो । तर, लकडाउन हटेपछि लगानीका सबै क्षेत्र खुलेसँगै लगानीयोग्य रकम फरक–फरक क्षेत्रमा लगानी भयो ।

जसकारण, सेयर बजारमा लगानी गर्ने रकमको मात्रै अभाव भएन बरु बजारमा तरलता नै अभाव हुन पुग्यो । यसैको परिणामस्वरुपः विगत एक वर्षदेखि एकल अंकमा कायम रहेको ब्याजदरलाई वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरेर बढाए । बैंकहरुले लामो समयदेखि १० अंकभन्दा तल कायम रहेको ब्याजदर एकैपटक ११ प्रतिशत पुर्याएका थिए ।

आर्थिक गतिविधि खुला भएपछि परेको तरलताको चाप अहिलेसम्म पनि कायम छ । वाणिज्य बैंकहरु निक्षेपकर्ताको घर÷दैलोमै पुगेर निक्षेप राख्न अनुरोध गरिरहेका छन् । बजारमा लगानीयोग्य रकम नहुँदा बजार निरन्तर घटेको वित्तीय विश्लेषक अनलराज भट्टराईले बताए । उनले भने, ‘कोरोनाको रोकथामका लागि गरिएको लकडाउनको समयमा लगानीका अन्य क्षेत्र थिएनन् । जसकारण, सबै रकम पूँजीबजारमा खनिएको थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप