शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

साझा उम्मेदवार तय गर्न दबाब दिँदै प्रकाशमान सिंहको घरमा प्रदर्शन

मङ्गलबार, २१ मङ्सिर २०७८, १८ : १२
मङ्गलबार, २१ मङ्सिर २०७८

संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न दबाब दिँदै चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको घरमा काँग्रेसका युवा नेताहरूले प्रदर्शन गरेका छन् ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा संस्थापन इतर समूह नेता सिंहको घरमा बैठक बसिरहेको समयमा मंगलबार राजेन्द्र बजगाइँको नेतृत्वमा आधा दर्जन बढीको सङ्ख्यामा भेला भएका युवा नेताहरूले साझा उम्मेदवारको विकल्प नभएको भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी नेपाल विद्यार्थी संघका पूर्व सह–महामन्त्री टेकराज पौडेलले काँग्रेसलाई एकताबद्ध बनाएर महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन माग गर्दै आफूहरूले प्रदर्शन गरेको बताए । नेताहरूले त्याग गरेर भए पनि पार्टीलाई एकताबद्ध बनाएर अगाडी लानुको विकल्प नभएको उहाँको भनाई छ । उनले भने – ‘पार्टी सभापतिदेखि सबैमा एकताको प्रयास गर्नु छ । काँग्रेसलाई सकेसम्म एकताबद्ध बनाएर यो महाधिवेशनमा एकताको महाधिवेशनको रूपमा अगाडी बढाउनुस् भन्ने हाम्रो चाहानाले आज हामी यहाँ उपस्थित भएका हौँ । देशभरिका कार्यकर्ताको एकताबद्ध होस् भन्ने चाहाना छ । त्यसलाई मनन गरेर उहाँहरूले त्याग पनि गर्न सक्नुपर्छ । र एकताबद्ध बनाएर अगाडी लानुको विकल्प छैन ।’

युवा नेताहरूले एकता मात्रै जितको आधार हो, साझा उम्मेदवारको विकल्प छैन, अहिले नमिले कहिले मिल्ने, नेताहरू मिल्नुस्, काँग्रेस जोगाउनुस्, काँग्रेस जोगाउने कि कुर्सी ? लेखिएको प्लेकार्ड प्रदर्शन गर्दै सो प्लेकार्डहरू बैठकमा उपस्थित भएका नेताहरूलाई हस्तान्तरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप