बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

काङ्ग्रेस प्रदेश १ : पदाधिकारीमा संस्थापन पक्षकै वर्चश्व

मङ्गलबार, २१ मङ्सिर २०७८, १० : ०९
मङ्गलबार, २१ मङ्सिर २०७८

नेपाली काङ्ग्रेस प्रदेश १ समितिको सभापतिसहित धेरैे पदाधिकारीमा संस्थापन पक्ष विजयी भएका छन् । उपसभापति, एक महामन्त्री र महिला सह–महामन्त्री र सदस्यमा संस्थापन पक्ष विजयी भएको हो । संस्थापन इतर पक्षबाट एक महामन्त्री र दुई सह महामन्त्री विजयी भएका छन् ।

उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई निर्वाचित भए भने महामन्त्रीमा भूपेन्द्र राई र उमेश थापा निर्वाचित भएका छन्। थापा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मानिन्छन्। सह–महामन्त्रीमा प्रमीला गच्छदार, खङ्ग फागो र विनोदकुमार बस्नेत निर्वाचित भएका छन्। 

गच्छदार र फागो  संस्थापन पक्षका हुन् । त्यसैगरी केही बेर अघि सकिएको मतगणनाको परिणाम अनुसार खुला र आरक्षणमा गरी १३ जना प्रदेश सदस्य निर्वाचित भएका छन् ।  निर्वाचित हुने सदस्यहरूमा सात जना देउवा–समूहका छन् । चार जना पौडेल–कोइराला समूहका हुन् ।  निर्वाचित हुने दुई सदस्य उत्तम बहादुर चौलागाईं खत्री र हुकुमसिंह राई कतै खुलेका छैनन्। उनीहरू कुनै पनि समूहको सूचीबाट उम्मेदवार थिएनन् ।

​देउवा–सिटौला समूहबाट किरण भट्टराई, फूलवती राजवंशी, राजकुमार बराइली, भूमि राई, रेगिना भट्टराई प्रसाईं, मीरा खड्का र शोभा श्रेष्ठ नेम्बाङ विजयी भएका छन् । उनीहरूको नाम सभापति थापा उम्मेदवार भएको प्यानलमा थियो । 

पौडेल–कोइराला समूहबाट विमल आचार्य, रञ्जिता कार्की , प्रकाश कार्की र चन्द्राकुमारी खड्का भट्टराई निर्वाचित भएका छन् । उनीहरूको नाम झिनो मतले पराजित  सभापतिका उम्मेदवार घिमिरेको प्यानलमा थियो । यो सँगै अधिवेशनबाट सभापति थापा पदाधिकारीसहित प्रदेश समितिमा दुई तिहाइ बहुमत कायम गर्न सफल भएका छन् । 

मङ्सिर १८ गते भएको मतदानको मतगणना  केही बेर अघि सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार झापाबाट सभापतिसहित सबै भन्दा बढी १३ जना निर्वाचित भएका छन् । सभापति उद्धव थापाले गुरुराज घिमिरेलाई दुई मतले हराएका हुन् । थापाले आठ सय ४४ र घिमिरेले आठ सय ४२ मत ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप