मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसका प्रदेश कमाण्डर : ठेकेदारदेखि गिरिजाको फोटोमा कालोमोसो दल्नेसम्म !

सोमबार, २० मङ्सिर २०७८, ११ : ०५
सोमबार, २० मङ्सिर २०७८

नेपाली काँग्रेसले ६ वटा प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । सोमबार बिहानसम्म प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेतृत्व चयन भएको छ । प्रदेश २ मा भने अधिवेशन सम्पन्न हुन बाँकी छ । मुलुक संघीय संरचनामा गएको आधा दशकपछि काँग्रेसले पहिलोचोटि प्रदेश कमान्डरहरू पाएको हो ।

वागमती, कर्णाली र सुदूरपश्चिममा सभापति शेरबहादुर देउवा पक्षले सभापति जितेको छ भने गण्डकी र लुम्बिनीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको नेतृत्व आएको छ । प्रदेश १ मा देउवा–कृष्णप्रसाद सिटौला समूहका उद्धव थापा विजयी भएका छन् । प्रदेश १ मा २ मतले पराजित भएपछि पौडेल पक्षका उम्मेदवार गुरु घिमिरेले पुनः मतगणनाको माग गरेका छन् ।

प्रदेश २ को अधिवेशन उद्घाटन भए पनि निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । प्रदेश २ मा क्षेत्रीय तहको निर्वाचनमा देउवा समूहको पकड देखिएको छ । प्रदेश २ मा पौडेल समूहले विमलेन्द्र निधि पक्षलाई साथ दिए परिणाम कसको पक्षमा आउँछ भन्न सकिने अवस्था छैन ।

अब नेपाल काँग्रेसका प्रदेश कमाण्डर अर्थात, प्रदेश सभापतिहरूको चर्चा गरौं ।

उद्धव थापा (प्रदेश १)

झापाली नेता उद्धव थापाको राजनीतिक यात्रा २०३४ मा काठमाडौंको शंकरदेव क्याम्पसको नेविसंघ इकाइबाट सुरु भयो । उनी २०३५ को जनमत संग्रहमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय व्यवस्थाको पक्षमा सक्रिय थिए । बीपी कोइरालाको सुरक्षा दस्तामा रहेर समेत थापाले काम गरेका थिए ।

त्यसपछि २०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्वको आन्दोलनमा लागेका थापाले प्रजातन्त्रको पुनस्र्थापना पश्चात नेपाली काँग्रेस अर्जुनधारा गाउँ समितिको सचिव र सभापतिको एकएक कार्यकाल नेतृत्व लिए ।

त्यसपछि झापा २ नं क्षेत्रको क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको भए । थापाले दुई पटक संसदको टिकट पाए । तर, जिते हात पार्न सकेन । वाणिज्य शास्त्रमा स्नातक गरेका थापाले एक स्पष्टवादी र निडर नेताको छवि बनाएका छन् ।

पार्टी विधानअनुसार झापा राजनीतिबाट रिङआउट भएका थापाले केन्द्रीय राजनीतिबाट प्रदेश झरेका गुरुराज घिमिरेलाई पराजित गरे । सभापति देउवा र नेता सिटौला समूहको समर्थनमा थापाले प्रदेश एकको पहिलो सभापति बन्न सौभाग्य पाए ।

थापाको जितसँगै गृह प्रदेश एकमा सिटौलाको शक्ति नसकिएको सन्देश दिएको छ । साथै पौडेल समूहले प्रदेश एकलाई आफ्नो भोट बैंकका रुपमा हेरेको थियो । तर, देउवा र सिटौला एक ठाउँमा आउँदा पौडेल समूह कमजोर सावित भएको छ ।

१३ औं महाधिवेशनमा कमजोर देखिएको देउवा पक्षले पनि १४ औं महाधिवेशनमा आउँदा प्रदेश एकमा उपस्थिति फराकिलो बनाएको थियो । प्रदेश एकको १४ जिल्लामध्ये देउवा समूहले ७ र पौडेल पक्षले ६ र सिटौला पक्षले १ जिल्ला सभापति जितेको थियो । देउवा पक्षका नेता अमृत अर्याल र रामहरि खतिवडा प्रदेश सभापतिको उम्मेदवार बन्न नचाहेपछि थापाले ८ जिल्ला सभापति साथमा लिएर चुनावी मैदानमा उत्रिएका थिए । थापाको जीतले प्रदेश एकमा देउवा सिटौला गठबन्धन सफल बनेको छ ।

इन्द्र बानियाँ (बागमती प्रदेश)

इन्द्र बानियाँ २०४४ सालदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन् । २०५१ पछि लगातार उनी काँग्रेस महाधिवेशन प्रतिनिधि बन्दै आएका छन् । बानियाँ २०५३ मा नेविसंघ मकवानपुरको जिल्ला सचिव, २०५५ मा तरुण दलको जिल्ला सचिव, २०५६ मा तरुण दल जिल्ला अध्यक्ष पनि भएका थिए ।

२०६४ सालमा संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेर पराजित भएका बानियाँ २०७० मा भएको दोस्रो संविधान सभामा सांसद निर्वाचित थिए । त्यसपछि भए ०७२ भएको मकवानपुर जिल्ला अधिवेशनबाट बानियाँ सभापति बनेका थिए । २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी समेत बने ।

२०७४ सालमा मकवानपुर संघीय क्षेत्र २ को ख बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भए । प्रदेश सांसद बनेपछि बानियाँ सर्वसम्मत रुपमा काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता चयन भएका थिए ।

काँग्रेस बागमती प्रदेश सभापति बन्न भने बानियाँले संघर्ष गर्नुपर्यो । सभापति देउवा पक्षबाट निर्विकल्प रुपमा प्रदेश सभापतिको उम्मेदवार बनेका बानियाँलाई जित्न भने नेता कृष्णप्रसाद सिटौला पक्षको साथ चाहियो ।

सिटौला समूहबाट भीमसेन दास प्रधान प्रदेश सभापतिको प्रत्यासी बनेपछि बनियाँलाई जीत निकाल्न दोस्रो चरणको मतदानमा प्रक्रियामा जानुपर्ने अवस्था बन्यो । पहिलो चरणको मत परिणाम अनुसार तेस्रो भएपछि प्रधानले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका बानियाँलाई साथ दिए ।

प्रधानको साथ पाएपछि निर्माण व्यवसायी बानियाँ पौडेल पक्षीय जगदीश्वरनसिंह केसीलाई पराजित गरीकाँग्रेस बागमती प्रदेशको पहिलो सभापति बन्न सफल भएका छन् ।

शुक्रराज शर्मा (गण्डकी प्रदेश)

काँग्रेसका वैद्धिक र पुराना नेता शुक्रराज शर्मा शिक्षण पेसाबाट पार्टी राजनीतिमा आएका हुन् । २०२० सालमा एसएलसी पास गरेपछि पर्वतको देउपुर पुगेर स्कुल खोलेर केही समय पढाए ।

शिक्षण पेसातिर ढल्किएका शर्मामा राजनीति रागले छोडेन । २०२३ सालमा गण्डकी छात्र संघको सदस्य बनेर उनको राजनीतिक जीवन सुरु भयो । शर्माले बीपीकै हातबाट तरुण दलको सदस्या लिएका थिए । वीपी कोइरालादेखि गणेशमान सिंह नेतृत्वमा भएका आन्दोलनमा उनी कास्की कमाण्डर भएर काम गरे ।

शर्मा ०४२ सालको सत्याग्रह र २०४७ सालको जनआन्दोलनको कास्की कमाण्डर बने । त्यो बेला उनी पटक–पटक जेल पनि परे । २०४६ मा नेपाली काँग्रेस कास्कीको सभापति बने । त्यसपछि कास्की जिल्लाको काँग्रेस राजनीति शर्माको वरिपरी अहिलेसम्म घुमिरहेको छ । तर, संसदीय राजनीतिक यात्रा भने शर्माको त्यति सुखद रहेन ।

शर्मा संसदीय निर्वाचनमा सधैं पराजित भए । २०४८ र २०५१  को चुनावमा कास्की ३ बाट टिकट पाए पनि हारे । त्यसपछि पार्टीभित्रकै राजनीतिमा केही समय हराएजस्तै थिए । तर शुक्रराजलाई २०७४ को निर्वाचनमा पुनः कास्की ३ बाटै टिकट दिइयो । उनी पराजित भए ।

पार्टी राजनीतिमा भने शर्माले पछाडि फर्किनु परेको छैन । गण्डकीमा पौडेल पक्षका आधा दर्जन नेताले सभापतिमा दाबी गरेका थिए । तर पौडेल र महामन्त्री शशांक कोइरालाको रोजाइमा शर्मा परे ।

पौडेल र कोइराले शर्मालाई गण्डकी प्रदेश सभापतिको साझा उम्मेदवार बनाए । काँग्रेसको केन्द्रीय सदस्य समेत रहेका देउवा पक्षीय अर्जुन जोशीलाई शर्माले पराजित गरे । यसपटक गण्डकीमा देउवा पक्षको उपस्थिति बलियो हुँदाका बाबजुद पनि शर्माले गण्डकी प्रदेश काँग्रेस सभापतिमा बाजी मारे ।

अमरसिंह पुन मगर (लुम्बिनी प्रदेश)

लुम्बिनीको प्रदेश सभापतिमा निर्वाचित अमरसिंह पुन मगर नेपाली काँग्रेस रोल्पाको पूर्वकोषाध्यक्ष एवं निवर्तमान जिल्ला सभापति हुन् । उनी काँग्रेसका महासमिति सदस्यसमेत हुन् । ०७० सालमा भएको दोस्रो संविधान सभामा उनी समानुपातिक सभासद भएका थिए । त्यसबेला उनले सिंचाई राज्यमन्त्रीको जिम्मेवारी पनि निभाए । ठेकेदार पृष्ठभूमिबाट राजनीतिमा आएका पुनले एसएलसीसम्मको अध्ययन गरेका छन् ।

माओवादीको उद्गम थलो मानिने रोल्पाबाट काँग्रेसको नेतृत्व गरेका पुन लुम्बिनी प्रदेशका काँग्रेसका पुराना नेता मानिन्छन् । पौडेल पक्षका चर्चित जिल्ला सभापति मध्येका उनी भरत शाहलाई पराजित गरेर लुम्बिनी प्रदेशको पहिलो सभापति बन्न सफल भएका छन् ।

ललितजंग शाही (कर्णाली प्रदेश)

कर्णाली प्रदेश कमिटीका सभापति ललितजंग शाहीले बीपी कोइरालाबाट २०३६ साल माघ ३० गते काँग्रेसको क्रियाशील सदस्यता लिएका हुन् । काँग्रेस प्रतिबन्धित हुँदा उनी जुम्लामा काँग्रेसका सचिव भए । ०३६ सालमा भएको जनमतसंग्रहमा बहुदलको प्रचारमा उनी कालिकोट इञ्चार्ज भए ।

०४९ सालबाट ०५३ सालसम्म नेपाली काँग्रेस जुम्लाको कार्यवाहक सभापति भए । त्यसपछि उनी निरन्तर जोस काँग्रेस महाधिवेशन र महासमिति सदस्य थिए । ०७० सालमा भएको दोस्रो संविधानसभाको चुनावमा नेपाली काँग्रेसको उम्मेदवारका रुपमा जुम्लाबाट सांसद निर्वाचित भए ।

त्यतिबेला निर्वाचनको इतिहासमा जुम्लाबाट काँग्रेसले पहिलोपटक चुनाव जितेको थियो । २०१५ सालदेखि अहिलेसम्म जुम्लाबाट चुनाव जित्ने उनी एक मात्र काँग्रेसी नेता हुन् । नेपाली काँग्रेसको पहिलो कर्णाली प्रदेश सभापति बन्न सफल भएका छन् । स्वअध्ययन गरेका शाही राजनीतिमा जोखिम उठाउन सक्ने नेतामा पर्छ । नेपाल रेडक्रस सोसाइटीमा लामो समय नेतृत्वदायी भूमिका खेलेका थिए ।

लामो समय वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा रहेका शाही ६–७ महिना मात्र देउवा समूहमा जोडिएका थिए । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको रोजाइमा परेपछि शाहीलाई कर्णाली प्रदेशको पहिलो काँग्रेस सभापति बन्ने भाग्य खुलेको हो ।

सभापति देउवाले नेता राजीवविक्रम शाहलाई प्रदेश सभापति बनाउन चाहे पनि खड्काले शाहीको पक्षमा अड्डी थिए । खड्का दाहिने भएपछि उनले पौडेल पक्षीय चर्चित युवा नेता भुपेन्द्रजंग शाहीलाई पराजित गरे ।

बीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश)

वीरबहादुर बलायर विद्यार्थी राजनीतिमा चर्चित नाम हो । पञ्चायतकालमा ‘पञ्चायत’ भन्ने बिषयको जाँचमा सोधिएका प्रश्नको पञ्चायत बिरोधी उत्तर दिँदा उनलाई शिक्षकहरुले स्पष्टीकरण सोधेका थिए । पञ्चायतविरोधी चेत राख्ने बलायर काँग्रेस निकट नेविसंघमा आबद्ध भए । डोटीको सीताराम उच्च माध्यमिक विद्यालयबाट २०३३ सालबाट बलायरको राजनीति यात्रा सुरु भए ।

सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरमा उनी स्ववियु सदस्य भएका थिए । महेन्द्रनगरबाट आइएस्सी गरेर उच्च शिक्षा हासिल गर्न २०३६ सालतिर काठमाडौं आएपछि बलायरले राजनीतिक उचाइ लिन थाले । ४ वर्ष बन्दी जीवन बिताएका बलायरले ०४६ सालको जनआन्दोलनमा थप चर्चा कमाए । त्यसपछि उनी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नेविसंघ अध्यक्ष भए ।

त्रिवि नेविसंघ अध्यक्ष हुँदा २०४९ सालमा त्रिविमा स्ववियु सभापति पदमा लडेका थिए तर पराजित भए । त्यसपछि बलायरलाई नेविसंघ अध्यक्ष बन्ने अवसर मिलेन । ०५६ मा विराटनगरमा आयोजित नेविसंघको महाधिवेशनमा बलायरले सभापतिमा उम्मेदवारी घोषणा गरे पनि गोविन्द भट्टराईलाई अध्यक्ष बनाइयो ।

बलायर काँग्रेसका जुझारु नेता मानिन्छन् । काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ०५१ मा भएको मध्यावधिमा कृष्णप्रसाद भट्टराईलाई हराउन अन्तरघात गरेको भन्दै पार्टी कार्यालयमा बलायरले गिरिजाको गाडीमाथि चढेर नाराबाजी गरेका थिए । अन्तरघात गरेर किसुनजीलाई हराएको भन्दै बलायरले बानेश्वरमा गिरिजाको तस्वीरमा कालोमोसो समेत दलेका थिए ।

लडाकु स्वभावका बलायर २०४६ सालमा लौहपुरुष गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा जनआन्दोलनको घोषणासभाको सुरक्षा संयोजक थिए । पार्टीका नेताहरुका साथै विदेशबाट आएका अतिथिको सुरक्षा र जनआन्दोलनमा युवाहरुलाई परिचालनको अग्रमोर्चामा थिए बलायर । विद्यार्थी राजनीतिपछि उनी गृह जिल्लाबाट पार्टी राजनीतिमा छिरे । उनी नेपाली काँग्रेस डोटीको पूर्वसभापतिसमेत हुन् । ०६४ मा संसदीय राजनीतिको यात्रा थालेका बलायरले चुनाव जित्न सकेनन् ।

तर, ०७० को संविधानसभा निर्वाचनमा उनी डोटीको तत्कालीन क्षेत्र नम्बर १ बाट निर्वाचित भए । त्यसपछि उनी देउवा नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्रीसमेत बने । १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य जितेका बलायर पार्टीको निर्माण व्यवसायी समन्वय विभागका प्रमुख समेत रहेका छन् । गणितमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका बलायर हक्की स्वाभावका नेताका रुपमा परिचित छन् ।

यतिबेला बलायरले सुदूरपश्चिमको देउवा समूहमा सर्वस्वीकार्य नेता बन्ने अवसर पाए । देउवा पक्षबाट सुदूरपश्चिममा प्रदेश सभापतिका लागि आधा दर्जन नेता आकांक्षी थिए । तर सबैले बलायर बाहेकलाई नछोड्न अड्डी कसे ।

अनि नेता एनपी साउद र रमेश लेखकले बलायरको नाम अगाडि सारे । सभापतिका दाबेदार नेताहरु उनको पदाधिकारी बस्न तयार भए । बलायरविरुद्ध पौडेल पक्षले पुराना नेता नारायणदत्त मिश्रलाई खडा गरेको थियो । देउवाको एकछत्र उपस्थिति रहेको सुदूरपश्चिममा मिश्रको उम्मेदवार राजनीतिक सन्देशमा सीमित भयो । बलायर भारी मतान्तरले सुदूरपश्चिम प्रदेशको पहिलो सभापति हुने सफल भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप