शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओमिक्रोन भेरियन्टको निगरानीका लागि के गर्दैछ सरकार ?

सोमबार, २० मङ्सिर २०७८, २० : ५२
सोमबार, २० मङ्सिर २०७८

नेपालमा पहिलो पटक कोरोनाभाइरस (कोभिड–१९) नयाँ भेरियन्ट दुई जनामा पुष्टि भएको छ । ओमिक्रोन भेरियन्ट पुष्टि हुने दुवै जनाले कोरोनाविरुद्धको खोप लगाएका थिए । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ ।

नयाँ भेरियन्ट सङ्क्रामक रहेको बताइएको छ । त्यसैले नेपाल अझै कोरोनाविरुद्धको खोपको पहुँचमा नपुगेका मानिसमा सङ्क्रमणको जोखिम बढेको जनस्वास्थ्यविद्हरू बताउँछन् । नेपालमा पूर्ण रूपमा बालबालिका खोपको पहुँचमा नपुगेकाले उनीहरू सङ्क्रमणको जोखिममा पर्न सक्ने भाइरोलोजिस्ट डा. लुना भट्ट बताउँछिन् । 

उनी भन्छिन्, कोरोनाविरुद्धको खोप लगाएकाहरू नै सङ्क्रमित भइरहेको अवस्था छ । नेपालमा पूर्ण जनसङ्ख्याले कोरोनाविरुद्धको खोप लगाएका छैन । अर्को तिर खोप लगाएको ६ महिना कटिसकेको अवस्था छ भने कोरोना सङ्क्रमित भई निको भएकाको एन्टीबडी घट्दै गएको छ । त्यसैले सावधानी नअपनाएमा नयाँ भेरियन्टबाट सङ्क्रमणको जोखिम छ । नेपालमा ५० लाखभन्दा धेरै बालबालिका कोरोनाविरुद्धको खोपको पहुँच पुगेको छैन । त्यसैले खोप नलगाएका बालबालिका नयाँ भेरियन्टको जोखिममा पर्न सक्ने  डा. भट्टले आंशका व्यक्त गरिन् ।  

बालबालिकालाई खोप नदिएका युरोपियन मुलुकहरूमा अन्य उमेर समूहकाभन्दा बालबालिका बढी अस्पताल भर्ना भएको पाइएकाले सबैलाई सज हुन उनको सुझाव छ । ओमिक्रोन भेरियन्ट सङ्क्रामक भनिए पनि घातकताको विषय अध्ययन भइरहेकोले यो भाइरस सङ्क्रामक हुँदा स्वास्थ्यमा जटिल समस्या ल्याउँछ भनेर भन्न तत्काल भनिहाल्ने अवस्था नरहेको उनको ठम्याइ छ ।  

 उत्परिवर्तन भइरहने भाइरसले हाल लगाइरहेका खोपका लागि चुनौती थप्दै गएको उनले सुनाइन् । यद्यपि खोपको प्रभावकारिताको विषयमा पनि अहिले भन्ने सक्ने अवस्था छैन । तर, स्पाइक प्रोटिनमा म्युटेसन भएकाले प्रभावकारितामा कमी आउन सक्छ भन्ने आशङ्का गरिएको उनले सुनाइनन् । नयाँ भेरियन्टको जोखिम बढ्दै गएकाले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका दिर्घरोगीसँगै फ्रन्टलाइनरलाई तत्काल तेस्रो अतिरिक्त मात्राको खोपको अनिवार्य भएको उनको भनाइ छ ।

ओमिक्रोन भेरियन्ट हालसम्म उत्परिवर्तन भएका भेरियन्टमध्ये सबैभन्दा बढी उत्परिवर्तन भएको अध्ययनहरूले देखाएको छ । त्यसैले ओमिक्रोन भेरियन्ट सङ्क्रामक रहेको विज्ञहरु बताउँछन् ।

​नयाँ भेरियन्टसँग नतर्सीकन सर्तक हुन आवश्यक रहेको उनले बताइन्  । ‘यो भेरियन्ट पुष्टि भएको छोटो अवधिमा धेरै देशमा देखापरेको छ,’ उनले भनिन्, ‘यसले कुन उमेर समूहका व्यक्तिमा कस्तो समस्या देखाउँछ भन्ने जानकारी छैन, त्यसैले सावधानी अपनाउनुको विकल्प छैन ।’

 यस्तै, कोरोना सङ्क्रमणको जोखिम कायम रहेकाले पूर्ण रूपमा सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारी आग्रह गरे । उनले बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइसकेको र अन्य बालबालिकाका लागि कोरोनाविरुद्धको खोप छिट्टै आउने बताए । नेपालमा ओमिक्रोन भेरियन्ट सङ्क्रमण पुष्टि भए पनि यसको घातकता र सङ्क्रामक बारे अध्ययनबाट अधिकारिक कुराहरू नआएकाले आफ्नो ठाउँमा सबैलाई सावधानी अपनाउन उनको आग्रह छ । 

यता  विश्व स्वास्थ्य संगठनले प्रारम्भिक आँकलनमा दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको जनाएको छ । विश्वका धेरै देशहरूमा यो भेरियन्ट फैलिसकेको छ । यद्यपि भाइरस सर्ने दर र सङ्क्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यहरूको खोज भइरहेको छ । 

सरकारले यसरी अपनाउँदै छ सावधानी

सरकारले अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको पिसिआर नेगटिभ रिपोर्ट अनिवार्य गरेको छ । एन्टिजेन परीक्षणमा पोजिटिभ रिपोर्ट आएको खण्डमा नमुना सङ्कलन गरी पिसिआर गर्ने र शङ्कास्पद नमुनाहरूको जिन सिक्वेन्सिङ गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.अधिकारी बताउँछन् । यससँगै नेपालले ओमिक्रोन भेरियन्ट निगरानीका लागि     सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंगको कार्यलाई थप प्रभावकारी बनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोभिड– १९ का अरू भेरियन्ट जस्तै ओमिक्रोन भेरियन्टको सङ्क्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरूको पालना गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ । जस्तै मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्न, भिडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने आग्रह गरेको छ ।  यस्तै, कोरोना सङ्क्रमणबाट जोगिन खोपको प्रयोग महत्त्वपूर्ण हुने भएकोले खोप अभियानमा सहभागी हुन समेत आह्वान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप