नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

नेपालमा पहिलो पटक कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै दक्षिण अफ्रिकाबाट आएका दुई जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो ।
नयाँ भेरियन्ट स‌ंकमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ । ओमिक्रोन भेरियन्ट सङ्क्रमण भएको दुवैजनाले कोरोनाविरुद्धको खोप लगाएका थिए ।
नयाँ भेरियन्ट पुष्टि भएका देशहरू हुँदै ६६ वर्षीय विदेशी नागरिक मङ्सिर ३ गते नेपाल प्रवेश गर्दा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । तर, उनीसँगै सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई मङ्सिर ७ गते कोरोना सङ्क्रमणको लक्षण देखिएपछि परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको हो ।
मङ्सिर १९ गते आइतबार जिन सिक्वेन्सिङ गर्दा उनीहरूमा नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । यस्तै उनीहरूको सम्पर्कमा आएका ६६ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा सबैको नतिजा नेगेटिभ रहेको स्वास्थ्य मन्त्रालयको भनाई छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘अहिले पछिल्लो समय नयाँ भेरियन्टका रूपमा ओमिक्रोन देखिएको छ । त्यो देखिएको भेरियन्ट अहिलेसम्म ३५ वटा देशहरूमा ५७४ जनामा पुष्टि भएको छ । यिनै कुराहरूलाई मध्यनजर गरेर नेपाल विदेशबाट आउने मानिसहरूमा स्वास्थ्य अवस्था गम्भीर हुनसक्ने, उहाँहरूले अरू व्यक्तिलाई सार्न सक्ने कुरालाई मध्यनजर गरेर हामीले निगरानी बढाएका छौँ । पछिल्लो समय विदेशबाट आउने व्यक्तिहरूलाई क्वारेन्टाइनको कुराहरू र टेस्ट गर्ने कुराहरू, पोजेटिभ आए त्यसको सिक्वेन्सिङ गर्ने कामहरू बढाएका छौँ । पछिल्लो समय विदेशबाट आउनु भएका दुई जना नागरिकहरू जसलाई शङ्का लागेर परीक्षण गर्न हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएका थियौँ । जसमा १९ गते राती कोरोना सङ्क्रमण पुष्टि भयो । दुई जना विदेशी नागरिकहरूमा ओमिक्रोन नयाँ भेरियन्ट पुष्टि भएको हो । यो पहिलो सङ्क्रमण हो । उहाँहरूको स्वास्थ्य अवस्था सामान्य छ । उहाँहरूमा कुनै लक्षणहरू पनि छैन । उहाँहरू स्वास्थ्यकर्मीहरूको निगरानीमा हुनुहुन्छ । उहाँहरूको सम्पर्कमा आउनुभएका व्यक्तिहरू खोजतलास गरेर उहाँहरूलाई छुट्याएर राखेका छौँ । कनट्याक्ट ट्रेसिङ गरेर सबैको परीक्षण गर्दा ६६ जना सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’
सहप्रवक्ता अधिकारीले सरकारले विभिन्न नाकाहरूमा तीव्रताका साथ निगरानी बढाएको बताए । उनले यो भेरियन्टको लक्षण र असर पहिलेको भाइरससरह नै भएको बताए । सहप्रवक्ता अधिकारीले यसबाट बच्नका लागि मास्क लगाउने, सरसफाइमा ध्यान दिने, हात धुने काम गर्नुपर्ने बताए । उनले यसबाट जनस्वास्थ्यको सुरक्षाका लागि सरकारले खोपको व्यवस्थापन, स्वास्थ्यका मापदण्डहरूमा केन्द्रित भएको र आवश्यक अस्पताल, शय्या र भेन्टिलेटर आदिको व्यवस्था पनि गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बम राखेको धम्कीपछि रोम डाइभर्ट भयो दिल्ली आइरहेको अमेरिकी विमान
-
फिल्म ‘द्रौपदी’ लाई विशेष चलचित्र अवार्ड
-
सिनियर इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी
-
६२० प्यालेस्टिनी कैदीहरूको रिहाइ नहुँदासम्म हमासले रोक्यो वार्ता
-
नेपाल बैङ्कले बोलायो साधारणसभा, तीन सञ्चालक निर्वाचन गर्ने एजेन्डा
-
सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन : सांसद चन्द