शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाघ गन्न तीन करोड ७० लाख रुपैयाँ खर्चिदै सरकार

आइतबार, १९ मङ्सिर २०७८, २२ : १९
आइतबार, १९ मङ्सिर २०७८

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि थालेको बाघ गणनामा तीन करोड ७० लाख रुपैयाँ खर्च गर्दैछ । बाघ गन्न खटिएका गणकहरूलाई प्रतिव्यक्ति १० लाख रुपैयाँबराबर बीमा गरिएको विभागले जानकारी दिएको छ ।

‘बाघ गणना सकिँदासम्म जम्माजम्मी तीन करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ,’ विभागका सूचना अधिकारी वेदकुमार ढकालले भने, ‘गणनामा हुने खर्चमध्ये नेपाल सरकारले ८२ लाख, विश्व वन्यजन्तु कोष र जुलोजिक सोसाइटी अफ लण्डनले एक÷एक करोड र बाँकी रकम राष्ट्रिय प्रकृति संरक्षण कोषले ब्यहोर्नेछ ।’

क्यामेरा ट्रयापिङ र अकुपेन्सी सर्भे अपनाएर हुने पाटेबाघ गणनामा विभागले क्यामेरा ट्रयाप, सन्टो कम्पास, रेञ्ज फाइन्डर, जीपीएस र रेकर्ड फर्म लगायत सामग्री प्रयोग गर्दैछ । नेपालमा सन् १९९५ मा गरिएको गणनामा ९८ वटा पाटेबाघ फेला पारिएको थियो ।

सन् २०१० मा बाघ पाइने देशका कार्यकारी प्रमुखहरूले सन् २०२२ सम्म यसको संख्या दोब्बर पार्ने प्रतिबद्धता जनाएका थिए । सन् २०१८ मा नेपालमा २३५ वटा पाटेबाघ फेला पारिएको थियो । यो पटक गणना गर्दा २५० वटा बाघ भेटिए नेपालले राखेको यससम्बन्धी लक्ष्य पूरा हुनेछ ।

नेपालमा बाघको बीचरण रहेको क्षेत्रलाई चितवन–पर्सा कम्प्लेक्स, बाँके–बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा क्षेत्र गरी तीनवटा कम्प्लेक्सहरूमा विभाजन गरिएको छ । पूर्वमा नारायणी नदीदेखि पश्चिममा नारायणी नदी पूर्व नवलपुरको वन क्षेत्रसम्मलाई चितवन–पर्सा कम्पलेक्स मानी सोहीअनुसार नक्साङ्कन गरिएको छ ।

​चितवन–पर्सा कम्प्लेक्सलाई तीनवटा ब्लकमा बाँडिएको छ । पहिलो ब्लकमा टिकौली सौराहाभन्दा पश्चिमको क्षेत्र, दोस्रो ब्लकमा सौराहादेखि चुरियामाई सम्मको क्षेत्र तथा माडी क्षेत्र, तेस्रो ब्लक्मा चुरियामाई देखि बाग्मती नदी सम्मको क्षेत्रको सर्वेक्षण हुनेछ । 

पहिलो दोस्रो तथा तेस्रो ब्लकमा क्रमश २८७, ३१० र २९८ वटा ग्रीडहरू रहेका विभागले जनाएको छ । प्रत्येक ग्रिडभित्र बाघले प्रयोग गर्ने क्षेत्रहरू हेरी एक जोडी स्वचालित क्यामेराहरू जडान गरिने छ । पहिलो ब्लकमा १५ दिन सम्म क्यामेराहरू रखिनेछ । त्यसपछि सोही क्यामेराहरू उठाइ क्रमशः १५ दिनका दरले दोस्रो र तेस्रो ब्लकमा राखिनेछ । ब्लकमा सम्पूर्ण क्यामेराहरू राखिसकेपछि मात्र दिन गणना हुनेछ । 

बाघ सर्वेक्षण कार्यमा चितवन तथा पर्सा राष्ट्रिय निकुञ्जका प्राविधिक कर्मचारी, डिभिजन वन कार्यालयका कर्मचारीहरू, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक, वन्यजन्तु विज्ञ, नेपाली सेना, मध्यवर्ती क्षेत्र तथा स्थानीय समुदाय, संरक्षण सहयोगी संस्थाका कर्मचारी एवं स्वयंसेवकहरू संलग्न छन् ।सर्वेक्षणको क्रममा चितवन–पर्सा कम्प्लेक्समा सात, बाँके–बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा क्षेत्रमा तीन वटाका दरले हात्तीहरू प्रयोग हुनेछ । 

विभागले चितवन–पर्सा कम्प्लेक्समा परिचालित हुने १०६ जना प्राविधिकहरूलाई यही मंसिर १७ र १८ गते चितवन राष्ट्रिय निकुञ्जको सौराहामा प्रयोगात्मक अभ्यास सहितको तालिम दिएको र बाँके बर्दिया कम्प्लेक्समा छुट्टै तालिमको आयोजना हुने जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप