ad
x
सन्दर्भ बाघ गणना

पाटेबाघको सङ्ख्या किन दोब्बर बढाउन खोजिँदैछ ?

पहाडतिर उक्लँदैछ पाटेबाघ ?

person explore access_timeमंसिर १९, २०७८ chat_bubble_outline0

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज (आइतबार) देखि पाटेबाघ (रोयल बंगाल टाइगर) गणना थालेको छ । यो पटक गणना गर्दा नेपालमा बाघको सङ्ख्या २५० पुग्ने अपेक्षा सरकारले राखेको छ, जुन सन् २००९ मा फेला पारिएकाभन्दा दोब्बर हुन आउँछ । सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर पार्न सरकारले अन्तर्राष्ट्रिय प्रतिबद्धता नै गरेको छ । 


सरकारले नेपालमा पाटेबाघको सङ्ख्या किन दोब्बर बनाउँदैछ त ? यसको प्रमुख कारण हो – बिरालो प्रजातिको सबैभन्दा ठूलो यो सुन्दर प्राणीलाई लोप हुनबाट बचाउनु । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) अहिले विश्वका ३८ हजार ५०० जैविक प्रजाति विलुप्त हुने खतरामा छ । नेपालसहित, भारत, भुटान र बंगलादेशमा पाइने पाटेबाघ पनि यही खतराको सूची अर्थात् रेड लिस्टमा छ । 



सन् १९१० ताका विश्वभर बाघको सङ्ख्या एक लाख हाराहारीमा रहेको अनुमान गरिन्छ । सन् २०१० मा यो सङ्ख्या तीन हजार २०० भन्दा तल झरिसकेको थियो । निरन्तर घट्दै बाघ विलुप्त हुने जोखिम बढेपछि सन् २०१० मा रुसको पिटर्सवर्ग शहरमा एक सम्मेलन भएको थियो । सो सम्मेलनमार्फत बाघ पाइने देशका कार्यकारी प्रमुखहरूले सन् २०२२ सम्म आफ्नो देशमा दोब्बर पार्ने र विश्वभर बाघको सङ्ख्या ७००० पुर्‍याउने लक्ष्यसहित प्रतिबद्धता जनाएका थिए । सो सम्मेलनमा नेपाल पनि सहभागी थियो । 



त्यसैकारण, आजबाट थालिएको गणना सम्पन्न भएपश्चात आउने नतिजाले बाघ संरक्षणमा नेपालले गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा हुने आशा छ । नेपालमा पाटेबाघ पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइन्छ । नेपालको तराइ र चुरे क्षेत्र नै पाटेबाघको प्रमुख वासस्थान भएको, तर कहिलेकाहीँ मध्य र उच्च पहाडमा पनि बाटेबाघ पुग्ने गरेको बाघबारे विद्यावारिधि गरेका डा. कञ्चन थापाले रातोपाटीलाई जानकारी दिए । तराइ क्षेत्रमा भूउपयोगमा परिवर्तन आउँदा वासस्थान अवस्था २० वर्ष अघिको जस्तो नभएकाले पहाडतिर पनि पाटेबाघ पुगेको उनको भनाइ छ ।



आहारा प्रजाति पहाडका तुलनामा तराइ क्षेत्रमै बढी भएकाले र एक सातामा एक वयस्क पाटेबाघलाई कम्तीमा ७० किलोग्राम आहार आवश्यक पर्ने भएकाले पाटेबाघको मुख्य वासस्थान तराइ नै रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी वेदकुमार ढकालले बताए । 





पहाडतिर उक्लँदैछ पाटेबाघ ?



बाघ विशेषज्ञ डा. थापा नेपालको पहाडी क्षेत्रमा पाटेबाघको स्थायी वासस्थान छ कि छैन भन्नेबारे यकिन गर्न नसकिने बताउँछन् । बाघका लागि पर्याप्त पानी र उपयुक्त वासस्थान आवश्यक पर्ने र त्यो तराइ तथा चुरे क्षेत्रमै रहेकाले पहाडमा स्थायी वासस्थान बनाउने सम्भावना कम रहेको उनको भनाइ छ । आमा (बघिनी)बाट छुट्टिएको बाघले आफ्नो वासस्थानका लागि छुट्टै क्षेत्र (टेरिटोरी) बनाउने शिलशिलामा आक्कलझुक्कल पहाडतिर पुग्नसक्ने उनले जानकारी दिए । 



भुटानमा भने अधिकांश बाघ मध्यपहाडी क्षेत्रमै पाइने गरेको छ । भुटानमा ४००० र भारतमा ३६०० मिटरको उचाइमा पनि पाटेबाघ पुगेको रेकर्ड छ । नेपालको डडेलधुरा महाभारत क्षेत्रमा २०७६ चैतताका २५०० मिटर उचाइमा पाटेबाघ भेटिएको थियो । इलामको चौपाते जंगल क्षेत्र (३१६५ मिटर) मा पनि २०७७ साल मङ्सिर ताका पाटेबाघ भेटिएको थियो । पछिल्लो दशकमा सङ्ख्या बढिरहेको निकुञ्जलगायत सीमित क्षेत्र मात्रै वासस्थान भएकाले वैकल्पिक वासस्थान खोजीमा पाटेबाघ पहाडतिर देखिइन थालेको विज्ञहरू बताउँछन् ।

‘पाटेबाघ पहाडतिर नजाने या नबस्ने भन्ने हुँदैन, यो प्राणी चिसो हावापानीमा पनि अनुकूलन हुनसक्छ, नदी र जङ्गलमा मानव अतिक्रमण हुनुअघि काठमाडौँ उपत्यकामै बाघ पाइने गरेको पनि सुनेका छौँ,’ बाघविज्ञ डा. झमक कार्कीले भने, ‘पाटेबाघ पहाडतिर उक्लनुमा विभिन्न कारण हुन्छन्, भाले बाघको नेचर (स्वभाव) नयाँ वासस्थान खोज्दै जाने हुन्छ, उपयुक्त वासस्थान भेटिए पछि पोथी पनि जान्छन् ।’ 

डा. कार्कीका अनुसार पैतृक सम्पत्ति बाँडफाँट गर्ने मानिसकै जस्तो स्वभाव बाघमा हुन्छ । बाघका हकमा पैतृक सम्पत्ति वासस्थान नै हो । भाले डमरु वयस्क भएपछि उसले कि बाबुलाई पराजित गरेर वासस्थान कब्जामा लिनुपर्छ, अन्यथा नयाँ वासस्थान खोज्नुपर्छ । लड्न नसक्ने वा नचाहने भएमा वयस्क बाघले नयाँ वासस्थान खोजीमा निकै लामो दूरी पनि छिचोल्ने उनी बताउँछन् ।

‘बाघलाई पानी, आहार र जंगल चाहिन्छ । वरपर जंगल भएको खोलाको किनार हुँदै बाघ पहाडतिर पनि उक्लनसक्छ, महेन्द्रनगरदेखि चुरिया क्षेत्र हुँदै डडेलधुरासम्म यही अनुकूल अवस्थित भएकाले त्यहाँ बाघ भेटिएको हो । इलामको चौडपाते जङ्गलमा पनि भारतको सिलिगुढी वा सिंहलिलातिरबाट पाटेबाघ पुग्न सजिलो छ ।’ पहिले पहाडमा बाघ पाइने गरेको, तर पछि मानवबस्ती बढ्दै गएपछि बाघ तराईमै केन्द्रित भएको हुनसक्ने डा. कार्कीको भनाइ छ । बँदेल, घोरल र रतुवाजस्ता आहार प्रजाति रहेकाले पनि बाघ फाट्टफुट्ट पहाडतिर उक्लिने गरेको उनी बताउँछन् ।

चितुवा र बाघमा अलमल

पहाडी क्षेत्रका अधिकांश मानिसहरू चितुवा र बाघबारे अलमलमा पर्ने गरेका छन् । चरन या खोर÷गोठमा पशुवस्तुलाई बिरालो प्रजातिका जनावरले मारिदिए ‘बाघले मारेको’ दाबी हुन्छ । तर, पहाडी क्षेत्रको त्यो शिकारी जनावर बाघ नभई चितुवा (कमन लियोपर्ड) हो । पहाडमा पुगेको पाटेबाघले नै घरपालुवा जनावर मारेको प्रमाण अहिलेसम्म फेला पारिएको छैन ।

चितुवासहित पहाडी र हिमाली क्षेत्रमा बिरालो प्रजातिका हिउँ चितुवा (स्नो लियोपर्ड), चरीबाघ (लियोपर्ड क्याट), ध्वाँसे चितुवा (क्लाउडेड लियोपर्ड), वन बिरालो र सुनौलो बिरालो पनि पाइन्छ । हड्डीबाघ अर्था हुँडार (स्ट्रीप्ड हायना) भने बिरालो प्रजातिमा नपर्ने डा. कञ्चन थापा बताउँछन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।