शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

राजनीतिक पथभ्रष्टतालाई सही बाटोमा ल्याउने नेतृत्व चुनौँ : केपी ओली

शनिबार, ११ मङ्सिर २०७८, १७ : ४९
शनिबार, ११ मङ्सिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अगाडि नयाँ प्रकारका चुनौती थपिएको बताउँदै राजनीतिक पथभ्रष्टतालाई सही बाटोमा ल्याउने नेतृत्व चयन गर्न आग्रह गरेका छन् । शनिवार चितवनको सौराहामा जारी पार्टीको १० औँ महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले महाधिवेशनबाट जनपरिचालनको काम र एमाले सकियो भन्नेहरूलाई एमालेको शक्ति देखाउनुपर्ने उद्देश्यमा पार्टी सफल भएको उल्लेख गरे । 

उनले भने–‘अहिले देश विशेष परिस्थितिबाट अघि बढिरहेका छौँ । हाम्रो भूमिका सत्तापक्षबाट प्रतिपक्षमा रहेको अवस्थामा रहेका छौँ । जनताबाट समर्थन प्राप्त नगरेका कारण हैन विरोधीबाट भएको जाल झेल षडयन्त्रबाट प्रतिपक्षमा पुगेका छौँ । प्रतिक्रियावादी षडयन्त्रका कारण यस ठाउँमा पुगेका छौँ । हाम्रा अगाडि नयाँ प्रकारका गम्भीर किसिमका चुनौती रहेका छन् ।’

उनले लोकतन्त्र प्राप्तिको संघर्षमा तानाशाहरुले गर्ने दमन स्वाभाविक भए पनि लोकतन्त्र ल्याइसकेपछि पनि अलोकतान्त्रिक कदम चालिएको र यो बहुतै खतरनाक कुरा भएको बताए । उनले शक्ति पृथकीकरणको सिद्धान्त, न्यायालयको गरिमा जोगाउनुपर्ने बताउँदै न्यायालयमा भएको विकृतिको असर लोकतन्त्रमा पर्ने कुरा  चिन्ताको विषय भएको बताए । 

उनले बन्द सत्रबाट विधान महाधिवेशनले पारित गरेका नीतिहरू कार्यान्वयन गर्दै देश बनाउनका लागि नेतृत्व गर्ने,  अन्तर्राष्ट्रिय समर्थन जुटाउने, आन्तरिक रूपमा जनतालाई सचेत, संगठित र परिचालित गर्दै राजनीतिक समस्याहरूको समाधान ठिक ढंगले दिँदै अगाडि बढ्ने नेतृत्व चयन हुने विश्वास व्यक्त गरे । 

उनले भने–‘राजनीतिक समस्याको समाधान नगरीकन यदि राजनीतिलाई बेथितिपूर्ण ढंगले चल्न दिइरहने हो भने हामीले गरेका उपलब्धिहरूलाई, हामीले गरेका प्रयासहरूलाई अवरुद्ध पारिँदो रहेछ भन्ने बुझ्नुपर्छ । विकासको सुशासनको पारदर्शीताको यस आन्दोलनलाई सही ढंगले अगाडि बढाउने हो भने हाम्रो महाधिवेशनले यी अभिभाराहरू बोकेर चुनौतीलाई पार गरेर राजनीतिक पथभ्रष्टतालाई सही बाटोमा ल्याउन सकोस् ।’ उनले अहिलेको अवस्थालाई ठिक ढंगले व्यवस्थापन गर्न सक्ने नेतृत्व चयन हुने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप