शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रावललाई खरेलको आग्रह : उम्मेदवारी दिने विषयलाई पुनर्विचार गर्नुहोस्

शनिबार, ११ मङ्सिर २०७८, १२ : १७
शनिबार, ११ मङ्सिर २०७८

नेकपा एमाले नेता अग्नि खरेलले अर्का नेता भीम रावललाई पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने आफ्नो अडानमा पुनर्विचार गर्न आग्रह गरेका छन् । रातोपाटीसँग कुराकानी गर्दै नेता खरेलले पार्टीको १० औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन रावललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।

नेता खरेलले रातोपाटीसँग भने, ‘हिजो मात्र केन्द्रीय कमिटीको बैठकमा पार्टीको नेतृत्वमा आउन चाहने सबै साथीहरूलाई र नेतृत्वमा रहने सबैलाई एकताबद्ध गरेर सही सन्देश दिनुको साथसाथै यस महाधिवेशनलाई सहीरुपमा एकताको महाधिवेशन बनाउन केही कुराहरूमा संशोधन गर्नुपर्छ भनेर पार्टी अध्यक्ष केपी शर्मा ओली आफैले केही प्रस्ताव राख्नुभयो । सोही अनुसार केन्द्रीय समितिले विधान महाधिवेशनले पारितको विधानमा संशोधन गर्ने प्रस्ताव महाधिवेशनमा लाने निर्णय गरेको छ ।’ बैठकमा धेरै केन्द्रीय सदस्यहरूले महाधिवेशनमा नेतृत्व चयन सर्वसम्मत रूपमा गरेर लैजान आह्वान गरेको पनि खरेलले सुनाए ।

​‘अध्यक्ष ओलीले पनि यो कुरा महाधिवेशन प्रतिनिधिहरू समक्ष राख्ने र यस विषयमा तपाईंहरुले पनि साथ दिनुहोला भनेर भन्नुभयो,’ खरेलले भने । तर, भीम रावलले भने कुनै पनि हालतमा उम्मेदवारीबाट पछि नहट्ने बताउँदा यो महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन कठिन बनेको उनको भनाइ छ । ‘रावलजीले उम्मेदवारीबाट पछि हट्दिनँ भन्ने कुराहरू आइरहेको छ । वहाँको त्यो अधिकारलाई सम्मान नगर्ने कुरा हुँदैन,’ खरेलले भने, ‘तर आफ्नो अधिकारको प्रयोग पनि सुविचारित ढंगले गर्नुपर्छ ।’

उम्मेदवारी दिने कुरा घोषणा गर्न अघि पनि आफूले रावलसँग यो विषयमा हतार नगर्नुहोस् भनेर सुझाव दिएको स्मरण गर्दै उनले थपे, ‘वहाँ एउटा अप्ठ्यारो घडीबाट उक्लेर आउनु भएको नेता हो भन्ने कुरामा कुनै दुविधा छैन । तर महाधिवेशनबाट पार्टीलाई एकताबद्ध गराउने कुरामा वहाँले यो उम्मेदवारीबारे फेरि रिभ्यू गर्नुहुन्छ भन्ने विश्वास लिएको छु । महाधिवेशनमा देशभरबाट नेताकार्यकर्ताहरू आउनुभएको छ । कुनै नेताबाट वहाँहरूको अपेक्षामा अलिकति ठेस लाग्यो भने त्यो नेता नेता रहन सक्दैन । नेता कार्यकर्ताको भावनामा भावना चोट पुग्छ कि भनेर ख्याल गर्नैपर्छ । किनभने नेतृत्वमा रहने पनि सबै नेता हुनसक्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप