शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘चितवनमा एमाले नै पहिलो शक्ति, ३० जनामात्रै माधवतिर लागे’

चितवनलाई एमालेमय बनाउँछौँ : पार्वती रावल (भिडियोसहित)
सोमबार, ०६ मङ्सिर २०७८, २१ : १९
सोमबार, ०६ मङ्सिर २०७८

नेकपा एमालेले चितवनमा आफ्नो दसौँं राष्ट्रिय महाधिवेशन गर्ने भएपछि जिल्ला पार्टी कमिटीका नेताहरू उत्साहित भएका छन् । पार्टीको महाधिवेशन आफ्नै जिल्लामा हुन लागेका बेला चितवनका एमाले नेताहरूको व्यस्तता र दौडधूप पनि उत्तिकै बढेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका साथै कांग्रेसको पनि बलियो उपस्थिति रहेको चितवनमा एमालेले महाधिवेशन गर्न लागेपछि सिँगो राष्ट्रिय राजनीति गर्माएको छ । एमालेले चितवनमै महाधिवेशन गर्नुको रणनीतिक अर्थ रहेको कांग्रेस, माओवादी लगायतका दलको बुझाइ छ ।

अहिले चितवनमा एमालेको शक्ति कस्तो छ त ? अन्य दलसँग उनीहरूको सम्बन्ध कस्तो छ र महाधिवेशनका लागि के–कस्ता काम भइरहेका छन् ? यिनै सन्दर्भमा रातोपाटी संवाददाता शम्भु दंगाल र गणेश दुलालले नेकपा एमाले चितवन जिल्ला अध्यक्ष पार्वती रावलसँग कुराकानी गरेका छन् ।

कुराकानीका क्रममा हामीले चितवनमा एमाले विभाजनको असर कस्तो परेको छ र आगामी निर्वाचनमा यहाँको शक्ति सन्तुलन कस्तो होला भन्ने राजनीतिक विषयमा पनि रावलसँग चासो राखेका छौं । एमाले अध्यक्ष रावलले रातोपाटीसँग भनिन्, ‘चितवन देशको मध्य भागमा छ । चितवन सबै हिसावले चर्चामा छ ।’

प्रस्तुत छ, रावलसँगको कुराकानीको सम्पादित अंश–

चितवनको नारायणी नदी किनारमा तपाईंहरूले राष्ट्रिय महाधिवेशन गर्दै हुनुहुन्छ । अहिले के–के तयारी भइरहेको छ ?

नेकपा एमालेको १० औं ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ । चितवन ठाउँ छनौट गरिदिनु भएकोमा म पार्टी अध्यक्ष लगायत केन्द्रीय नेतृत्वप्रति हार्दिक आभार ज्ञापन गर्न चाहन्छु ।

चितवन सबै हिसावले चर्चामा रहन्छ । भौगोलिक सुगमता, विकास निर्माण, यहाँको राजनीतिक, सामरिक महत्व, पर्यटकीय गन्तव्यको हिसावले चितवन चर्चामा छ । यो देशको मध्य भागमा छ । चितवन सबै हिसावले केन्द्र बनिरहेको स्थितिमा अहिले नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन भइरहँदा यसले थप चर्चा बटुलिरहेको छ ।

हामीसँग अब थोरै समय मात्र बाँकी छ । मंसिर १० गते पवित्र नारायणी नदीको किनारमा एमालेको महाधिवेशन उद्घाटन सत्र हुँदैछ । करिब ५ लाखभन्दा बढी जनताको उपस्थितिमा पार्टीका श्रद्धेह अध्यक्ष केपी शर्मा ओलीबाट उदघाटन हुँदैछ । त्यसको तयारीको हामी तिव्र गतिमा छौं ।

मञ्च निर्माणका लागि केन्द्रीय टोली चितवन आउनुभएको छ । चितवन जिल्ला कमिटीले यहाँ आवश्यक स्थानीय स्रोत साधन, जनशक्ति व्यवस्थापन गरिरहेको छ । स्थानीय पार्टी कार्यकर्ताको उपस्थितिमा कामको सुरुवात गरिसकेका छौं ।

कार्यक्रमस्थलको निर्माण तथा व्यवस्थापनको काम कसरी हुँदैछ ?

हामीले अहिले प्राविधिकरुपमा काम सुरु गरेका छौं । प्राविधिक टिमसहित बसेर यो मैदान र महाधिवेशनलाई कसरी व्यवस्थित गर्न सकिन्छ । यसको सौन्दर्य, मञ्च व्यवस्थापनदेखि लिएर हामी यहाँका स्थानीयसहित प्राविधिक टोली लिएर मैदान व्यवस्थापनको काममा जुटेका छौं ।

मुख्यतः यो ठाउँ सबै ठूला कार्यक्रम हुने गरेको नारायणी नदी किनारको मैदानलाई सम्याउने काम गरिरहेका छौं । वर्षा समयमा आएको बाढीका कारण यो मैदानमा केही खाल्डाखुल्डी परेको र यसलाई व्यवस्थित बनाउने, सौन्दर्य प्रदान गर्ने, मञ्च निर्माण गर्ने र सहभागीहरूलाई व्यवस्थापन गर्ने तयारीमा हामी जुटेका छौं ।

महाधिवेशनको तयारीका लागि जिल्ला पार्टी चितवनले के के गरिरहेको छ ?

मञ्च निर्माणका लागि केन्द्रीय टोली चितवन आउनुभएको छ । चितवन जिल्ला कमिटीले यहाँ आवश्यक स्थानीय स्रोत साधन, जनशक्ति व्यवस्थापन गरिरहेको छ । स्थानीय पार्टी कार्यकर्ताको उपस्थितिमा कामको सुरुवात गरिसकेका छौं । यहाँ आवश्यक सबै भौतिक पूर्वाधार, मानवीय जनशक्तिहरू केन्द्रीय टोलीको उपस्थितिमा उहाँहरूको निर्देशन र आवश्यकतामा आधारित भएर चितवन पार्टी कमिटीले व्यवस्थापन गर्ने गरी काम गरिहेको छ ।

अहिले करिव ३० जना वडाअध्यक्ष भन्दा तल्लो तहका सदस्यहरू छुट्टिएका छन् । हामीले जिल्लाका स्थानीय तहका प्रमुख/उपप्रमुखहरू कोही पनि जानुभएको छैन । उहाँहरू मूलधारमा हुनुहुन्छ ।

राजनीतिक रुपमा अहिले चितवन निकै चर्चामा छ । यहाँ अन्य पार्टी माओवादी केन्द्र र काँग्रेसको पनि राम्रो उपस्थिति छ । एमाले विभाजनको प्रभाव चाँहि कस्तो परेको छ ?

मैले सुरुवातमा पनि भनें, चितवन सबै हिसावले चर्चामा रहन्छ । राजनीतिक हिसावले पनि चर्चामा रहन्छ । हिजो हामी यहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लै लडेको हो । अरु दलहरू मोर्चा बनाएर चुनाव लडे । तर, एमाले एक्लै निर्वाचनमा प्रतिस्पर्धा गरिरहँदा पनि चितवनका जनताले एमालेलाई पहिलो पार्टीका रुपमा स्थापित गरेका हुन् ।

अहिले एमालेबाट केही समूह बाहिरिएको कुरा गर्नुभएको छ । चितवनमा स्थानीय तहमा ३१९ जना जनप्रतिनिधिहरू सूर्य ध्वजावाहक उम्मेदवार विजयी भएका थिए । अहिले करिव ३० जना वडाअध्यक्ष भन्दा तल्लो तहका सदस्यहरू छुट्टिएका छन् । हामीले जिल्लाका स्थानीय तहका प्रमुख/उपप्रमुखहरू कोही पनि जानुभएको छैन । उहाँहरू मूलधारमा हुनुहुन्छ । केही सदस्यहरू र केही वडा अध्यक्षहरू मात्र अहिले उतापट्टी जानुभएको छ । त्यही पनि कतिपय साथीहरू फेरि फर्कने मनस्थितिमा हामीसँग सम्पर्कमा हुनुहुन्छ । उहाँहरूले हामी मूलधारमा नै छौं भनिरहेको कुरा पनि आइसकेको छ ।

चितवनको राजनीतिमा खासै केही नेताहरू चाँहि अहिले ‘एस’तिर जोडिनुभएको छ । तर, समग्रमा हेर्दा चितवन एमालेमा त्यसको एकदमै न्यून प्रभाव मात्रै देखिन्छ ।

पार्टीको केन्द्रीय महाधिवेशन चितवनमा हुने भएपछि यहाँ एमालेको संगठन, मतदाताहरूलाई केही प्रभाव पार्छ कि ?

जरुर पार्छ । एउटा त नेकपा एमाले हिजो पनि चितवनमा ठूलो शक्ति, पहिलो शक्तिको रुपमा थियो । हाम्रो जनमत हिजोको स्थानीय तहको निर्वाचनले पनि प्रमाणित गरिसकेको कुरा हो । आम रुपमा यो कुरा सबैको बीचमा छ्याङै छ । यो महाधिवेशनको राजनीतिक हिसावले प्रभाव पार्छ । अर्को आर्थिक हिसावले । हामीले चितवनमा नै किन रोज्यौं भने यो पर्यटकीय गन्तव्यको हिसावले पनि एउटा महत्वपूर्ण जिल्ला हो ।

कोभिडका कारणले चितवनको पर्यटन व्यवसायी, होटल व्यवसायी अहिले मर्कामा परिरहेको हुनाले हामीले यो महाधिवेशन गरिरहँदा देशभरीबाट र विदेशबाट पनि ठुलो संख्यामा प्रतिनिधिका रुपमा, सहभागीका रुपमा र अतिथिका रुपमा यहाँ आउँदैछन् । एकैचोटि चितवनलाई संसारका विभिन्न देश र दशैभरि चिनाउने अवसर भएकाले हामीले यो बारेमा बहुपक्षीय (विकास निर्माण, राजनीति, पर्यटन) का रुपमा परिचित गराउन यो महाधिवेशन महत्वपूर्ण छ । हिजो पनि मानिसमा चितवन परिचित थियो भने यो महाधिवेशनले आफैं आएर अवलोकन गर्ने अवसर दिएको छ ।

हिजो पनि चितवनमा एमाले एउटा व्यवस्थित पार्टीको रुपमा निर्माण गरेका थियौं । यो महाधिवेशनमा हामी उपस्थित भइरहँदा हरेक जनताको घर–घरमा प्रचार गरेका छौं । हामीलाई केन्द्रले ७५ हजारजना यो महाधिवेशनको उद्घाटन सत्रमा सहभागी गराउने जिम्मेवारी दिइएको छ । तर, हामी १ लाख जनालाई सहभागी गराउने योजनामा छौं ।

हामीसँग २५ हजार पार्टी सदस्य छन् । एउटा पार्टी सदस्यले ४ जनाको जिम्मेवारी लिएर हामी एक लाख जनता चितवनबाट यो महाधिवेशनको उद्घाटन सत्रमा सहभागी गराउने हाम्रो योजना छ । हामीले सबै पालिकाहरूको बैठकहरू सम्पन्न गरेका छौं ।

जिल्ला कमिटीको बैठक सम्पन्न गरिसकेका छौं । हामीले योजना बनाएर तल्लो कमिटीलाई निर्देशन दिइसकेका छौं । पार्टीको वडा तथा जनवर्गीय संगठनको मिसन महाधिवेशनमा केन्द्रित भइसकेको छ ।

वास्तवमा महिलाहरू नेतृत्वमा आउने कुरा चुनौतिपूर्ण छ । नेतृत्व लिने विषय त्यसलाई कुशलता प्रदान गर्न कुरा अझ चुनौती छ । त्यो चुनौतीलाई अवसरका रुपमा परिणत गर्ने हिसावले मैले कामको जिम्मेवारीलाई पूरा गर्नेछु भन्ने हिसावले पनि अघि बढिरहेकी छु ।

स्थानीय तहको निर्वाचन पनि नजिकिँदैछ । अहिले एमाले एकातिर छ भने अन्य दल गठबन्धनमा छन् । चुनावमा त गठबन्धनले तपाईंहरूलाई गाह्रो पार्लान् नि ? गठबन्धन दलसँग सामना गर्न कतिको सक्षम हुनुहुन्छ ?

 २०७४ को स्थानीय तहको निर्वाचनमा पनि यहाँ अरु दलहरूको गठबन्धन  थियो । नेकपा एमाले एक्लै लडेर विजयी हासिल गर्दा पनि प्राप्त भएको नतिजा जनताको बीचमा चितवनवासीका बीचमा छर्लङ्गै छ । मैले यसबारे बताइरहनुपर्दैन । यो महाधिवेशनबाट हामी फर्की रहदाँ फेरि त्योभन्दा अझ सशक्तरुपमा पार्टीभित्रको आन्तरिक एकता, संगठनको मजवुतीकरण, व्यवस्थित सँंगसँगै महाधिवेशनबाट पाइने सन्देशले आउने दिनको तीनै तहको निर्वाचनमा हामीे बहुमतप्राप्त दल बन्छौं ।

चितवनमा एमाले हिजो पनि पहिलो पार्टी थियो । अहिले पनि छ र अब त्यसलाई थप बलियो बनाउने हिसावले हामीले जनमत प्राप्त गर्छौं भन्ने विश्वास लिएका छौं । हिजो रोकिएका हाम्रा योजनाहरू, हामीले अगाडि सारेका समृद्ध नेपाल सुखी नेपाली निर्माणको राष्ट्रिय आकांक्षा पूरा गर्न र अब आउने तीनै तहको निर्वाचनमा एमाले बहुमत प्राप्त गर्ने हिसावले संकल्पसहित अगाडि जान्छौं ।

एमालेमा महिला नेतृत्व कमै भइरहेको अवस्थामा तपाईंले चितवन जिल्लाको नेतृत्वको जिम्मेवारी पाउनुभएको छ । कति चुनौतिपूर्ण छ ?

एउटा कुरा, मैले एमालेको चितवनको नेतृत्व गर्ने महत्वपूर्ण अवसर पाइरहँदा गौरवको अनुभूति भइरहेको छ । सुरुवातबाटै म राजनीतिक अन्दोलनमा जोडिएर हरेक मोर्चाहरूको नेतृत्व गर्दै पार्टीको नेतृत्वमा आएकी हुँ र जनप्रतिनिधिको भूमिकामा पनि छु । यो महत्वपूर्ण जिम्मेवारीलाई मैले कुशलतापूर्वक पूरा गर्छु भन्ने मेरो आफ्नो संकल्प छ । कुनै हिसावले कमी कमजोरी नगरी काम गर्ने प्रयत्नमा छु ।

वास्तवमा महिलाहरू नेतृत्वमा आउने कुरा चुनौतिपूर्ण छ । नेतृत्व लिने विषय त्यसलाई कुशलता प्रदान गर्न कुरा अझ चुनौती छ । त्यो चुनौतिलाई अवसरका रुपमा परिणत गर्ने हिसावले मैले कामको जिम्मेवारीलाई पूरा गर्नेछु भन्ने हिसावले पनि अघि बढिरहेकी छु । त्यसका लागि अहिले यहाँ चितवनमा रहनुभएका सबै नेताहरूको मप्रति सहयोग, सद्भाव, ऐक्यवद्धता र उच्च स्तरको समझदारी छ । सबै नेताहरूको सहमति, सहकार्य र समन्वयले आएका चुनौति, जिम्मेवारी र समस्याहरूलाई हामीले सामुहिक रुपमा समाधान गर्ने गरेका छौं । हामी सामुहिक नेतृत्वमा विश्वास गर्छौं ।

अहिले जिल्ला कमिटीको अध्यक्षको भूमिकामा म भए पनि सबै नेता– कार्यकर्ताको एकतावद्ध साथ र सहयोगले नै यो जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्छु भन्ने विश्वास छ ।

हेर्नुहोस् भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप