शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लड्दै सभापति देउवा

सोमबार, ०६ मङ्सिर २०७८, ०८ : १८
सोमबार, ०६ मङ्सिर २०७८

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्ने भएका छन् । सभापति देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने भएको हुन् । देउवाले मन्जुरीनामा मार्फत उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने तयारी गरेको डडेल्धुराका जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साउदले रातोपाटीलाई जानकारी दिए । 

काँग्रेस विधानको धारा १५ को उपधारा १(ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ । साउदका अनुसार देउवालाई विगतमा पनि डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लडाएर ल्याउने गरिँदै आएको थियो ।

'हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूलाई जिल्लाबाट महाधिवेशन प्रतिनिधि लडाउछौं । उहाँ स्वतः महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । तर हामीले प्रत्येक महाधिवेशनमा  उहाँलाई जिल्लाबाटै पठाउने गरेका थियौं । भाउजू (देउवा पत्नी आरजु राणा)लाई पनि डडेल्धुराबाटै लडाउने भएका छौं,' उनले भने । 

यस्तै गोविन्द बोहोरा, नैनसिंह महर, रघुवीर भट्ट, जनक कलौनी लगायतका नेताहरु अधिवेशनको तयारीमा जुटेको साउदको भनाइ छ । उनले भने, 'डडेल्धुराको अधिवेशन उत्साहजनक रुपमा सम्पन्न हुँदैछ । डडेल्धुरा पुरै झिलिमिली भएको छ । जिल्ला अधिवेशनका लागि मान्छेहरु हिजै आइसकेका छन् । एउटा ऐतिहासिक पर्वका रुपमा अधिवेशन सम्पन्न गर्दै छौं ।'

डडेल्धुरामा आज जिल्ला अधिवेशन पनि हुँदै छ । साउदका अनुसार ११ बजे उम्मेदवारी दर्ता हुने छ भने एक बजेपछि मतदान सुरु हुने छ । यता वर्तमान सभापति कर्णबहादुर मल्ल समूहले भने जिल्लामा सबै तहको अधिवेशन बहिस्कार गरेको छ । मल्ल समूह मंसिर एक गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसनमा छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप