शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधामस्थित रुपैठामा मंगलबारसम्म थपियो निषेधाज्ञा

आइतबार, २८ कात्तिक २०७८, १९ : ३१
आइतबार, २८ कात्तिक २०७८

छठ पर्वका लागि पोखरीमा घाट निर्माणको विषयलाई लिएर भएको दुई समुदायबीचको विवादले उग्ररूप लिएपछि जनकपुरधामको वडा नम्बर २० स्थित देवपुरा रुपैठामा निषेधाज्ञा थप गरिएको छ । धनुषाको जनकपुरधाममा दुई समुदायबीच भएको विवादले झडपसम्मको रुप लिएपछि निषेधाज्ञालाई बढाइएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक विज्ञप्ति जारी गर्दै आइतबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० मा लगाइएको निषेधाज्ञालाई मंगलबार राति १० बजेसम्मको लागि बढाउने निर्णय गरेको जनाएका हुन् । देवपुरा रुपैठा स्थित तेलिया पोखरीमा अर्घ्य राख्नका लागि निर्माण गर्न लागेको घाटको विषयमा स्थानीय दुई समुदायबीच विवाद भएको थियो । सो विवादले शनिवार उग्ररूप लिएपछि स्थानीय प्रशासनले शनिवार दिउसो देखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । 

​तर आइतबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० का सदस्य महावीर महतोमाथि कुटपिट गरिएपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई मंगलबार राति १० बजेसम्मका लागि थप गरेको हो । स्थानीयवासीको कुटाइबाट गम्भीर घाइते भएका वडा सदस्य महतोको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको अस्पतालले जनाएको छ ।

प्रजिअ बास्तोलाले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै मंगलबार राति १० बजेसम्म निषेधाज्ञा बढाइएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय धनुषाले देवपुरा रुपैठास्थित पूर्वमा जलाद नदीको कली बाँध, पश्चिममा जनकपुर–जटही मार्ग दोबाटो, उत्तरमा हनुमान नगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप