शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा झडप : प्रजिअ भन्छन्, ‘प्रदर्शनमा घुसपैठ भयो, छानबिन हुँदैछ’

शनिबार, २७ कात्तिक २०७८, २१ : २२
शनिबार, २७ कात्तिक २०७८

धनुषाको जनकपुरधाममा शनिवार भएको प्रदर्शनमा साम्प्रदायिक सद्भाव भड्काउन घुसपैठ भएको त्यहाँका प्रमुख जिल्ला अधिकारीले दावी गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरामा झडप भएपछि निषेधाज्ञा लागु गरिएको छ । छठ पर्वको तयारी गर्दा रुपैठा स्थित पोखरीमा घाट बनाउने विषयमा विवाद शुरु भएको थियो । 

शनिवार हिन्दुबादी संघ–संगठनले मोटरसाइकलसहित प्रदर्शन गरेका थिए । शनिवारको प्रदर्शनमा घुसपैठ भएको र त्यसबारे छानबिन भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले रातोपाटीलाई बताए । प्रजिअ बास्तोलाले भने–‘स्थानीयभन्दा धेरै बाहिरका मानिस आएर प्रदर्शन गरेका छन्, प्रदर्शनमा घुसपैठ भएको देखिन्छ ।’ घुसपैठबारे सघन छानबिन भइरहेको प्रजिअ बास्तोलाले बताए । ‘मानिस कताबाट, कसरी आए भन्नेबारे अनुसन्धान गर्दैछौँ’ उनले रातोपाटीसँग भने । 

शनिबारको झडप रोक्न सशस्त्र प्रहरीले ५ राउण्ड र नेपाल प्रहरीले २७ राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता (डिएसपी) जितेन्द्र बस्नेतले बताए । झडपमा सशस्त्र प्रहरीका ५ जना, नेपाल प्रहरीका प्रहरी जवान रञ्जित कुमार राय र एकजना प्रदर्शनकारी घाइते भएका छन् । 

रुपैठास्थित पोखरीमा ४ वर्ष पहिले पनि विवाद भएपछि स्थानिय प्रशासनले हिन्दु र मुस्लिम समुदायले पूजा गर्नेगरी दुई भागमा विभाजन गरिदिएको थियो । सरकारी स्वामित्वको सो पोखरी नगरपालिकाले पनि ठेक्कामा लगाउँदै आएको थियो । तर, विवाद बढ्न थालेपछि पछिल्लो समय ठेक्कामा दिन छाडिएको थियो । विवाद समाधानका लागि शुक्रबार पनि ३ घण्टा छलफल भएको प्रजिअ बास्तोलाले बताए । आइतबार दुवै पक्षसँग बसेर छलफल गरेर विवाद टुङ्ग्याउने प्रशासनको तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप