शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा महाधिवेशन : साना पार्टीका हेभिवेट उम्मेदवार मैदानमा

बुधबार, १७ कात्तिक २०७८, १४ : ०१
बुधबार, १७ कात्तिक २०७८

प्रतिनिधिसभामा जम्मा एक सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा होमिएको छ । आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन गर्न लागेको राप्रपामा नेतृत्वका लागि आधा दर्जन नेता आकांक्षी देखिएका छन् ।

नेतृत्वको तीव्र दौडमा हालका अध्यक्षत्रय डा प्रकाशचन्द्र लोहनी, कमल थापा र पशुपति शमशेर राणा नै रहेका छन् । यसबाहेक डा धवलशमशेर राणा र राजेन्द्र लिङ्देनले पनि पार्टीभित्रको युवा तथा दोस्रो पुस्ताको नेतृत्व गर्दै नेतृत्वमा आकाँक्षा देखाएका छन् ।

पटक–पटकको टुटफुट र विभाजनले थिलथिलो भएको राप्रपा महाधिवेशनमा होमिँदै गर्दा सशक्त नेतृत्वको आवाज कार्यकर्ता तहबाट उठ्दै आएको छ । अहिलेको नेतृत्वबाट राप्रपाको रुपान्तरण सम्भव नहुने ठहर सहित दोस्रो पुस्ताका नेताहरुले युवालाई नेतृत्वमा अघि सार्नुपर्ने तर्फ लबिङ गरिरहेका छन् । तर, पुराना पुस्ताको प्रतिनिधित्व गर्ने लोहनी, थापा र राणा टसमस भएका छैनन् । बरु, आफ्नो पक्षमा माहोल बनाउन तीनै नेता दौडधूपमा देखिन्छन् ।

यस्तै तीन नेतालाई नेतृत्वबाट रोक्न दोस्रो पुस्ताका नेताहरुको दौडधूप पनि उस्तै छ । एकातर्फ राप्रपाभित्रको व्यक्तित्वको लडाइँ र अर्कोतर्फ पार्टीलाई नै पुनर्जीवन दिनुपर्ने चुनौतीका बीच मंसिरको महाधिवेशन र त्यसबाट चयन हुने नेतृत्वलाई महत्वका साथ हेरिएको सो पार्टीका कार्यकर्ताहरु बताउँछन् ।

पूर्व पञ्चहरूको बाहुल्यता रहेको राप्रपाले हिन्दु राष्ट्रको पक्षमा आवाज उठाउँदै आएको छ भने त्यो मुद्दालाई सशक्त ढंगले अघि बढाउन दोस्रो पुस्ता त्यसमा पनि युवा नेतृत्व चाहिने बताउँछन् राप्रपा नेता दिलविकास राजभण्डारी । राजभण्डारीको बुझाइमा अहिले नेतृत्वमा रहेका तीनै नेतालाई पार्टीमा सम्मानजनक स्थान दिएर नेतृत्वचाहिँ नयाँ पुस्तालाई दिने हो भने पार्टीलाई हतिदिन सहज छ ।

त्यसका लागि आफूहरुले निरन्तर पहल गरिरहेको बताउँदै भण्डारीले सोमबार राजधानीमा आयोजित चियापान कार्यक्रममा पनि यसबारे घनिभूत छलफल भएको बताए । उनका अनुसार युवापुस्ताबाट राजेन्द्र लिङ्देन र धवलशमशेर राणालाई नेतृत्वको रुपमा अघि सारिएको छ ।

​यी दुई नेता मध्येबाट एकजनालाई आफूहरुको तर्फबाट साझा उम्मेदवार तय गरेर अघि बढ्ने समझदारी भइसकेको उनको दावी छ । धवलशमशेरले यसअघि नै आफूले महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणासमेत गरेका थिए । राणाले कमल थापादेखि राणासम्मबाट पार्टी बन्न नसक्ने जिकिर गर्दै आएका छन् ।

यस्तै राजेन्द्र लिङ्देन पनि नेतृत्व दोस्रो पुस्ताबाट चयन गर्नुपर्ने धारणा राख्छन् । पार्टी निर्माणका लागि पुराना नेताहरुको अनुभव पनि चाहिने भएकाले सबैलाई मिलाएर पार्टी हाँक्न सक्ने नेतृत्व सर्वसम्मत चयन हुनुपर्ने धारणा उनको छ । उनले आगामी महाधिवेशनबाट अध्यक्षमै उम्मेदवारी दिनेबारे भने उनले खुलेर बोल्न चाहेनन् ।

 उता राप्रपाको नयाँ नेतृत्वका लागि अध्यक्ष कमल थापा र पशुपति शमशेर राणाले पनि बलियो दाबेदारी प्रस्तुत गर्दै आएका छन् । त्यही तयारीस्वरुप दुबै नेताले निरन्तर नेता कार्यकर्तासँग छलफल र परामर्श गर्दै आएका छन् । उनीहरुले आफ्नो पक्षमा के–कति महाधिवेशन प्रतिनिधि चयन भए र कस्तो माहोल छ भन्नेबारे जोड घटाउमा तल्लिन रहेका छन् ।

डा लोहनी निकट नेता तथा राप्रपा प्रचार विभाग सदस्य जनकराज पाठक पार्टीलाई गति दिन लोहनीको नेतृत्व उत्तम हुने जिकिर गर्छन् । उनले महाधिवेशनमा लोहोनीको स्वभाविक रुपमा हुने उम्मेदवारी हुने  जानकारी दिँदै त्यसका लागि तयारी भइरहेको बताए । उनले देशभरका नेता कार्यकर्ताको सुझावका आधारमा लोहनीले उम्मेदवारी दिन लागेको पनि धारणा राखे ।

धेरै उम्मेदवार हुँदा कसलाई फाइदा, कसलाई घाटा ?

राप्रपामा हालसम्म लोहनी, थापा र राणासँगै लिङदेन र धवलशमशेर उम्मेदवार देखिँदा विगतमा लिङदेन र धवलशमशेर कमल थापा निकट मानिन्थे । जसमा पछिल्लो समय धवलले थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै साथ छाडिसकेका छन् । अहिले पनि कमल थापा निकट नै रहेका लिङदेन युवा पुस्ताबाट नेतृत्वमा अघि बढेमा कमल थापाको मत काटिनेछ ।

तत्कालीन राप्रपा र राप्रपा संयुक्तबीच एकता हुँदा राप्रपा संयुक्तको अध्यक्षमा राणा र लोहनी थिए ।  अहिले राप्रपा एक भएपनि भागबण्डाका आधारमा जिम्मेवारी प्रदान गरिँदै आएका छन् । यस्तो अवस्थामा कमल थापा पक्ष र लोहनी–राणा पक्षबाट आ–आफ्नो साझा उम्मेदवार तय भएको खण्डमा भिडन्त रोचक बन्नेछ । तर, पूर्व राप्रपा संयुक्तबाट राणा र लोहनी नै उम्मेदवार बन्ने र थापाले आफू निकटमा मिलाउन सकेको खण्डमा थापाकै पल्ला भारी बन्नेछ । यसकारण राप्रपाभित्रको ‘हेभिवेट’ भिडन्त र त्यसभित्रको आन्तरिक समीकरण पनि महत्वपूर्ण बन्ने नेताहरु बताउँछन् ।

राप्रपाले आगामी महाधिवेशनका लागि हाल जिल्ला अधिवेशनका साथै सक्रिय सदस्यताको टुंगो लगाउने कार्य गरिरहेको छ । राप्रपाले सक्रिय सदस्य बनाउने अवधि कात्तिक १५ गतेसम्म कायम गरेको छ भने  केन्द्रीय निर्वाचन समितिले कात्तिक २६ भित्र सक्रिय सदस्यहरुको नामावली जिल्लाहरुमा पठाउने गरी निर्णय भएको छ ।

यसैगरी सक्रिय सदस्यको दावी विरोध कात्तिक २७, २८ र २९ गते गर्ने तथा अन्तिम नामावली कात्तिक ३० गते प्रकाशन गर्ने गरी कार्यतालिका तय भएको प्रचार विभाग सदस्य पाठकले जानकारी दिए । यसैगरी  जिल्ला अधिवेशन कात्तिक २३ भित्र तथा सातैवटै प्रदेशसभाबाट प्रदेश कार्य समितिको निर्वाचन कात्तिक २८ गते हुनेछ ।

हालसम्म राप्रपाको ६३ जिल्लामा नेतृत्व चयन भइसकेको छ । बाँकी जिल्लामा तोकिएको समयभित्र अधिवेशन सम्पन्न गर्ने राप्रपाको लक्ष्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप