बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको नेतृत्वमा युवा पुस्ताको कसरत, एल्लो प्यागोडामा ‘भद्र सहमति’

मङ्गलबार, १६ कात्तिक २०७८, २१ : ४१
मङ्गलबार, १६ कात्तिक २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आसन्न महाधिवेशनबाट युवा पुस्ताले नेतृत्व लिनुपर्ने भन्दै नेताहरुले सक्रियता बढाएका छन् । पछिल्लो केही महिनादेखि नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने लबिङमा रहेका दोस्रो पुस्ताका नेताहरु साझा उम्मेदवार तय गर्न राजी भएका छन् ।

पार्टी नेताहरुका अनुसार सोमबार राजधानीको एल्लो प्यागोडामा भएको भेलाबाट पूर्वमहामन्त्री राजेन्द्र लिङदेन र धवल शमशेर राणामध्ये एक जनालाई नेतृत्व मानेर अघि बढ्न दोस्रो पुस्ताका नेताहरुबीच भद्र सहमति भएको हो ।

महाधिवेशनमा युवा पुस्ताका तर्फबाट नेतृत्वमा उम्मेदवारी दिनका लागि उम्मेदवारको तय गर्ने प्रयोजनकै लागि एल्लो प्यागोडामा युवा तथा दोस्रो नेताका नेताहरुलाई आमन्त्रण गरेर चियापानको आयोजना गरिएको थियो । सोही होटलका मालिक तथा राप्रपा नेता दिलविकास राजभण्डारीको संयोजनमा भएको सो चियापानमा युवा तथा दोस्रो पुस्ताका नेताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

भेलामा राणा र लिङदेनको समेत सहभागिता रहेको थियो भने उनीहरुले पार्टी सुधार्न जरुरी रहेको र त्यसका लागि दुईमध्ये जो उम्मेदवार भए पनि एकअर्कालाई सघाउन तयार भएको बताएका थिए । उनीहरुको प्रतिवद्धताअनुसार थप छलफल गरेर एकजना उम्मेदवार तय गरिने सहमति बनेको नेता दिलविकास राजभण्डारीले रातोपाटीलाई बताए ।

‘अहिले जो नेतृत्वमा हुनुहुन्छ । उहाँहरु तीनजना नेताहरुका कारणले हामी सिद्धिएका हौँ । पार्टीमा सबैभन्दा योग्य भनेको दौडिन र खानबाहेक अरु कोही छैन’, उनले भने, कमल त्यस्तैमध्ये एक हुनुहुन्छ । उहाँबाट पार्टी बन्न सम्भव छैन । अरु दुईजनाबाट पनि पार्टी बन्न सक्दैन । त्यसैले नयाँ नेतृत्वमा नगए पार्टी बन्न सक्दैन भनेर हामी दोस्रो पुस्ताले नेतृत्व लिनुपर्ने अभियानमा लागेका हौँ ।’ उनले नेतृत्व दोस्रो पुस्तामा गएर पार्टीलाई उठाउनुपर्छ भन्ने निर्णय एल्लो प्यागोडाको भेलाले गरेको बताए ।

युवापुस्ताले हाल नेतृत्वमा रहेकालाई पार्टीमा सम्मानजनक स्थान दिने र कार्यकारी भूमिकामा भने युवापुस्ता नै आउनुपर्ने राजभण्डारीले धारणा राखे । राप्रपा नेताहरुका अनुसार युवापुस्तालाई नेतृत्वमा ल्याउने गरी प्रभावकारी रणनीति अख्तियार तयार गर्न १० नेताको समूह नै खडा गरिएको छ । ती नेताले रणनीति बनाएर नेतृत्वमा युवालाई स्थापित बनाउनेगरी लाख्ने रणनीति अख्तियार गर्ने बताइएको छ ।

युवा समूह नेतृत्वमा आउनुपर्छ भन्ने समूहमा सुरुमा राणा र लिंदेनबाहेक जयन्त चन्द र विक्रम पाण्डेलाई पनि अघि सारिएको थियो  । तर, उनीहरुले पनि लिङ्देन र राणा नै उपयुक्त पात्र हुने भनेपछि दुईमध्येबाट एकजनालाई मैदानमा उतार्न लागिएको हो ।

राप्रपाभित्र धवल शमशेर राणाले यसअघि नै आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने लिङ्देनले चाहिँ मौनता साँध्दै आएका छन् । राप्रपाको एकताको महाधिवेशन आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । हाल राप्रपा अधिवेशन सम्पन्न गर्न लागिपरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप