शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जब ओलीले प्रभु साहलाई गाडीमा हालेर हिँडे !

बुधबार, १७ कात्तिक २०७८, ०८ : ३७
बुधबार, १७ कात्तिक २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी चुनावमा माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सेखी झार्न चाहन्छन् । यही कारण उनले रामबहादुर थापा बादललाई चितवनमा  प्रचण्डसँगै चुनाव लडाउने तयारी थालेका छन् भने माधव नेपालको गृहजिल्ला रौतहटमा प्रभु साहलाई उपचुनाव लडाएर जिताउन चाहेका छन् ।

यता, माधव नेपालको चुनाव क्षेत्र काठमाडौं क्षेत्र नम्बर २ मा काँग्रेसबाट रामचन्द्र पौडेल पक्षकी डा. माधवी भट्टले चुनाव लड्ने तयारी थालिसकेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपाललाई साथ दिने घोषणा गर्दा माधवी ‘ब्याक’ भइनन् भने एमालेले ‘म्याच फिक्सिङ’ गराएर भए पनि माधव नेपाललाई हराइदिने सम्भावना देखिन थालेको छ ।

प्रचण्डको सेखी झार्ने रणनीतिअनुसार नै ओलीले अघिल्लो साता झापा जाँदा पूर्वमाओवादी नेता प्रभु साहलाई समेत सँगै लिएर जाने विचार गरेका थिए । तर, लेखराज भट्टसँगै झापा पुगेर फर्केका ओलीले साहलाई आफ्नो गृहजिल्लामा लैजान सकेनन् ।

 माओवादी छाडे पनि एमालेसँग असन्तुष्ट रहेका साहले यसबीच नेकपा पुनर्गठन गर्ने तयारी गरे । यसका लागि उनले १५१ सदस्यीय केन्द्रीय कमिटीको नामावलीसमेत तयार पारिसकेको खबर ओली झापातिरै भएका बेला सुने । यो खबर सुनेपछि ओलीले साहलाई बालकोटमा बोलाएर फकाए ।

एमालेका तेस्रो धारका एक नेता भन्छन्, ‘ओलीजीले प्रभुलाई छाड्नुहुन्न । उहाँलाई आफ्नो स्ट्रेन्थका लागि प्रभु साहजस्तो मधेसमा जनाधार भएको नेता जरुरी परेको छ । तर, साहले विचारका आधारमा ओलीसँग हैन, हामीसँग सहकार्य गर्नुपर्ने हो ।’  

जब एमाले अध्यक्ष ओली प्रचण्डको चुनाव क्षेत्र चितवनमा झर्ने योजना बन्यो, त्यसपछि उनले फेरि प्रभु साहलाई फोन गरेर बोलाए । चितवनमा उनले साहलाई आफ्नै गाडीमा हालेर हिँडे । आफू सहभागी कार्यक्रममा भाषण समेत गर्न लगाए । साहले ‘केपी ओलीलाई बाँचुञ्जेल साथ दिन्छु’ भनेर भाषण गरे ।

एमालेमा बस्न नसकिने र बेग्लै नेकपा पुनगर्ठन गर्नुपर्ने भन्दै पूर्वसांसद समेतको नामावली संकलन गरिसकेका साहलाई अन्ततः उनका शुभेच्छुकले सोधे, ‘अब एमालेमा बस्न सकिँदैन, नेकपा पुनर्गठन गरौं भन्दै हुनुहुन्थ्यो, चितवन पुगेर त ओलीलाई बाँचुञ्जेल साथ दिन्छु भन्नुभएछ, यस्तो उतार–चढाव किन ?’ जवाफमा साहले आफू निकटस्थहरुलाई भन्ने गरेका छन्, ‘उहाँले आफ्नै गाडीमा चढाएर लानुभयो !’

माओवादी बेवास्ताको परिणाम

प्रभु साह रौतहटबाट निर्वाचन माओवादी सांसद थिए । उनी रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीसँगै एमालेमा प्रवेश गरेका हुन् । तथापि साहले पछिल्लो समय ओलीसँग कतिपय सैद्धान्तिक विषयमा विमतिसमेत राख्दै आएका थिए । तर, साहको त्यो असन्तुष्टिलाई ‘क्यास’ गर्ने र उनलाई आफ्नो घरमा फर्काउने प्रयास माओवादी केन्द्रका नेताहरुले गरेनन् । माओवादीको यही होस्ल्याङ्गे कमजोरीबाट फाइदा उठाउँदै ओलीले साहलाई पुनः साथ लिन सफल भए ।

प्रभु साहले जितेको रौतहट क्षेत्र नम्बर ३ मा अहिले प्रतिनिधिसभा सदस्यको सिट रिक्त छ । निर्वाचन आयोगले यो सहित प्रतिनिनिधसभाका चार सिट र प्रदेशसभाको १८ सिटमा उपचुनावको मिति तोक्न सरकारलाई आग्रह गरिसकेको छ । सरकारले उपचुनावको घोषणा गरेमा साह नेकपा एकपा एमालेका तर्फबाट रौतहट ३ मा चुनाव लड्ने तयारीमा छन् ।

साहले आफू निकटस्थहरुसँग गुनासो पोख्ने गरेका छन्, ‘मैले ओलीको क्याबिनेटमा मन्त्री भएका बेला माओवादी छाड्न चाहेको थिइनँ । बादलहरुको कुरा बेग्लै भयो, तर म माओवादीमै रहन्छु भनेको थिएँ र पार्टीले सरकारबाट समर्थन फिर्ता लिनासाथ मन्त्रीबाट हट्छु थिएँ । तर, सरकारलाई समर्थन जारी नै राखेर प्रचण्डले मलाई समेत कारवाही गर्नुभयो । पछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि भटाभटी कारवाही गरेपछि प्रचण्डसँग मेरो चित्त दुख्यो ।’  

यसैबीच, चितवनमा ओलीसँग गाडीमा यात्रा गरेका साह अहिले आफ्नो गृहजिल्ला रौतहटतिर लागेका छन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप