शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चुनावका लागि सुरक्षित क्षेत्र खोज्दै राजेन्द्र महतो

सर्लाहीमा भेला भए लोसपाका शीर्षनेता
शुक्रबार, १२ कात्तिक २०७८, ०७ : ४६
शुक्रबार, १२ कात्तिक २०७८

गत असोज ७ गते जनकपुर पुगेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो प्रतिनिधिसभा निर्वाचन क्षेत्र धनुषा–३ मा एक महिनासम्म घुमफिर गरे । अहिले उनी पूरै तामझामका साथ सर्लाही पुगेका छन् । पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्यहरु अनिलकुमार झा, जितेन्द्र सोनललगायतका नेताहरु यतिखेर सर्लाहीमै केन्द्रित छन् ।

यसअघि दसैँको शुभकामना कार्यक्रम लिएर धनुषा क्षेत्र नम्बर ३ का विभिन्न ठाउँमा घुमेका महतोले धनुषाबाट पुनः चुनाव जित्न सकिन्छ कि सकिँदैन भन्ने हिसाब–किताब निकालिरहेका छन् । उनले सो क्षेत्रमा रहेका हरेक शक्तिपीठमा पुगेर दसैँका अवसरमा भएका हरेक कार्यक्रममा सहभागिता जनाए । एक महिनासम्म लगातार आफ्नो निर्वाचन क्षेत्रमा घुमेका उनी कात्तिक ६ गते काठमाडौैं फर्किए ।

आफ्नो क्षेत्रमा उनले कात्तिक १० गतेसम्मका लागि कार्यक्रम तय गरेका थिए । तर उनी ६ गते नै काठमाडौँ फर्के । उनका स्वकीय सचिव किशोर गुरु भन्छन्, ‘कात्तिक १० गतेसम्म उहाँको कार्यक्रम थियो, तर वर्षाका कारण कार्यक्रमहरु प्रभावित भएपछि उहाँ काठमाडौँ फर्किनु भएको हो ।’

हाल महतो आफ्नो गृहजिल्ला सर्लाही पुगेका छन् । पहिलो संविधानसभा चुनावमा उनी सर्लाही क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा उनी त्यहाँ पराजित भएका थिए । २०७४ सालको प्रतिनिधिसभा चुनावमा उनी धनुषा पुगेका थिए । धनुषामा काँग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गर्दै उनले चर्चा कमाएका थिए ।

त्यतिबेला तत्कालीन संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको गठबन्धन बनेको थियो । त्यसमा विमलेन्द्र निधिलाई हराउनका लागि महतोलाई एमालेको पनि भित्री सहयोग रहेको चर्चा चलेको थियो ।

तर, अब धनुषामा त्यस्तो अवस्था छैन । जसपा विभाजित भएको छ । त्यसैले उनी आफ्नै गृहजिल्लाका जनताको मन छाम्न कात्तिक ९ गते सर्लाही पुगेका हुन् । साथमा उनले लोसपाका अध्यक्ष महन्थ ठाकुर, पार्टीका अन्य शीर्ष नेतालाई पनि सर्लाही लगेर चारवटै चुनावी क्षेत्रमा कार्यक्रम तय गरेका छन् ।

महतोको घर सर्लाही क्षेत्र नम्बर १ मा पर्छ । त्यहाँबाट प्रतिनिधिसभा सदस्यमा जसपाका प्रमोद साह विजयी भएका छन् । यसअघि महतोले चुनाव जितेको सर्लाही क्षेत्र नम्बर २ बाट जसपाका कार्यकारिणी सदस्य महिन्द्र राय यादव विजयी भएका छन् । उनी पुनः त्यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।

महिन्द्र राय यादवसँग एकपटक चुनाव हारेका महतो पुनः त्यही क्षेत्रबाट लड्ने सोचमा नरहेको उनी निकट नेताहरु बताउँछन् । महतो निकट लोसपाका एक कार्यकारिणी सदस्यले भने, ‘सर्लाही क्षेत्र नम्बर २ मा महिन्द्र राय यादवले चुनाव लड्ने तयारी गरिरहनुभएको छ, राजेन्द्र महतोको भने त्यहाँ लड्ने टुंगो लागेको छैन । सायद उहाँ ४ नम्बर क्षेत्रबाट लड्नु हुन्छ, तर औपचारिकरुपमा निर्णय लिएको अवस्थाचाहिँ छैन ।’

सर्लाही क्षेत्र नम्बर १ बाट प्रमोद साह चुनाव लड्ने तयारीमा छन् । त्यो क्षेत्र कम्युनिस्ट बाहुल्य क्षेत्र हो । नेता महतोका लागि सबैभन्दा उत्तम सर्लाही क्षेत्र नम्बर ४ नै हो भन्ने धारणा सबैतिरबाट आएपछि उनी पनि नम्बर क्षेत्रतिरै केन्द्रित भएको नेताहरु बताउँछन् ।

अहिले ४ नम्बरबाट काँग्रेसका नेता अमरेश सिंह प्रतिनिधिसभा सदस्य छन् । माओवादी केन्द्रका नेता शिवपुजन यादव पनि सोही क्षेत्रका हुन् । मधेसी समुदायको बाहुल्य भएका कारण राजेन्द्र महतो त्यहाँबाट चुनाव लड्ने सोचका साथ अध्यक्ष महन्थ ठाकुरलाई साथमा लिएर पुगेको नेताहरु बताउँछन् ।

सर्लाही क्षेत्र नम्बर ४ महन्थ ठाकुरको पुरानो निर्वाचन क्षेत्र हो । यद्यपि उनी त्यहाँबाट चुनाव हारेका थिए । सर्लाहीका एक लोसपा नेताले भने, ‘अध्यक्ष ठाकुरको प्रभाव त्यहाँ कति छ भन्नेबारे मूल्यांकन हुँदै गर्ला, तर अहिले राजेन्द्र महतोको साथमा ठाकुर उक्त क्षेत्रमा घुमेपछि मतदातामा राम्रो सन्देश गएको छ ।’

यसअघि महन्थ ठाकुरको नेतृत्वमा रहेको तत्कालीन राजपाबाट सो क्षेत्रमा राकेश मिश्र चुनाव लडेका थिए, तर अमरेश सिंहसँग उनी पराजित भएका थिए । पछिल्लो समय राकेश मिश्रले उखु किसानलाई बक्यौता रकम दिलाउन मेहनत गरे । धेरै किसानले भुक्तानी पनि पाए । अहिले राकेश मिश्र त्यहाँबाट उम्मेदवार नबनुन् भन्नेमा चिनी मिलका मालिकहरु लविङ गरिरहेका छन् ।

स्रोतका अनुसार महालक्ष्मी सुगर मिल सर्लाहीका मालिक वीरेन्द्र कनौडियाले राजेन्द्र महतोलाई सर्लाही क्षेत्र नम्बर ४ बाट चुनाव लड्न आग्रह गरिरहेका छन् । राकेश मिश्रको सट्टा सो क्षेत्रबाट  महतो उम्मेदवार भएमा हरेक प्रकारको सहयोग गर्ने आश्वासनसमेत चिनी मिलका मालिकहरुले दिँदै आएको स्रोत बताउँछ ।

काँग्रेस नेता अमरेश सिंह र माओवादी केन्द्रका नेता शिवपुजन यादवबाट असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले पनि नेता राजेन्द्र महतोलाई ४ नम्बरबाटै चुनाव लड्न आग्रह गरिरहेको स्रोतको दाबी छ । तर, महतोले त्यहाँबाट चुनाव लड्ने कि नलड्ने भन्नेबारे बोलेका छैनन् । त्यहाँका जनताको भावना बुझ्ने प्रयास गरिरहेका महतोले सर्लाहीमा कात्तिक १३ गतेसम्मका लागि कार्यक्रमहरु राखेका छन् ।

बिहीबार जसपाका सांसद प्रमोद साहको क्षेत्रमा लोसपाले वृहत कार्यक्रम आयोजना गरेको छ भने शुक्रबार महिन्द्र राय यादवको क्षेत्र अर्थात् क्षेत्र नम्बर २ मा बृहत आमसभा तथा शुभकामना अदान प्रदान कार्यक्रम राखिएको छ । १३ गते विष्णुपुर गाउँपालिकामा पनि लोसपाको कार्यक्रम छ ।

लोसपाले प्रदेश २ को सर्लाहीमा मात्र यसखालको कार्यक्रम राखेको सन्दर्भमा सोधिएको प्रश्नमा लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनल महतोको क्षेत्र बनाउने वा खोज्ने उद्देश्यले कार्यक्रम आयोजना नगरिएको बताउँछन् । उनले रातोपाटीसँग भने, ‘जसपाबाट अलग भएर लोसपा बनेको छ, त्यसका लागि पनि जनताको बीचमा जानुपर्ने भएकाले जनतासँग भेटघाटका लागि यो कार्यक्रमको आयोजना गरिएको हो ।’

जसपाका प्रदेश २ (सर्लाही) का सांसद सञ्जय यादवले भने लोसपाले आफ्नो ‘स्पेश’ बनाउनका लागि सर्लाहीमा पूरै शक्ति लगाएको दाबी गरे । महतो अब धनुषाबाट चुनाव नजित्ने महसुस गरेर सर्लाहीका जनताको मन बुझ्न पूरै तामझामका साथ पुगेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप