सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

धनतेरसमा सुन/चाँदी किन्नेको घुइँचो, ५० किलो सुन र दुई हजार किलो चाँदी बिक्यो (तस्बिर)

मङ्गलबार, १६ कात्तिक २०७८, १९ : २१
मङ्गलबार, १६ कात्तिक २०७८

तिहारको समयमा धनकी देवी लक्ष्मीको रूपमा सुन, चाँदी, हीरा, मोती र असर्फी किनेर राख्दा धनलाभ हुने जनविश्वास छ । यही विश्वाससहित आज धनवन्तरी जयन्तीको दिन अर्थात् कात्तिक त्रयोदशीका दिन धातुका वस्तु किन्ने प्रचलन छ । 

धातुका वस्तु किनेर घरमा लग्दा धन लाभ हुने विश्वाससहित सर्वसाधारणले हरेक वर्ष आजकै दिन केही न केही धातुका वस्तु किन्छन् । आज देशभरका सुनचाँदी र भाँडाकुँडा पसलमा सर्वसाधारणको घुइँचो लागेको छ । सक्नेले सुन, चाँदी तथा हिरा/मोती र नसक्नेले पित्तल लगायतका अन्य धातुबाट बनेका भाँडाकुँडा किन्छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज धनतेरसका दिन देशभरबाट ५० किलो सुन बिक्री भएको बताएको छ । यो भनेको ४९ करोड ४३ लाख १२ हजार बराबरको ४ हजार २८६ तोला हुन आउँछ ।

​यसैगरी, आज दुई हजार किलो चाँदी बिक्री भएको महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । उनले धनतेरसमा सुन, हिरा र मोतीभन्दा चाँदीबाट बनेका वस्तुको बिक्री बढी हुने बताए । 

‘कोरोनाले सुस्ताएको बजार तीज र दसैँपछि तिहारले चम्काएको छ । तीज र दसैँमा दैनिक ४० किलो सुन र एक हजार किलो चाँदी बिक्री हुन्थ्यो । ती चाडमा तीन/चार दिन सोही अनुपातमा बिक्री हुन्छ,’ शाक्यले भने, ‘तिहारमा एक दिन व्यापार बढ्छ । तर, ठुलो परिणाममा हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप