बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकमा असर्फीको हारालुछ, एउटैको मूल्य ८१ हजार रुपैयाँसम्म ! (फोटो/भिडियो)

के हो असर्फी ? किन लाग्यो सर्वसाधारणको भीड ?
मङ्गलबार, १६ कात्तिक २०७८, १६ : १७
मङ्गलबार, १६ कात्तिक २०७८

मंगलबार राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखा बबरमहलमा सर्वसाधारणहरूको भिडभाड देखिन्थ्यो । कारण, राष्ट्र बैंकले जारी गरेको असर्फी हो ।  तिहारका बेला धनकी देवी लक्ष्मीको रूपमा सुन, चाँदी, हीरा मोती र मणीरत्न लगायत असर्फीहरू किनेर घरमा राख्दा धनलाभ हुने जनविश्वास छ । यही विश्वाससाथ कार्तिक त्रयोदशी अर्थात् आज धनवन्तरी जयन्तीकै दिन असर्फी किन्न बैंकमा सर्वसाधारणको भीड लागेको हो । यसै दिन असर्फी किन्न सके अझ बढी लाभ मिल्ने कथन छ ।

के हो असर्फी ?

सुन, चाँदी, हीरा, मोती र मणिरत्न लगायत बहुमूल्य धातुजन्य वस्तुहरू नै असर्फी हुन् । यस्ता बहुमूल्य धातुजन्य वस्तु नेपाल राष्ट्र बैंकले मात्र कारोबार गर्छ र बाहिरबाट ल्याएर बैंकले नै बजारमा बेच्ने गर्छ ।  तिहार तथा शुभ कार्यमा प्रयोग हुने सुनचाँदीका सिक्का, मानक तथा तक्काहरू समेत राष्ट्र बैंकले नै छाप्ने हुँदा यतिखेर सोही सिक्का किन्न बैंकमा सर्वसाधारणहरूको भीड लागिरहेको छ । बैंकले बेच्ने यस्तो सिक्का बजारमा पाइने भन्दा अझ बढी शुद्ध (फाइन) र विश्वासयोग्य हुने बताइन्छ ।

एउटै सिक्काको भाउ ८१ हजार रुपैयाँसम्म

हाल बैंकले सुन र चाँदी गरी दुईवटा धातुको सिक्का छाप्ने गरेको छ । सुनको २.५ ग्राम, ५ ग्राम र १० ग्राम गरी तीन वटा सिक्का बजारमा उपलब्ध गराएको छ भने चाँदीको एक हजार ग्रामको सिक्का बनाएको छ ।

सुनको असर्फीको न्यूनतम मूल्य २० हजार २१९ रुपैयाँ (२.५ ग्राम) देखि ८१ हजार रुपैयाँ (१० ग्राम) सम्म रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ५ ग्रामको सुनको सिक्काको भने ४० हजार ४३८ रुपैयाँ तोकेको छ ।

एक हजार ग्राम चाँदीको एक हजार ६०० रुपैयाँमा तोकिएको बैंकले जनाएको छ । बजार मूल्य अनुसार नै उपलब्ध हुने असर्फीमा छपाइ तथा मर्मतसम्भार खर्च जोडेर बिक्रीवितरण गरिने बैंकका सूचना अधिकारी नारायण पौडेलले बताए । आजको बजारमूल्य अनुसार सुन प्रति १० ग्राम ७८ हजार ८७५ रुपैयाँ र चाँदी एक हजार ७१ रुपैयाँ ५० पैसा रहेको छ ।

एक जनालाई एउटा सुनको र तीनवटा चाँदीको असर्फी

पौडेलका अनुसार हाल राष्ट्र बैंकले असर्फीको बिक्रीकोटा तोकेको छ । तिहारका बेला सबैले किन्न खोज्ने हुँदा एक व्यक्तिले अधिकतम एउटा सुनको सिक्का र तीन वटासम्म चाँदीको सिक्का किन्नसक्ने पौडेलले बताए । तर कोटाभन्दा बढी मानिसहरुको घुईँचो देखिएपछि सुनको असर्फी नपाउने कि भन्ने चिन्ता लागेको कोटेश्वरका निरज पौडेलले बताए । उनले चाँदीको असर्फी भने पाउने आशा गरे ।  आज र भोलि अर्थात् मंगलबार र बुधबार दुई दिनसम्म मात्र असर्फीको बिक्री हुनेछ ।

भिडियो हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप