बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नवनियुक्त मुख्यमन्त्री राई भन्छन्– तिहारलगत्तै विश्वासको मत लिन्छु

मङ्गलबार, १६ कात्तिक २०७८, ०५ : ००
मङ्गलबार, १६ कात्तिक २०७८

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले तिहारलगत्तै विश्वासको मत लिने बताएका छन् । उनले पहिला विश्वासको मत लिने र त्यसपछि मात्र गठबन्धन दलसँग छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने बताए । 
मंगलबार पद तथा गोपनीयताको शपथ लिएपछि संचारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले भने,‘ तिहारलगत्तै विश्वासको मत लिने काम गर्छौं, त्यसपछि गठबन्धनको आवश्यकताको हिसाबले मन्त्रिपरिषदलाई पूर्णता दिन्छौं।’
मुख्यमन्त्री राजेन्द्र राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका थिए । मुख्यमन्त्री राईले नियुक्त गरेका प्रदेश सरकारमा ५ मन्त्रीले समेत मंगलबारै शपथ लिएका छन् ।

मुख्यमन्त्री राईले नेपाली कांग्रेसबाट केदार कार्कीलाई आन्तरिक मामिला मन्त्री र हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाएका छन् । नेकपा माओवादी केन्द्रबाट इन्द्र आङ्बो आर्थिक मामिला मन्त्री, जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्री र राष्ट्रिय लोकतान्त्रिक मञ्चबाट विष्णुमाया तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री बनाइएको छ।
नेकपा एमालेका सचिव तथा निवर्तमान मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीबाट राई मुख्यमन्त्री बनेका हुन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप