बुधबार, २१ कात्तिक २०८१
ताजा लोकप्रिय

सङ्कटमा मानव जाति : विनाश रोक्न १० वर्षभन्दा पनि कम समय बाँकी

जलवायु परिवर्तनबारे ५ मुख्य तथ्य
आइतबार, १४ कात्तिक २०७८, १८ : ४५
आइतबार, १४ कात्तिक २०७८

ग्लासगोमा जलवायु परिवर्तनसम्बन्धी सीओपी–२६ सम्मेलन आइतबारदेखि सुरु भइरहँदा विश्वका नेताहरूसामु मानवसिर्जित तापक्रम वृद्धिबाट हुने भयानक परिणामलाई नियन्त्रण गर्ने अन्तिम अवसर हुनेछ । विभिन्न अध्ययनले मानिससँग जलवायु परिवर्तनको विनाशकारी असरहरू सुरु हुन अब बढीमा ९ वर्षमात्र बाँकी रहेको र त्यसलाई नियन्त्रण गर्न असम्भव हुने बताइरहँदा एकीकृत वैश्विक कदमका लागि समय नै सबैभन्दा महत्त्वपूर्ण कडी रहेको छ ।

‘मानवसिर्जित जलवायु परिवर्तनको असरहरू देखिन सुरु भएका छन् । समयसँगै यसलाई पुनः परिवर्तन गर्न असम्भव हुनेछ र आगामी दशकमा यो झनै भयानक हुँदै जानेछ,’ अमेरिकी स्पेस एजेन्सी ‘नासा’ले भनेको छ । सीओपी–२६ सम्मेलन सुरु भइरहँदा हामीले जलवायुको सङ्कटबारे यी पाँच बुँदा ध्यान दिन जरुरी छ :

१. ‘विनाशकारी’ तापक्रम वृद्धि अहिलेसम्मकै खत्तम

कार्बोनडायोअक्साइड, मिथेन र नाइट्रस अक्साइडजस्ता ग्रिनहाउस ग्यासहरुले तापलाई पृथ्वीको सतहनजिकै अड्काएर राख्छ । यसको मात्रा धेरै भएपछि विश्वको तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) हुन थाल्छ । सन् २०१५ को ऐतिहासिक पेरिस जलवायु सम्झौतामा विश्वभरका राष्ट्रले तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धता जनाएका थिए । यो तापक्रमलाई सन् १७६० को ताका युरोप र अमेरिकामा औद्योगिक क्रान्ति सुरु हुनभन्दा अघिको समयसँग तुलना गरिएको थियो ।

तर, औद्योगिक क्रान्तिभन्दा अघिको तापक्रमको तुलनामा विश्वको तापक्रम अहिले नै १ डिग्री सेल्सियसले वृद्धि भइसकेको छ । जसको परिणाम मौसमसम्बन्धी प्रकोपहरू रहेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियभन्दा कम राख्नका लागि विश्वका देशहरूले सन् २०५० सम्ममा ग्यास उत्सर्जनलाई शून्यमा झार्नुपर्नेछ । तर ग्रिनहाउस ग्यासको उत्सर्जनलाई रोक्ने विषय पेरिस सम्झौतापछि नराम्रोसँग बिग्रिएको छ ।

मौसमसम्बन्धी प्रकोपहरूलाई रोक्ने हो भने विश्वभरको ग्रिनहाउस ग्यास उत्सर्जनलाई सन् २०३० भित्र कम्तीमा ४५ प्रतिशतले कम गर्नुपर्ने वैज्ञानिकहरू बताउँछन् । तर, अहिलेको राष्ट्रिय प्रतिबद्धतालाई हेर्दा सन् २०१० को तुलनामा यो सन् २०३० मा १६ प्रतिशतले वृद्धि हुने देखिएको छ ।

१६ प्रतिशतको वृद्धिले यो शताब्दीको अन्त्यसम्म ग्लोबल वार्मिङ २.७ डिग्री सेल्सियसले वृद्धि हुनेछ । यसको अर्थ अर्बौँ मानिसका लागि पृथ्वीमा जीवन विनाशकारी हुनेछ । अमेरिकासहित धेरै देशले सन् २०५० वा २०६० सम्ममा ग्रिनहाउस ग्यासको उत्सर्जनलाई शून्य बनाउने प्रतिबद्धता जनाएका छन् । तर, गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघले जारी गरेको रिपोर्टले देशहरूको प्रतिबद्धता कमजोर हुँदा यो शताब्दीको अन्त्यमा तापक्रम २.७ डिग्री सेल्सियसले वृद्धि हुने देखाएको थियो ।

यस्तो भयो भने अहिले नै देखिएका बाढी, नियन्त्रणबाहिरका डढेलो र भीषण आँधीबेहरी जस्ता प्रकोपहरूभन्दा अझै खतरनाक परिणाम ल्याउनेछन् । ‘विश्व अहिले २.७ डिग्री तापक्रम बढ्ने विध्वंसकारी पथमा रहेको छ,’ राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भनेका छन् ।

२. द्रुत कदम बिना डरलाग्दो भविष्य

विश्वभरले मौसमसम्बन्धी प्रकोपहरू झेलेको ठीक एक वर्षपछि सीओपी–२६ बैठक बस्दैछ, जसमा अमेरिका, युरोप र चीनमा भीषण बाढी, ग्रीस र टर्कीमा विनाशकारी डढेलो र समुद्री आँधी छन् । यदि ग्रिनहाउस ग्यासको उत्सर्जनलाई शून्यमा नझार्ने हो भने भविष्य योभन्दा पनि डरलाग्दो हुनसक्छ । विश्व बैंकका अनुसार सन् २०५० सम्ममा २१.६ करोड मानिस आफ्नो थातथलो छाड्न बाध्य हुनेछन् र मौसमसम्बन्धी शरणार्थी करार गरिनेछन् ।

जलस्रोतको कमी सबैभन्दा टड्कारो समस्या बन्ने छ जसले बालीको उत्पादनमा कमी ल्याउनेछ भने समुद्रको जलसतहमा पनि वृद्धि हुनेछ । एक अध्ययनका अनुसार खराब अवस्थामा चेन्नाई, मुम्बई, जकार्ता, ग्वानझाओ, तियान्जिन, हङकङ, होची मिन, सांघाई, लागोस, बैंकक र मनिलाजस्ता धेरै जनसख्या भएका सहरहरू सन् २०५० मा बस्नका लागि अयोग्य बन्ने प्रक्षेपणसमेत गरेको छ ।

बढ्दो तापक्रमले मानिसको जीवनमा कहर बर्साउनेछ । विश्वको ३५ प्रतिशत जमिन र मानिसको बसोबास भएको ५५ प्रतिशत क्षेत्रमा वर्षको २० दिनभन्दा बढी अत्यधिक गर्मीको चपेटामा पर्ने अध्ययनमा भनिएको छ ।

३. जलवायु अनुकूलन अब अपरिहार्य

ग्रिनहाउस ग्यासको उत्सर्जनमा कमी ल्याउने वैज्ञानिकहरूको दीर्घकालीन लक्ष्य छ । तर, वास्तविकतामा मानिसहरूले अब बदलिँदो विश्वको प्रभावसँग बाँच्न सिक्नुपर्ने देखिएको छ । जलवायु परिवर्तनको असर लामो समयसम्म रहने देखिन्छ र मानिसहरूले योसँग जुझ्न सिक्नुपर्नेछ । मौसमसम्बन्धी प्रकोपबाट समाजलाई बचाउने प्रयास यतिबेला विश्वभर जारी छ । ‘अनुकूलनका प्रक्रियामा बाढी बच्ने व्यवस्था, समुद्री आँधीबारे पूर्व जानकारी, सरकारी नीतिमा परिवर्तनलगायत छन्,’ राष्ट्रसंघको मौसम परिवर्तनसम्बन्धी एजेन्सीले जनाएको छ ।

तर आलोचकहरुले भने यसमा अझै धेरै गर्नुपर्ने बताउँछन् । जलवायु अनुकूलनका लागि हाल १६.७ अर्ब डलर खर्च गरिरहेका छन् जुन अनुमानित ७० अर्ब डलरको सानो हिस्सा मात्र हुन आउँछ । सन् २०३० सम्म यो खर्च बढेर ३०० अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।

४. समय द्रुत गतिमा सकिँदैछ

वैज्ञानिकहरूले लामो समयदेखि मानिसको गतिविधिले वातावरणमा ग्रिनहाउस ग्यास जम्मा गरिरहेको चेतावनी दिँदै आइरहेका छन् । तर, यसबारे केही वर्ष अघिदेखि मात्र ठोस कदम चाल्न थालिएको हो । अब विश्वको बढ्दो तापक्रमको विनाशकारी परिणामलाई मानिससँग १० वर्षभन्दा पनि कम समयमात्र बाँकी रहेको विश्वका शीर्ष वैज्ञानिकहरूले चेतावनी दिएका छन् । आगामी १० देखि २० वर्ष यस ग्रहमा मानव प्रजातिको अस्तित्वका लागि महत्त्वपूर्ण हुनेछ । ७० देशले सन् २०५० सम्ममा कार्बन तटस्थता हासिल गर्ने प्रतिबद्धता जनाएका छन् । तर विश्वभरको ८० प्रतिशत ग्यास उत्सर्जनमा विश्वका ठूला अर्थतन्त्र जिम्मेवार छन् । र, उनीहरूले यो प्रयासको नेतृत्व गर्नुपर्छ ।

५. आशाका कारणहरू

मौसमसम्बन्धी आपत्कालको चित्र स्पष्ट भइरहँदा यसका खराब परिणामहरूलाई अझै पनि रोक्न सकिने आशा भने बाँकी नै छ । ‘इन्टरगर्भमेन्टर प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी) ले हालै जारी गरेको रिपोर्ट मानव सभ्यताका लागि ‘खतराको रातो बत्ती’ थियो । तर, यसले पेरिस सम्झौता अनुसार १.५ डिग्रीको लक्ष्य भेट्नका लागि अझै ढिला नै भइनसकेको पनि स्पष्ट पारेको छ । ‘हामीसँग उक्त लक्ष्य भेट्टाउने उपकरणहरू पनि छन् । तर, समय भने द्रुत गतिमा सकिँदैछ,’ गुटेरेसले भने ।

जलवायु कार्य योजनाहरूमा तुरुन्त र कठोर सुधार धेरै देशबाट हुन अत्यन्तै आवश्यक छ । शून्य उत्सर्जनको लक्ष्य भेट्टाउनका लागि ती उपकरणहरू प्रविधिको विकाससँगै सस्तो पनि बनेका छन् । सोलार र विन्ड फार्मजस्ता नवीकरणीय ऊर्जा इन्धनभन्दा सफामात्र होइन, कहिलेकाहीँ सस्तो पनि बनेका छन् । विद्युतीय सवारीसधानको उत्पादन बढाउने योजनाहरु अघि बढाइएको छ । जुन सकारात्मक समाचार हो । ग्रिनहाउस ग्यासलाई घटाउने ‘प्रकृतिमा आधारित समाधान’ हरूलाई बढाउने प्रयास सुरु गरिएको छ । कार्बनलाई नियन्त्रण गर्ने प्रविधि पनि केही ठाउँमा सुरु गरिएको छ भने अन्यमा पनि यो सुरुवात हुँदैछ ।

अब हरित अर्थतन्त्रमा बदल्ने कुरा विश्वभरका नेताहरूले हातमा छ । ‘अब पनि विज्ञानलाई बेवास्ता नगरौँ । विश्वभरका मानिसहरूको मागलाई बेवास्ता नगरौँ,’ गुटेरेसले भने, ‘अब नेताहरूले उभिएर परिणाम दिनुपर्छ नत्र विश्वभरका जनताले दुखद मूल्य चुकाउनुपर्नेछ ।

स्रोत : अलजजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप