बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कोप २६ सम्मेलन : कम विकसित देशहरुले क्षतिपूर्ति पाउनुपर्ने नेपालको माग

आइतबार, १४ कात्तिक २०७८, १५ : १३
आइतबार, १४ कात्तिक २०७८

जलवायु परिवर्तनविरुद्ध जुध्नका लागि गरेको योगदानबापत कम विकसित देशहरुले पाउनुपर्ने क्षतिपुर्तिको मुद्दालाई नेपालले कोप २६ सम्मेलनमा उठाउने भएको छ । पेरिस जलवायु सम्झौतामा स्पष्टै रुपमा विकसित देशहरुले कम विकसित देशहरुलाई सहयोग गर्ने विषय उल्लेख भएकाले धनी देशहरुले आफ्ना प्रतिवद्धता पूरा गर्नुपर्ने नेपालको माग छ । यसका लागि आर्थिक संयन्त्र स्थापना गरेर अघि बढ्नुपर्ने नेपालको माग छ । कोप २६ सम्मेलन आजबाट स्कटल्यान्डको ग्लासगो शहरमा सुरु हुँदैछ । 

सम्मेलनमा नेपालले चारवटा एजेन्डालाई मुलरुपमा उठाउने वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयले तयार गरेको प्रतिवेदनमा यसबारे उल्लेख गरिएको छ । ‘केही महत्वपूर्ण क्षेत्रमा कोप २६ ले सफल नतिजा निकाल्ने नेपाल सरकारको विश्वास छ । यसमध्ये : १) कार्बन उत्सर्जन कटौती गर्नका लागि प्रतिवद्धता, ठोस कदम महत्वाकांक्षाको स्तरलाई वृद्धि गर्ने । २) नेपालजस्ता कम विकसित देशका लागि सहज, अपेक्षित र अतिरिक्त जलवायु फाइनान्सको व्यवस्था गर्ने  । ३) क्षती र नोक्सानीलाई फरक थिमका रुपमा मान्यता दिने । ४)  र सबैभन्दा महत्त्वपूर्ण एडप्टेनशन (अनुकुलता) र रिसाइलेन्सलाई सहयोग गर्न ठोस कदम चाल्ने अपेक्षा गरिएको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

पेरिस सम्झौतामा प्रतिबद्ध 
पेरिस जलवायु सम्झौता लागु गर्न नेपाल प्रतिबद्ध रहेको प्रतिवेदनमा उल्लेख छ । ‘नेपालले २०४५ सम्म कार्बन उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्य राखेको छ । त्यसका लागि नेपालले आफ्नो वन र जलस्रोतलाई व्यवस्थापन गर्ने तथा कार्बन उत्पादन हुने क्षेत्रमा  क्लिन इनर्जीको प्रयोग बढाउने संयुक्त दीर्घकालिन रणनीति अख्तियार गरेको छ ,’ प्रतिवेदनमा भनिएको छ,‘नेपालका धेरै मानिसहरु जंगल र जंगलका उत्पादनमा निर्भर छन् । वनले पर्यावरण चक्रका धेरै फाइदाहरु उपलब्ध गराउँछ र मानिसको राम्रोपन, आर्थिक समृद्धी र वातावरणीय दिर्घकालका लागि भूमिका खेल्छ । त्यसकारण,  दीर्घकालिन वन व्यवस्थापन गरिबी हटाउनका लागि महत्त्वपूर्ण छ ।  नेपालले समुदायमा आधारित वन व्यवस्थापन अंगीकार गर्दै आएको छ । अहिलेको अवस्थामा झन्डै ३० लाख हेक्टर जंगल समुदायमा आधारित भएर व्यवस्थापन गरिएको छ ।’

नेपालले ४५ प्रतिशत जमिनमा जंगल राख्ने राख्ने लक्ष्यअन्तर्गत ठूलो लगानी गरिरहेको पनि प्रतिवेदनमा उल्लेख छ । ‘ वन फडानी रोक्नका लागि नेपालले महत्वाकांक्षी योजना अघि सारिरहेको छ । त्यसैगरी कार्बनको उत्सर्जन कम गर्नु, एडप्टेसन र प्रकृतिमा आधारित समाधानहरू नेपालको प्राथमिकतामा छन् । औद्योगिक युगअघिको समयको दाँजोमा वैश्विक जलवायु परिवर्तनलाई (तापक्रम  वृद्धि) १ दशमलव ५ डिग्री सेल्सियसको बिन्दुभन्दा माथि पुग्न नदिने मामिलामा यी हाम्रो प्रयास कोशेढुंगा हुनसक्छ,’ प्रतिवेदनमा भनिएको छ,‘उत्सर्जन कम गर्ने बाटोमा एकत्रित रुपमा लाग्न नसकेमा, पेरिस सम्झौताअनुसार तापमान वृद्धिलाई १ दशमलव ५ डिग्रीमा सिमित गर्न नसके सबै देशहरुले समस्या भोग्नेछन् , तर सबैभन्दा ठूलो प्रभाव गरिब र कमजोर जनतामा पर्नेछ । जलवायु परिवर्तनले निम्त्याएका संकटहरुले अति असर गरेका अति कमजोर देशमध्ये नेपाल एक भएपनि हामीले प्रतिवद्ध भएर कदम चालिरहेका छौं ।’

सहयोग उपलब्ध गराउन माग 
पेरिस सम्झौतामा विकसित देशहरुले विकासशील देशहरुलाई सहयोग उपलब्ध गराउने स्पष्ट उल्लेख भएकाले त्यसअनुसार कदम चाल्दै प्रतिवद्धताहरु पूरा गर्न पनि नेपालले अन्य देशलाई आग्रह गरेको छ । ‘जलवायु परिवर्तन न्युनिकरण र अनुकुलन दुबैलाई ध्यानमा राख्दै विकसित देशहरुले विकासशील देशहरुलाई सहयोग उपलब्ध गराउने विषय पेरिस सम्झौतामा स्पष्ट रुपमा उल्लेख छ । त्यहीकारण विकसित देशहरुले नेपालसहितका देशहरुलाई आर्थिक सहयोग उपलब्ध गराउनुपर्छ । नेपालले प्रविधि र मापदण्डहरु थपेर आफ्नो महत्वाकांक्षालाई वृद्धी गर्न चाहेको छ र यसका लागि थप आर्थिक सहयोग आवश्यक छ । विकसित देशको सहयोग  बिना नेपाल र अन्य कम विकसित देशहरु आफ्ना नीतिलाई प्रभावकारी रुपमा लागु गर्न सक्षम छैनन् । त्यहीकारण नेपालले प्रविधि र अन्य क्षेत्रमा विकसित देशको सहयोग चाहेको छ,’ प्रतिवेदनमा भनिएको छ । 
 
कृषि 
नेपालजस्तो कम विकसित देशको ठूलो जनसंख्याको आर्थिक विकासमा कृषी क्षेत्र महत्वपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ । सुधारिएको पोषणयुक्त आहार, मलको व्यवस्थापन, सुधारिएको पशुपालन प्रणाली, एग्रो– पास्टोरल उत्पादन प्रणाली, सामाजिक–आर्थिक र खाद्यान्न सुरक्षाका पक्षहरु कृषी क्षेत्र र जलवायु परिवर्तन दुबैका लागि महत्वपूर्ण आयाम रहेको प्रतिवेदनमा उल्लेख छ । जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीबारे सान्टानियो नेटवर्कको पूर्ण अपरेशन सुनिश्चित हुनुपर्ने नेपालको माग छ  । ‘यसको मापदण्डअनुसार विपन्न देशहरूलाई सहयोग उपलब्ध गराइदिनु पर्छ । क्षती र नोक्सानीका लागि आर्थिक संयन्त्र स्थापना हुनुपर्छ । यस संयन्त्रले विपन्न र कमजोर देशको क्षती र नोक्सानीको आवश्यकता सम्बोधन गर्नका लागि बजेट पठाउने अनुमति दिनेछ,’ प्रतिवेदनमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप