कन्चटमा बन्दुक राखेका थिए, अल्लाहको नाममा छोडिदिए
नेपालमा रिङ रेस्लिङ खेल भित्र्याएर त्यसको प्रवद्र्धन गर्ने श्रेय भरतबहादुर विसुराल अर्थात् ‘द हिमालयन टाइगर’ लाई जान्छ । ६३ वर्षको उमेरमा पनि उनी यस खेलको प्रवद्र्धनमा निरन्तर सक्रिय छन् । बुढ्यौलीका बाबजुद २० वर्षका ठिटाहरूसँग रिङमा भिड्दै गरेको अवस्थामा देखिन्छन् । कुनै समय उनले अमेरिकामा डब्ल्यूडब्ल्यूएफका स्टारहरूसँग समेत रेस्लिङ खेलेका थिए । अमेरिका जानुअघि भने उनी राजनीतिमा सक्रिय थिए । कन्जरभेटिभ पार्टी स्थापना गरेर उनले २०४८ को निर्वाचनमा उम्मेदवारी दिए । ‘हामी जमानासँग होइन, हामीले जमाना चलाउनुपर्छ’ भन्ने उनको पार्टीको मुख्य सोच र नारा थियो । रेस्लिङमा देश विदेश परिचित भरतबहादुर विसुरालसँग रातोपाटीको ‘मेरो जीवन’ स्तम्भका लागि गरिएको कुराकानी उनकै शब्दमा :
मेरो खाना
नेपाली दाल, भात, तरकारी मेरो मनपर्ने खाना हो । चिकेन स्यान्डविच र माछामासु पनि मनपर्छ । सानोमा ढिँडो, खोले खान नपरे हुन्थ्यो भन्ने लाग्थ्यो, अहिले रक्सी ।
रेस्टुरेन्टमा राम्रोमा जाँदा धेरै खर्च हुन्छ । त्यसैले रेस्टुरेन्ट, क्याफे कहिलेकाहीँ साथीसँग मात्र जान्छु । आफ्नो फ्यामिली भएकोले रेस्टुरेन्टको एकपटकको खर्चले घरमा एक हप्ता चल्छ भन्ने लाग्छ । पहिले त आफै पकाउँथे पनि । अहिले पकाउँदिनँ, मैले पकाएको मन पराउँदैनन् ।
मेरो फिट्नेस
फिट्नेसमा सजग छु । दैनिक बिहान नर्मलदेखि हेभी एक्सरसाइजसम्म गर्छु । मिटिङ, चाड, महत्त्वपूर्ण कामले बिहान एक्सरसाइज गर्न भ्याइन भने दिउँसो गर्छु । एक्सरसाइजका लागि क्लब जाँदिनँ । आफूलाई आवश्यक सामान घरमै छ ।
एक्सरसाइजमा हरेक दिन बेन्चप्रेस ६०, ७० किलो, त्यसपछि बाइसेट, ट्राइसेट, ब्याक, लेग सबै गर्छु । उमेरमा योभन्दा धेरै गर्ने गरेको थिएँ र जिममा आउने व्यक्तिसँग स्पर्धासमेत हुन्थ्यो । एक्सरसाइज धेरै होइन, थोरै भए पनि नियमित गर्नु राम्रो हो ।
मेरो पोसाक
सन् १९८८ मा नेपाल आर्मी छोडेर लेबनानको अन्तर्राष्ट्रिय रेडक्रसमा काम गर्थें । त्यहाँबाट फर्किएपछि कन्जरभेटिभ पार्टीका लागि लमजुङबाट माननीयको चुनाव लडेको समय राष्ट्रिय पोसाक दौरासुरुवाल लगाएँ । चुनाव हारेपछि कोट पाइन्टमा हिँड्न थालेँ ।
पछिल्लो समय कोट, पाइन्ट, सट, इस्टकोट लगायत लगाउँछु । कालो, सेतो, लाइट नीलो मेरो मनपर्ने पहिरन कलर हो । यसमा बुट्टे टाई प्रयोग गर्छु । पहिरनमा ब्रान्ड हेर्दिनँ । नयाँ र घरमा भएको भन्दा फरक किन्छु ।
मेरो अध्ययन
अध्ययनमा रुचि छ । ऐतिहासिक, सेतो बाघ, बीपीका पुस्तक, महात्मा गान्धी विषयका पुस्तक पढेको छु । राजनीतिक ऐतिहासिक घटना क्रममा लेखिएका पुस्तक अध्ययनमा बढी रुचि छ ।
मेरो घुमफिर
घुमघाममा धेरै रुचि छ । विदेशका ठूलाठूला सहरहरू घुमियो । अहिलेको रुचि प्राकृतिक सौन्दर्यले भरिएको ठाउँ घुम्ने छ । अमेरिकामा बस्दा पनि हरियाली भएको ठाउँहरू मनपथ्र्याे ।
नेपालका करिब ४७ जिल्ला घुमेको छु । विदेशका हङ्कङ, अमेरिका, बैङ्कक, कुवेत, लेबलान, इजरायल, कतार, जापान पटक पटक पुगेको छु ।
मेरो खेलकुद
म खेलाडी हो । झन्डै तीस वर्ष विदेश बसेँ । रेस्लिङ खेलमा मेरो ‘हिमालय टाइगर’का रूपमा अन्तर्राष्ट्रिय पहिचान छ । मेरो सानैदेखि खेलकुदमा रुचि थियो । स्कुलमा भलिबल, कबड्डी र क्रिकेट जस्तै खेल गिर भन्नेसमेत खेलिन्थ्यो । त्यसपछि आर्मीमा हाइजम्प, लङ्जम्प, कमान्डो गरियो । त्यसपछि म रेस्लिङमा आएँ ।
सन् १९८७ मा म आर्मीको जागिरमा लेबलान गएँ । त्यहाँ लडाइँ झगडा धेरै हुन्थ्यो । दुई, चारजना हतियारधारीको हतियार खोसेर म अरूलाई बुझाउँथे ।
एक पटक १५, १६ जना हतियारधारीले घेरा हालेर आक्रमण गरे । उनीहरूको योजना मलाई सुट गर्ने थियो । मेरो कन्चटमा उनीहरूको बन्दुक थियो । मैले उनीहरूको एक साथी कब्जा लिएँ । त्यसपछि उनीहरूले डोरीले जाल हाले । केही गर्न सकेनन् । ‘तँलाई त मार्ने नै हो, आरामसँग मार्छौं । समपर्ण गर भने । मैले चलाखी गर्दै भने, ‘तिमी म साथी, तिम्रो र मेरो धर्म एउटै इस्लाम भने । एउटै मानिस कसरी मार्न मिल्छ ।’ उनीहरूले प्रार्थना गर्न लगाए ।
त्यहाँ मेरो अङ्ग्रेजी निस्किएको भए म मर्थें । मैले अङ्ग्रेजी लुकाएर अरबीमा बोलेँ, इस्लाम प्रार्थना गरेँ । त्यसपछि उनीहरूले ४ दिनमा लेबलान छोड्ने सर्त गराएर इस्लामको नाममा छोडिदिए । फ्रान्स र कुवेत हुँदै नेपाल फर्किएँ । हिन्दू भन्ने पत्तो पाएको भए उनीहरुले सायद छोड्ने थिएनन् ।
त्यसको केही समयपछि अमेरिका घुम्न गएँ । त्यो समय एक दिन मेडिसिन स्क्वायर गार्डेनमा डब्ल्यूडब्ल्यूएफ रेस्लिङ हेर्न गएको थिएँ । त्यहाँ हल्क हगन र आन्द्रे जायन्टको प्रतिस्पर्धा रहेछ । एक सय ८० डलर तिरेर खेल हेरेँ । त्यस भिडन्तअघि अन्य दुई रेस्लर झण्डा बोकेर आए । एउटासँग इरानको र अर्कोसँग रुसको झण्डा थियो । दुवै रेस्लरले एकको झण्डालाई अर्कोले आदरसाथ ढोगे ।
मलाई पनि नेपालको झण्डा त्यहाँ फहराउन मन लाग्यो । यदि रेस्लिङ जानियो भने नेपालको झण्डा बोकेर रिङमा पुग्न सकिने रहेछ भन्ने योजना फु¥यो । म रेस्लिङ सिक्नका लागि एकेडेमीमा गएँ । मेरो गुरु त्यहाँको जानी राज हुन् । रेस्लिङको तालिम सकिएपछि एथेलेटिक लाइसेन्सका लागि निवेदन दिए । सबै मेडिकल चेकअप पछि नाम सोधियो । मैले ‘हिमालयन टाइगर’ बताएँ ।
हिमालयमा त टाइगर हुँदैन ? किन यस्तो नाम राखेको भनेर सोधे ? मैले, ‘मेरो देश हिमालले भरिएको र टाइगर आफ्नो नेचर भनेर बुझाए ।’ १९८९ बाट मैले लसभेगासको नेभादामा नेपाली झण्डा बोकेर खेल्न थालेँ । मेरो पहिलो गेम ब्ल्याक प्यान्थरसँग थियो । ब्रद दिबान, बुलिरियो लगायतसँग मैले धेरै म्याच खेले । त्यो समय वर्षमा ९२–९३ म्याच खेलेँ । जसको पारिश्रमिक एक लाख ७५ हजार डलर आयो । ५७ हजार ट्याक्सतिरे, १९ हजार आफ्नो गर्धनको उपचार गरेँ । अमेरिकामा त्यस्तो खेल धेरै खेलेँ, जापानमा ८०, ९०, अस्ट्रेलिया, इटली, अफ्रिका, भारत धेरै देशमा थुप्रै म्याच खेलेँ ।
रेस्लिङले मेरो करङ भाँचियो । त्यो समय मैले चाहेको भए धेरैको करङ भाँच्नसक्थे । तर मैले धेरै विचार गरेर प्रतिस्पर्धी जोगाएँ । जोगाउँदा जोगाउँदै पनि एकको त करङ भाँचियो । मैले धेरै देशमा समेत रेस्लिङ प्रशिक्षण दिएको छु । नेपालमा पनि प्रशिक्षण दिन्छु । ढिलो दिन्छु तर व्यावसायिक रेस्लर तयार गर्छु । अहिले म ६३ वर्षको भएँ । ७० सम्म आफूलाई उभ्याउन सक्छु भन्ने लाग्छ ।
मेरो मोबाइल
मसँग अहिले एमआई ब्रान्डको एउटा मोबाइल छ । मोबाइलका धेरै फङ्सन चलाउन जान्दछु तर चलाउँदिनँ । यो सकेसम्म फोनका लागि मात्र प्रयोग गर्छु । इमेल, फेसबुकलगायत केही सामाजिक सञ्जाल भने चलाउँछु । सामाजिक सञ्जाल चलाउन यो मोबाइल सजिलो साधन पनि हो ।
टिभी र चलचित्र
टीभी हेर्छु । टीभीमा समाचार, रेस्लिङ, फुटबल लगायत खेलहरू हेर्छु । मनोरञ्जनात्मक सिरियल पनि हेर्छु । पहिले ‘जिरे खुर्सानी’, ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत हेर्थें । म आफैले गाईजात्रा, भद्रगोल लगायत सिरियलमा समेत अभिनय गरेको थिएँ ।
विसं २०६० यता फिल्म हेर्न हलमा छिरेको छैन । त्यसअगाडि मेरो चेलो रामबाबु गुरुङले बनाएका ‘अनागरिक’ र त्यसपछि ‘घर आँगन’ भन्ने फिल्म हेरेको थिएँ । हिरो, हिरोइन, एक्सन, फेसन, रोमान्स लगायतका लागि हेर्न मनपर्छ । कहिलेकाहीँ बजारमा राम्रो भनेर हल्ला भएको फिल्म मेकरलाई हौसलाको लागि हेर्छु । आर्मीको ट्रेनिङका लागि दुई वर्ष भारत बस्दा भने धेरै फिल्म हेरियो ।
मेरो विवाह
विवाह ४ पटक भयो । अहिलेसँगै भएकी श्रीमती कान्छी हुन् । पहिलो विवाह विसंं २०३५ मा भएको थियो । त्यो समय विवाहका लागि काठमाडौँ बागडोलकी एक खड्काकी छोरी मागेको थिए, दिएनन् । त्यसपछि पहाड गएर बिहे गरेँ, त्यो विवाह डेढ वर्ष मात्र टिक्यो । विवाह गरेर मैले उनलाई धनगढी राखेर नेपालगञ्जमा आर्मी ट्रेनिङमा गए । पछि उनलाई दिल्लीको मानिसले लगेछ ।
यता मलाई पनि पहिले नदिने भनेको काठमाडौँकी केटीको परिवारबाट कुरा आयो । र, २०३७ मा दोस्रो विवाह गरेँ, उनीबाट ४४ सालमा छोरो जन्मियो । त्यसपछि म भ्रमणका लागि अमेरिका लागेँ । उतै हुँदा दोस्री पत्नी पनि बितेको खबर आयो ।
त्यसपछि अमेरिकामै त्यहीँको केटी विवाह गरेँ । उनी पहिलेदेखि मेरो साथी थिइन् । उनीबाट एक छोरा र छोरी भएपछि म नेपाल आएँ । किन–किन त्यो समय अमेरिका छिट्टै फर्कन मन लागेन । उनीहरूले पहिले नेपाल नजा पनि भन्थे । केही समयपछि अमेरिकामा उनले अर्काे केटा रोजेको थाहा भयो । उनलाई डिभोर्स दिन अमेरिका गएँ । त्यहाँको घर र अन्य सेयर छोराछोरीका लागि छोडिदिएर देश फर्किएँ ।
नेपाल फर्किएको दुई वर्षमा फेरि अर्काे विवाह गरेँ, जो अहिलेकी मेरी श्रीमती हुन् । उनीबाट दुई छोरी र एक छोरा छन् ।
मेरो सपना
देशमा ‘हिमालयन टाइगर’को नामबाट एउटा रेस्लिङ एकेडेमी खोल्ने सपना छ । मेरो मृत्युपछि चेला हराउने र आफूले यसमा गरेको दुःख सकिने डरले धनको लोभ नगरेर बनाउन मन छ । केही पहिले केशव स्थापितले रेस्लिङ एकडेमीका लागि ५ रोपनी जग्गा दिन्छु भनेका थिए । त्यो कुरो अहिले हरायो ।
मेरो भुल
जीवनको पाइलैपिच्छे भुल गरे कि भन्ने लाग्छ । कसरी मोक्ष मिल्छ भन्ने छ । विदेश जाने बेलामा बुबाले नजा भन्नुभएको थियो । छिट्टै आउँछु, आउन ढिलो गरेँ भने अन्तिम समयमा सराप नदिनु भनेको थिएँ ।
म गएको एक वर्षपछि बुबा बित्नु भएको रहेछ । मैले ११ वर्षपछि त्यो थाहा पाएँ । मर्ने बेलामा बुबाले धेरै खोज्नु भएको आमाबाट थाहा भयो । अन्तिम समयमा बुबा भेट्न सकिनँ, पछुतो छ ।
मेरो खराब बानी
अरूका लागि सुस्त र सफ्ट छु । चेला लगायत कसैले पनि आफूलाई हानि पुर्याउँदा समेत प्रतिकार गर्दिन । यो मेरो खराब बानी हो कि । मानिसलाई रवाफ देखाएर कन्ट्रोलमा राख्नुपर्ने रहेछ । सबैसँग मायाले, नरम व्यवहारले प्रस्तुत हुनु मेरो खराब पक्ष रहेछ । अर्काे कुरो मैले अमेरिकामा कमाएको पैसा जोगाउन सकिनँ ।
११ वर्ष आर्मी
११ वर्ष काम गरेपछि आर्मीको जागिर गरेर छोडेँ । त्यस क्रममा धेरै उतारचढाव भोगेको छु । त्यो कहानी लामो छ, पछि गरौँला ।
मेरो राजनीति
विसं २०४७ मा आफै अध्यक्ष भएर कन्जरभेटिभ पार्टी खोलेर राजनीति होमिएको थिएँ । ‘हामी जमानासँग होइन, हामीले जमाना चलाउनुपर्छ’ भन्ने पार्टीको नारा थियो । पार्टीबाट ०४८ सालको चुनावमा लमजुङ १ र २, काठमाडौँका ३ र ललितपुर ३ गरी गरी कुल चारवटा निर्वाचन क्षेत्रबाट एकैपटक उम्मेदवारी दिएँ ।
चुनाव हारेको केही समयपछि तत्कालीन मुख्य सचिव रेवतीरमण खनालले मलाई राजा वीरेन्द्र भेट गर्ने वातावरण बनाइदिनुभयो । त्यतिबेला ३ घण्टा राजासँग मेरो वार्ता भएको थियो । त्यस वार्तामा मैले दरबारमा डेकोरेसन रहेनछ र सुरक्षाको सिस्टम चुस्त रहेनछ भनेर आफ्ना कुरा राखेको थिएँ ।
त्यसको केही समयपछि अमेरिका लागेँ । २०६२ मा नेपाल फर्किए फेरि पार्टी रिन्यु गरेँ, पछि बन्द भयो। २०७० मा मैले स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ–१० मा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनावमा भिडेँ । जसरी रेस्लिङमा बलियो, ठूलो र च्याम्पियनसँग प्रतिस्पर्धा हुन्छ, त्यसरी नै चुनावमा पनि ठूलासँग भिड्नुपर्छ भन्ने मेरो मान्यता थियो । कतिपयले चन्दा उठाउन चुनाव लडेको आरोप लगाए । मैले कसैसँग एकपैसा पनि चन्दा उठाएको छैन ।
मेरो रोग
रोग छैन, अहिले रोग भनेकै डर हो । पार्किन्सन, अल्जाइमर, नसा रोग लाग्छ कि भन्ने डर छ । शरीरको केमिकल लिक हुन्छ कि भन्ने डर छ । किनभने मैले अन्धाधुन्ध रेसलिङ खेलेँ । अमेरिकामा एकै रातमा तीनवटासम्म रेस्लिङ म्याच खेल्थेँ । खेल्दिनँ भनेर खाटमुनि सुत्दा पनि लिन आउँथे ।
करङ भाँचिदा पनि रेस्लिङ खेलेँ । त्यो समयको क्रियाकलापले अहिले शारीरिक ब्यालेन्स मिलाउन गाह्रो भएको छ । रोग लाग्ने बित्तिक्कै जान पाए हुन्थ्यो भन्ने छ । रोग नभए पनि लाग्नसक्ने डर छ । त्यसैले ब्यालेन्स गर्ने औषधि लिन्छु ।
मेरो मापसे
मापसे पहिले अलि–अलि गर्थें । आजकल बाध्य भएर सगुनका रूपमा खानुपर्दा मात्रै हो । नत्र मापसेको बानी छैन । बरु म शरीरलाई सन्तुलित राख्ने आहार र औषधिहरू लिन्छु ।
मेरो राशि ‘मीन’
मेरो राशि ‘मीन’ हो । ग्रहदशामा विश्वास पहिले लाग्थ्यो । त्यसैले मैले धेरै मन्दिरसमेत बनाएँ । पछिल्लो समय धेरै देश घुमेर बुझेर होला विश्वास लाग्न छाड्यो । मृत्युपछि के होला भन्ने विषयमा भने मेरो चासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झारखण्डको विधानसभा निर्वाचनमा भाजपा र जेएमएमको प्रतिस्पर्धा, काङ्ग्रेस पछिपछि
-
नवलपुरमा गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु
-
दोस्तोयभ्स्कीका पाँच उपन्यास
-
आइपीटीपी बैठकमा सहभागी हुन सभामुख घिमिरे कम्बोडियामा
-
तेक्वान्दो प्रशिक्षक अधिकारीलाई आउटस्टयान्डिङ सम्मान
-
धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा ५ हजार