‘आफ्नै सङ्गीतले धेरै पटक रुवाएको छ’
सुरेश अधिकारी नेपाली साङ्गीतिक क्षेत्रका एक सफल सङ्गीतकार हुन् । फिल्मदेखि फुटकरसम्म उनले आफ्नो सङ्गीतमा थुप्रै हिट गीत दिएका छन् । सानैदेखि गीतसङ्गीतको क्षेत्रमा होमिएका उनले अहिलेसम्मको करियरमा डेढ सयको हाराहारीमा चलचित्र, २ हजार हाराहारी फुटकर गीत दिएका छन् ।
राष्ट्रिय, भजन गीतदेखि आधुनिकसम्म सबै प्रकारका गीतमा सङ्गीत भरेका अधिकारीका माया प्रेमका, प्रेमपिडा र दुःखका कथा समेटिएका गीतले धेरैलाई रुवाउने गरेका छन् । कतिपय अवस्थामा उनी आफ्नै पनि आफ्नो गीत सुनेर रुने गर्दछन् । सङ्गीत रोयल्टी सङ्कलन समाजमा रहेर लामो समयदेखि गीतसङ्गीत र स्रष्टाका हितमा काम गर्दै आएका भर्सन टायल सङ्गीतकार सुरेश अधिकारीको जीवनका केही भित्री पाटो रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।
पकाउन रुचि छ
सामान्य नेपाली दाल, भात, तरकारी र अचार मेरो मन पर्ने खाना हो । मन नपर्ने केही छैन । माछामासु पनि मनपर्छ । तर कहिलेकाहीँ हेर्नै मन लाग्दैन । साउथ इन्डियन खानामा नरिवलको छोप नहाले मिठो हुन्थ्यो जस्तो लाग्छ । पकाउन रुचि छ । कहिलेकाहीँ पकाउँछु ।
रनिङ गर्थे
पहिले धेरै रनिङ गर्थे । अहिले त्यो पनि छुटेको छ । कोरोना कारण र घरको कामले धेरै समय घर बाहिर रहनु परेकोले रनिङ छुट्यो । अहिले कामको दौडधुपले फिटनेसको पुगेको छ ।
ड्रेस बाध्यता
पोसाक क्याजुअल मनपर्छ । बाध्यता, धेरै समय फर्मल ड्रेसमा हिँड्नुपर्छ । घरमा बस्दा गर्मीमा हाफपाइट र टिसर्ट अनि जाडोमा ट्रयाकसुट बढी प्रयोग गर्छु । बाहिर हिँड्दा सर्टपाइन्ट, कोट प्रयोग गर्छु । विशेष कार्यक्रम, फर्मल कार्यक्रममा सर्ट, पाइन्ट, कोट र दौरा सुरुवाल लगाउँछु । राष्ट्रिय र औपचारिक कार्यक्रममा दौरा सुरुवाल नै प्रयोग गर्छु ।
पहिरनमा पहिले स्काई ब्लु मनपर्थ्यो । अहिले पहेँलो मन पर्न थालेको छ । पहेँलो शुभकलर रहेछ । पोसाक कहिले सिलाउँछु , कहिले रेडिमेड किन्छु । पहिरनमा अरमानी ब्राण्ड मनपर्छ ।
रुचि धेरै छ
घुमघाममा धेरै रुचि छ । चर्चित ठाउँ भन्दा पनि ओझेलिएको ठाउँ मनपर्छ । जुनै नराम्रो ठाउँमा पनि केही न केही सुन्दरता हुन्छ भन्ने मेरो धारणा हो ।
देशको दार्चुला, हुम्ला, मुगु लगायत ४, ५ जिल्ला पुगेको छैन, अन्य सबै घुमे । विदेशका युरोप, अमेरिका, एसियालगायत धेरै मुलुक घुमे, अफ्रिका, अस्ट्रेलिया जान पाएको छैन । दक्षिण अमेरिका एकपटक घुम्न मन लागेको छ । विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा त्यहाँका सङ्गीतकारहरू भेट्दा उनीहरूको स्वभाव नेपालीसँग मिल्दोजुल्दो पाएको छु ।
अध्ययन अलि अलि
पहिले धेरै अध्ययन गर्थे, अलिअलि गर्छु । पहिले विश्व प्रसिद्ध पुस्तक पढ्न मन लाग्थ्यो । धेरै चर्चित व्यक्तिको बारेमा पनि पढ्थे । वीपी कोइरालाका पुस्तक, दर्शन सम्बन्धी पुस्तक, उपन्यास पढ्छु । पछिल्लो समय अध्ययनका लागि केही किताब राखेको छु । त्यो पढ्न भ्याएको छैन ।
खेलाडी म
स्कुल छुटेपछि खेलकुद पुरै छुट्यो । स्कुल पढ्दा खेलाडी थिए । धेरै फुटबल खेल्थेँ । विद्यालय, जिल्ला स्तरीय फुटबल गेमहरूमा भाग लिन्थेँ । पुरस्कार जित्थेँ । अहिले खेल्न भ्याइन्न । सक्दिन पनि । पछिल्लो समय वर्ल्डकप, युरोकप, नेपाल भारत मैत्री फुटबल लगायतका गमे हेर्छु ।
म दुईवटा सिम लाग्ने एमवाई सेभेन प्रो मोबाइल बोक्छु । मोबाइल धेरै फेर्ने र हराउनेमा पर्छु म । उपहार पनि धेरै पाउँछु । उपहार बढी आइफोन आउँछन् । उपहार पाएको ३, ४ वटा आइफोन घरमा त्यतिकै छ ।
जीवनको अति आवश्यक साधनमा हो मोबाइल । हाम्रो क्षेत्रका लागि यो विशेष काम लाग्छ । यसबाट हामीले कम्पोज समेत पठाउन सक्छौ । देश विदेशका समाचार पढ्न, गुगलमा विभिन्न आवश्यक विषयवस्तुको खोज गर्न, फोन गर्न, भाइबर, युट्युबलगायत सामाजिक सञ्जाल चलाउने, तस्बिर खिच्नेदेखि हरेक प्रयोजनका लागि मोबाइल प्रयोग गर्छु । मोबाइल नभए जीवन अँध्यारो हुन्छ जस्तो लाग्छ ।
खराब बानी
विभिन्न कारणले पुग्नुपर्ने स्थानमा समयमा पुग्न सक्दिन । सोही कारणले धेरैले समयमा आइपुग्दैनस् भनेर गाली गर्छन् । यो मेरो खराब बानी हो ।
मन पर्ने डिस्कभरी
टिभी पहिले धेरै हेरिन्थ्यो । अहिले युट्युब, सामाजिक सञ्जालले गर्दा टिभीको महत्त्व घट्दै गएको छ । टिभीमा बढी हेर्ने डिस्कभरी र वाइल्ड लाईफ हो । यसमा आफूले प्रत्यक्ष देख्न नपाइने कुरा हेर्न पाइन्छ ।
फिल्म हेर्छु
नेपाली, हिन्दी, अङ्ग्रेजीलगायत सबै प्रकारका चलचित्र हेर्छु । चर्चित चलचित्रहरू हलमै गएर हेर्छु । घरमा टिभी, ल्यापटपमा समेत हेर्छु ।
पछिल्लो समय हेरेको चलचित्र याद भएन । गम्भीर विषयवस्तुले भरिएका, मानिसहरूका लागि आवश्यक खुराक धेरै दिएका, राम्रो, जीवन उपयोगी विषयले भरिएका, यथार्थपरक, ऐतिहासिक, मनोरञ्जनात्मक, एक्सन फिल्म मनपर्छ । बढी मन पर्ने फिल्म कमेडी नै हो ।
मागी विवाह
विसं २०५२ साल वैशाख ७ गते मैले काठमाडौँकै केटीसँग मागी विवाह गरेको हो । मेरो जोडी बुबाआमाले जुराइदिनु भएको हो । प्रेम विवाहपछि श्रीमतीसँगै बस्यो । सङ्गीतको कारणले म सार्वजनिक जीवनमा रहे । त्यसैले पारिवारिक जीवन मेरो सन्तोषजनक रहेन । विवाह अगाडि भने प्रेम गर्ने, डेटिङ जाने अवसर मिलेन । किनभने म ९ कक्षामै मैले सङ्गीत निर्देशकको काम थालिसकेको थिए ।
आफ्नै गीतले रुवायो
सानैदेखि सङ्गीतप्रति रुचि थियो । गीत गाउन लगाउथे । मेरो गीत सुनेर मानिस खुसी हुन्थे । गीत हो बुझ्ने समयदेखि गीत गायनमा छु । स्कुलमा फेमस थिएँ । ४, ५ कक्षामा पढ्दा धेरै थरी बाजा बजाउन सक्थे । ९ कक्षा पास गर्दा युनिक म्युजिकल कन्सर्न भन्ने एउटा निजी सङ्गीत कम्पनीमा म्युजिक निर्देशकको रूपमा गर्न थाले ।
सानैदेखि म गीतसङ्गीतमै छु । जीवनमा उतारचढाव धेरै आए । तर गीतसङ्गीतबाट भागेको छैन । म आफैले सङ्गीत गर्न थालेको २०३८ बाट हो । त्यो समय रेडियो नेपालको बाल गीत प्रतियोगितामा आफ्नै कम्पोजमा ‘डाँफे मुनाल साथी मेरो भन्ने’ बोलको गीत गाएको थिए ।
साङ्गीतिक करियरको यो दौरानमा अहिलेसम्म डेढ सयको हाराहारीमा चलचित्र, २ हजार हाराहारी फुटकर गीत गरे होला । ती मध्य रोमान्टिक गीत थोरै छन् । भजनसंगीत र राष्ट्रिय गीत अलि अलि छ । नेपाली भावनाले ओतप्रोत भएको र धेरै साहित्यले भरिएको गीत मनपर्छ मलाई । यो बाहेकका बीचका गीत मेरो व्यवसायिक बाध्यता हो । मेरा गीत माया प्रेमका कथा र प्रेमपिडाका पनि छन् ।
आफ्नै गीतसङ्गीतले मलाई धेरै पटक रुवाएको छ । ‘पिठिउँमा सेउलाको भारी’ बोलको गीत बनाउने बेला म धेरै पटक रोएको थिए । गीत बनाउँदिन भनेर लेखेको च्यातेर फालेको थिएँ । फाले पछि फेरि पुरा गर्न मन लाग्थ्यो । मुम्बईमा एकपटक ‘जुनी जुनी’ गीत रेकर्डको क्रममा म र गायिका सञ्जीवनी मात्र होइन, भाषा नबुझ्ने रेकर्डिष्ट पनि रोएका थिए । आफूले सङ्गीत गरेको गीतले मन छोएर पटक रोएको छु । ‘म मरेको पल तिमी डोली चढ्नु, ‘एक धर्काे सिन्दूर त के होला’ लगायत धेरै गीत मेरा छन् । जसले सबैलाई रुवाएको छ ।
हाम्रो देशमा सङ्गीतमा अर्केष्ट्राको विकास जुन लेबलको हुनुपर्थ्यो । त्यो हुन सकेको छैन । हामी जति सङ्गीतकार छौ । सबैले आ आफ्नै किसिमको अर्केष्ट्राको विकास गर्न सकेनौ । सङ्गीतकार भनेको एउटा व्यक्ति होइन । सङ्गठन हो । त्यसको पछाडि धेरै कुरा जोडिएको हुन्छ । गायक, गायिका, बाध्यवादक, लेखकहरूको ठुलो समूह हुन्छ ।
हामीले कुनै पनि देशको कुनै सङ्गीतकारको टेस्ट हेर्ने हो भने व्यक्ति अनुसार फरक छन् । छिमेकी मुलुक भारतलाई नियाल्ने हो भने लक्ष्मीकान्त प्यारेलाल, आरडी बरमन लगायत सबैको अलग अलग टेस्ट छ । नेपालका सङ्गीतकार कसैले पनि टेस्ट ट्रेन ल्याउन सकेनन् ।
किनभने यहाँ सबैले एउटै म्युजिसियन, एरेन्जर प्रयोग गर्नुपर्ने बाध्यता छ । त्यो कारणले सङ्गीतमा कसैको फरक फ्लेभर रहेन । थोरै कम्पोजको फरक पनले मात्र यो यसको सङ्गीत भन्न सकिएको हो । अन्य देशमा भएको भए सबै सङ्गीतकारको आफ्नै ब्याण्ड हुन्थ्यो । त्यो म्युजिसियनको हात पनि उहाँकै रूपमा विकास हुन्थ्यो ।
अहिले भारतको एआर रहेमान विश्वमा चिनिनुको कारण उनको आफ्नै अर्केष्ट्रा हुनु हो । नेपालमा यदि उहाँ हुन भएको भए उहाँको हालत पनि हाम्रो जस्तो हुन्थ्यो । मलाई सङ्गीतकार भएर मैले आफ्नो एउटा अर्केष्ट्रा विकाश गर्न सकिन भन्ने हीनताबोध हुन्छ ।
गीतसङ्गीतमा नभएको भए म राजनीतिमा वा वकिलको पेसामा हुन्थे । किनभने सो समय कानुन पढ्न सजिलो थियो । राजनीतिमा मेरो बुबाको ब्याकग्राउण्ड थियो ।
सङ्गीत छोड्छु
मेरो पहिलेदेखि अहिलेसम्म एउटै सपना छ । त्यो हो सबैले सुन्न लायक, अति सुमधुर, एउटा राम्रो गीत बनाउने । अहिलेसम्म आफूले गरेको सङ्गीतमा चित्त बुझेकै छैन । आफूले गरेको सङ्गीतमा चित्त बुझेको त्यो दिन म सङ्गीत छोड्छु । मैले धेरै सङ्गीत गरेको छु । राम्रा पनि छन् । तर भित्रैबाट सन्तुष्टि मिल्न सकेको छैन ।
एकता छैन
अरू पेसामा भएका मानिस एकअर्काेसँग मिलेर बसेका छन् । एक भएर आफ्नो पेसाको श्रीबृद्धीमा होमिएका छन् । हाम्रो सङ्गीतकर्मीहरू बिच भने एकता छैन । यसले नराम्रो फिल गराउँछ । हामीमा सामूहिकता टाढा भागिरहेको छ । जब मैले यो क्षेत्रमा नाम र आफ्नो स्थान बनाए । त्यो समयदेखि सबै संगीतिककर्मीलाई जोड्न लागि परेको छु । एक अर्कोको सम्मान, सिर्जनाको कदर गर्ने, प्रोत्साहन र प्रशंसा गर्ने संस्कृति छैन । यो पेसामा अग्रजलाई सम्मान र अनुजलाई माया गर्ने संस्कार छैन । भविष्य सुरक्षित हुने वातावरण अझै बन्न सकेन ।
गीत सुन्छु
कहिले काहीँ रक गीत, कहिले लोकगीत, पप, आधुनिक र सुगम सङ्गीत समेत सुन्छु । गजलहरू पनि त्यतिकै मनपर्छन् । बुझ्दै नबुझ्ने कोरियन भाषाका गीत पनि । मनपर्छ । सबै संगीतको आ–आफ्नो टेस्ट छ । राती सुत्ने बेला पनि गीतसङ्गीतहरू सुन्न मनलाग्छ ।
भूल धेरै भए
जीवनमा भुल कति भए कति । दिनमै ६, ७ चोटि भुल भएका छन् । जीवनमा पछुताउनु पर्ने भुल पनि भए । अहिले भनेर कसैलाई फाइदा छैन । जे जति भुल भएका छन् । सबैबाट केही, न केही सिकेको छु ।
रमाइलोका लागि पिउँछु
मापसे भनेर पिउँदिन । रमाइलोका लागि पिउँछु । सधैँ लिनैपर्छ भन्ने छैन । साथीभाइले कर गरे भने नाइँ भन्न सक्दिन । पिउँदा यही ब्राण्ड भन्ने छैन । सकेसम्म राम्रो ब्राण्ड रोज्छु ।
सुगर छ
भगवानको कृपाले अहिलेसम्म ठुलो रोग केही थिएन । केही समय अगाडिदेखि सुगर देखिएको छ । त्यसका लागि नियमित औषधी दिन थालेको छु ।
धेरै लाग्छ नि
मेरो राशि ‘धनु’ हो । ग्रहदशामा विश्वास धेरै लाग्छ । हेराउन, जुराउने सबै गर्छु । साथीभाइ, परिवारले हेराउने, जुराउने ठाउँमा समेत लान्छन् ।
मृत्यु इमान्दार साथी
मृत्यु इमान्दार साथी हो । उ अहिले अन्तकतै व्यस्त छ । एक दिन म कहाँ अवश्य आउँछ । त्यो दिन सँगै जानुपर्छ । सबै छोडेर । मृत्युपछि पछि सम्झने भनेको हामीले गरेको काम हो । त्यही आत्मसन्तुष्टि अहिलेसम्म रमाइरहेको छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्लगर कार्की भन्छन्, ‘जिब्रो चिप्लियो, माफ गरिदिनुहोला’
-
पाल्पामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु
-
भ्लगर रतन कार्कीले भने, ‘त्यो शब्दको लागि माफी चाहन्छु’
-
डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद : सर्वोच्चले खारेज गर्यो हिमाल आइरनको रिट
-
स्टेफन इस्किनाजी काठमाडौँ गुर्खाजमा
-
उमागौरी कृषि सहकारीमा छापा, ताला फुटाएर कागजात लगेको अध्यक्ष रौनियारको आरोप