बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दलको मौनताप्रति न्यायाधीशको आक्रोश, एक्लिए चोलेन्द्र

सर्वोच्चका न्यायाधीश भन्छन्– शुक्रबार पनि इजलास बस्दैन
बिहीबार, ११ कात्तिक २०७८, २१ : १०
बिहीबार, ११ कात्तिक २०७८

कुनै समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका प्रिय न्यायाधीशका रूपमा चिनिएका न्यायाधीश तेजबहादुर केसीले पनि बिहीबारदेखि प्रधानन्यायाधीशको साथ छाडेका छन् । बिहीबार दुई न्यायाधीशलाई सन्देश पठाएर न्यायाधीशहरूको आन्दोलनमा केसीले ऐक्यबद्धता जनाएका छन् । यससँगै प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरा थप एक्लिएका छन् ।

यसअघि नै प्रधानन्यायाधीशका नजिक रहेका भनिएका थप तीनजना न्यायाधीशले पनि कित्ता परिवर्तन गरेसँगै यतिबेला सर्वोच्च अदालतमा १९ न्यायाधीश एकातिर र प्रधानन्यायाधीश अर्कोतिर देखिएका छन् । सर्वोच्च अदालतमा गतिरोध सुरु भएदेखि नै घर बिदामा बसेका न्यायाधीश केसी बिहीबारदेखि भने कित्ता परिवर्तन गर्दै अन्य न्यायाधीशसँगै उभिएका छन् । केसीले आफूनिकटका दुई जना न्यायाधीशलाई सन्देश पठाएर ‘न्यायालय सुधारका लागि अन्य न्यायाधीशलाई साथ दिएको’ बताएका छन् ।

न्यायाधीश केसी करिब एकसातादेखि रुपन्देहीमा घर पूजाका लागि बिदा लिएर बसेका थिए । न्यायालयको गतिरोध लम्बिएपछि केसीले पनि कित्ता परिवर्तन गर्दै प्रधानन्यायाधीशको साथ छाडेका हुन् । केसीले आफूनिकटका दुई न्यायाधीशलाई पठाएको सन्देशमा प्रधानन्यायाधीशको राजीनामाको सम्बन्धमा केही बोलेका छैनन् । उनको सन्देशमा न्यायपालिका सुधारका लागि गोला प्रथाबाट पेसी तोक्ने र हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनमा ल्याउनुपर्ने कुरा उल्लेख छ ।

सर्वोच्चका न्यायाधीश केसीले प्रधानन्यायाधीशको राजीनामा माग्ने कुरामा भने सहमति नजनाएको स्रोतले बतायो । केसीको भनाइ उद्धृत गर्दै स्रोतले रातोपाटीसँग भन्यो, ‘राजीनामा एक्सट्रिम हो, यसमा केही र सबैको स्वार्थ र महत्त्वाकाङ्क्षा छन् । तर, सुधारमा गोला प्रथा तत्काल लागु गर्ने, संवैधानिक नियुक्ति विवाद र संवैधानिक इजलासको विवाद लगायत तत्काल सुधार गर्नुपर्ने कुरामा भने सहमति हुने भन्ने हो ।’

त्योसँगै सन्देशमा उनले गोला प्रथा र प्रतिवेदन कार्यान्वयनका साथै ‘न्यायाधीशहरूको अन्य मागमा ऐक्यबद्धता’ भने पनि प्रधानन्यायाधीशको राजीनामाको सम्बन्धमा भने केही बोलेका छैनन् । न्यायालय सुधारका लागि प्रधानन्यायाधीशको राजीनामा माग भई आन्दोलन भइरहँदा ५ दिनपछि मात्रै न्यायाधीश केसीको ‘प्रतिबद्धता सन्देश’ आए पनि सन्देशमा प्रधानन्यायाधीशको राजीनामाको सम्बन्धमा केही बोलिएको छैन ।

यसअघि नै अमेरिकामा रहेका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले इमेल पठाएर अन्य न्यायाधीशहरूको आन्दोलनमा ऐक्यबद्धता रहेको र प्रधानन्यायाधीशको बहिर्गमनबिना न्यायालयको सुधार हुन नसक्ने बताएका थिए । साथै भ्रमण अवधि छोट्याएर चाँडै नेपाल फर्कने पनि उनले न्यायाधीशलाई जानकारी गराएका छन् ।

त्यसैगरी उच्च अदालतको अनुगमनसहित खप्तडको पारिवारिक भ्रमणमा रहेका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधान मल्लले पनि न्यायालय सुधारका लागि न्यायाधीशहरूको आन्दोलनप्रति ऐक्यबद्धता रहेको पत्र पठाइसकेका छन् । उनीहरू शुक्रबार काठमाडौँ आइपुगेर आइतबार सर्वोच्चमा उपस्थित हुने छन् ।

शुक्रबार पनि इजलास बस्दैन : सर्वोच्चका न्यायाधीश

प्रधानन्यायाधीशको विपक्षमा उभिएका सर्वोच्चका एक न्यायाधीशका अनुसार न्यायपालिका सुधारका लागि उनीहरूको आन्दोलन शुक्रबार नि जारी रहनेछ । शुक्रबार पनि बिहान साढे ११ बजे न्यायाधीशहरूको बैठक डाकिएको कारण शुक्रबार पनि उनीहरू इजलासमा बस्ने छैनन् । प्रधानन्यायाधीशले आफूलाई एकल इजलासमा पेसी तोकेमा पनि अन्य न्यायाधीशहरू पनि इजलासमा नबस्ने ती न्यायाधीशले बताए ।

दलको मौनताप्रति न्यायाधीशको आक्रोश

सर्वोच्च अदालत ५ दिनदेखि ठप्प हुँदा पनि प्रमुख राजनीतिक दलको मौनताप्रति न्यायाधीशहरूले चासो राख्न थालेका छन् । न्यायालय सुधारका लागि आन्दोलन भइरहँदा र प्रधानन्यायाधीश चरम विवादमा पर्दा पनि राजीनामा नआउनु र राजनीतिक दलहरू मौनतामै बस्नु गम्भीर विषय भएको एक न्यायाधीशले बताए । उनले भने, ‘अब राजनीतिक दलहरूले बोल्नुपर्छ । कि प्रधानन्यायाधीशले गरिरहेका सबै काम र कुरा सही छन्, अन्य सबै न्यायाधीशहरू खराब हुन् भन्नुपर्‍यो । होइन भने यस्तो गम्भीर विषयमा पनि दलहरू च्याँखे थापेर बस्नु कदापि राम्रो विषय होइन । यो कुनै व्यक्ति रहनु र नरहनुको कुरा होइन, यो त विधि, पद्धति, विधिको शासन, न्यायपालिकाप्रतिको जनविश्वास र भरोसाको विषय हो । यस्तो अवस्थामा राजनीतिक दलले आफ्नो स्पष्ट धारणा राख्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप