शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको यस्तो छ विगत

बिहीबार, ११ कात्तिक २०७८, १५ : ४१
बिहीबार, ११ कात्तिक २०७८

नेकपा एकीकृत समाजवादी पार्टीका बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनी बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री हुन् । यसअघि प्रदेशको मुख्यमन्त्रीका रुपमा डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले जिम्मेवारी सम्हालेका थिए ।

बाबु नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेको कोखबाट २०१३ सालजेठ २९ गते धादिङको गजुरी गाउँपालिका वडा नम्बर–२ मा जन्मेका पाण्डे २०७४ सालको प्रदेशसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित भएका हुन् । नेकपा एमालेको उम्मेदवारका रुपमा विजयी भएका उनी पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लागेका हुन् ।

राजनीतिक पृष्ठभूमि

ग्रामिण विकासमा स्नातकोत्तर गरेका पाण्डे २०३१ सालको  विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका थिए । २०३३ साल श्रावणमा केन्द्रीय कारागारमा जेल कमिटीको सदस्य तथा कोअर्डिनेसन केन्द्रको सदस्यता प्राप्त गरेका उनी २०३४ साल श्रावणमा प्रथम भ्याली अर्गनाईजिङ कमिटीको सदस्य भएका थिए ।

२०३६ कात्तिकमा धादिङमा भएको प्रथम जिल्ला पार्टी सक्रिय दलको सचिवको जिम्मेवारी प्राप्त गरेका उनी २०४२ साल पुसपछि २०४७ पुससम्म नेकपा (माले) जिल्ला कमिटी धादिङको सदस्य भए ।

पाण्डे २०४७ साल पुसपछि २०५२ सालसम्म नेकपा एमाले जिल्ला कमिटी धादिङको पार्टी सचिवको जिम्मेवारीमा रहे । २०५० वैशाख २० गते नेपालगञ्जमा सम्पन्न एमालेको छैटौं महाधिवेशनबाट अञ्चल सचिव बनेका पाण्डे २०५४ सम्म सो जिम्मेवारीमा रहे ।

​२०५५ मंसिर ५ गते नेकपा एमाले को केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी प्राप्त गरेका उनले २०६५ सालसम्म सो जिम्मेवारी सम्हालेका थिए । २०६५ सालदेखि २०७४ सालसम्म नेकपा एमालेको पोलिटब्युरो सदस्य रहेका नेता पाण्डे २०७४ सालदेखि तत्कालीन नेकपाको केन्द्रीय सदस्य रहे । तत्कालीन नेकपा विघटनसँगै उनी २०७८ भदौ ९ गतेसम्म नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । २०७८ भदौमा नेकपा एमाले विभाजनपछि भने उनी नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध रहेर उपाध्यक्षको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् ।

जेल जीवन

२०३१ सालमा सिक्किमलाई भारतमा गाभ्ने कार्य विरुद्धको आन्दोलनमा सहभागी रहेका उनले २०३२ सालको विद्यार्थी आन्दोलनमा सरस्वती क्याम्पसबाट नेतृत्व गरे । उनी २०३२ सालको विद्यार्थी आन्दोलनमा गिरफ्तार भई केन्द्रीय कारागारमा ४२ दिनसम्म हिरासतमा बसे । उनले २०३४ सालमा भूमिगत जीवन पनि बिताए । जेल बसेको अवधिमै कोअर्डिनेशन केन्द्रसँग सम्पर्कमा रहेका उनी २०३६ सालमा बहुदलीय व्यवस्था प्राप्तिका लागि भएको आन्दोलनमा सहभागी भए ।

२०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्व गर्दै आन्दोलनलाई विजयको शिखरमा पु¥याउन सफल भएका पाण्डेले २०६० देखि २०६२÷२०६३ सम्म निरंकुश राजतन्त्र तथा प्रतिगमन विरोधी आन्दोलनमा आन्दोलन परिचालन कमिटीको सचिवका रुपमा काम गरे ।

पाण्डे २०३१ सालमा १७ दिन, २०३२ सालमा ४२ दिन, २०३३ सालमा १ वर्ष, २०३७ सालमा शिक्षक आन्दोलनमा सहभागी हुँदा २८ दिन, २०३८ सालमा ३६ दिन, २०४२ सालमा ९ महिना, २०४४ सालमा जनपक्षीय जिल्ला सभापतिको हैसियतमा भण्डाफोरको नीति अन्तर्गत फाल्गुण ७ गते भाषण गर्दा राजकाज मुद्दा खेपेर १७ महिना जेल बसे ।

संसदीय जिम्मेवारी

२०४३ सालमा राष्ट्रिय पञ्चायतको जनपक्षीय उम्मेदवार बनेर निकटतम प्रतिस्पर्धी बनेका पाण्डे २०४४ साल वैशाखमा जनपक्षीय जिल्ला पञ्चायत सभापतिमा निर्वाचित भए । २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा धादिङ क्षेत्र नम्बर–३ बाट लगातार ३ पटक निर्वाचित भएका उनले २०५१ देखि २०५३ सालसम्म संसदीय दलको सचेतक र २०५३ देखि २०५५ सालसम्म प्रमुख सचेतकको जिम्मेवारी प्राप्त गरे ।

२०६३ जेठ ८ देखि २०६३ चैत १८ गतेसम्म स्थानीय विकास मन्त्री बनेका पाण्डे २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर–३ बाट निर्वाचित भए । २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर–१ (क) बाट उनी निर्वाचित भए । २०७४ साल भदौ २६ गतेदेखि भने उनी नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको नेताको जिम्मेवारीमा छन् ।

विदेश भ्रमण

२०५० सालमा संयुक्त राज्य अमेरिका भ्रमण गरेका पाण्डेले २०५३ सालमा चीन, २०५३ साल श्रावणमा इटली र जापान भ्रमण गरे । यस्तै, २०५८ सालमा जर्मनी, स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्स, २०५९ सालमा मलेसिया, सिंगापुर, फिलिपिन्स र थाइल्याण्ड, २०६२ सालमा भेनेजुयलाको भ्रमण गरेका उनले २०६३ सालमा तान्जानिया, २०६६ सालमा ब्राजिल र चीन, २०६७ सालमा दक्षिण कोरिया, २०६९ सालमा अष्ट्रेलिया र २०७१ सालमा चीनको भ्रमण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप