बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशका नयाँ मन्त्री : शाक्य सरकारका विद्रोहीदेखि पूर्व लडाकुसम्म

बिहीबार, ११ कात्तिक २०७८, १४ : ४६
बिहीबार, ११ कात्तिक २०७८

 बागमती प्रदेशमा अन्ततः सरकार परिवर्तन भएको छ । अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै राजेन्द्र पाण्डेको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया आरम्भ भएको छ । गठबन्धनबीच भएको सहमतिअनुसार तत्काल मुख्यमन्त्रीसहित मन्त्रिपरिषदको सदस्य संख्या ४ रहने छ । जसअनुसार बिहीबार काँग्रेसका कृष्णलाल भँडेल, नेकपा एकीकृत समाजवादीका कृष्ण खनाल र माओवादी केन्द्रका कुमारी मोक्तानले मन्त्रीको जिम्मेवारी पाउँदैछन् । 

कृष्णलाल भँडेल

भक्तपुरको चाँगुनारायण नगरपालिका–४ मा जन्मेका कृष्णलाल भँडेल हाल नेपाली काँग्रेसको भक्तपुर जिल्लाको पार्टी सदस्य छन् । बाबु मंगललाल भडेल र आमा सेतीमाया भँडेलको कोखबाट जन्मेका उनी २०३६ सालदेखि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा छन् ।

भक्तपुर निर्वाचन–१ (क) बाट प्रदेशसभाको सदस्य बनेका उनी २०४८ सालमा वडा अध्यक्ष निर्वाचित भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा भने उनी पराजित भएका थिए । तर, उपनिर्वाचनमा उनले तत्कालीन नेकपाका उम्मेदवारलाई पराजित गर्दै प्रदेशसभामा इन्ट्री पाएका थिए । 

कृष्ण खनाल

बाबु मधुभक्त खनाल र आमा सावित्री खनालको सन्तानको रुपमा २०१८ सालमा जन्मेका कृष्ण खनाल यसअघि बागमती प्रदेशको सामाजिक विकास मन्त्री बनिसकेका छन् । उनी २०७८ भदौ २ गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा मन्त्री नियुक्त भइ १५ दिन जिम्मेवारी सम्हालेका थिए ।

चितवनको निर्वाचन क्षेत्र नम्बर–१ (ख) बाट प्रदेशसभा सदस्य रहेका खनाल २०३४ सालबाट कोअर्डिनेशन केन्द्रबाट राजनीतिमा आएका हुन् । २०३५ सालमा कोअर्डिनेशन केन्द्र मालेमा परिणत भएसँगै उनले त्यसै पार्टीबाट आफ्नो राजनीतिक यात्रा अघि बढाए । २०४७ सालसम्म उनले मालेमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका उनी २०४७ मा एमालेमा आवद्ध भए ।

​२०६५ सालमा एमालेको चितवन जिल्ला अध्यक्षको जिम्मेवारी प्राप्त गरेका खनाल २०७१ सालमा केन्द्रीय सदस्य र चितवन जिल्ला इञ्चार्ज बने । नेकपा एमाले विभाजन ताका भने एमालेको केन्द्रीय सदस्य रहेका उनी बागमती प्रदेशको मन्त्री बनेका थिए । तर, माधव नेपालले एकीकृत समाजवादीको आधिकारिकता पाएलगत्तै अष्टलक्ष्मी शाक्य नेतृत्व सरकारमा मन्त्री रहेका उनी विद्रोह गरेर नेपालको पार्टीतिर लागेका थिए । शाक्य सरकारका सामाजिक विकास मन्त्री उनी छाडेर माधव नेपालतिर लागेका हुन् । उनी हाल एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य छन् ।

कुमारी मोक्तान

द्वन्द्वकालदेखि नै माओवादीमा आवद्ध रहेकी कुमारी मोक्तानको जन्म २०३६ सालमा भएको हो । मकवानपुरको तत्कालीन पदमपोखरी गाविस हाल हेटौंडा उपमहानगरपालिका–१३ मा बाबु सानुकान्छा मोक्तान र आमा तिर्थमायाबाट जन्मेकी उनी मकवानपुरको निर्वाचन क्षेत्र–२ (क) बाट २०७४ सालमा बागमती प्रदेशसभा सदस्य निर्वाचित भएकी हुन् ।

उनी पहिलो संविधानसभा सदस्य पनि हुन् । उनी २०६४ सालमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर–४ बाट माओवादी केन्द्रबाट संविधानसभा सदस्यमा निर्वाचित भएकी थिइन् । २०५० सालबाट राजनीतिमा होमिएकी उनी २०५५ सालमा जिल्ला सदस्य बनिन् । २०५६ महिलातर्फको केन्द्रीय सदस्य रहेकी मोक्तान सोही समयमा महिलातर्फको जिल्ला अध्यक्ष पनि थिइन् ।

​सशस्त्र द्वन्द्वका क्रममा ०५७ सालमा उनले एक वर्ष जेल जीवन बिताएकी छन् । २०५८ मा उनी माओवादीको ईलाका इन्चार्ज बनिन् । २०५९ मकवानपुर जिल्ला सचिवको जिम्मेवारी प्राप्त गरेकी उनले २०६० सालमा पार्टीको जनसरोकार प्रमुख, २०६१ प्रादेशिक जनसरोकार उपप्रमुख र २०६१ मा क्षेत्रीय ब्युरो सदस्यमा रहेर काम गरिन् ।

२०६२ मा पार्टीको केन्द्रीय सदस्य रहेकी उनी २०६३ मा अन्तरिम विधायिकाको जिम्मेवारीमा रहिन् । त्यसयता माओवादी पार्टीको केन्द्रीय सदस्य र मकवानपुर इञ्चार्ज रहेकी मोक्तान बागमती प्रदेशमा तत्कालीन नेकपाको सरकारमा मन्त्री बन्ने चर्चा चलेको थियो तर, सो समयमा उनलाई पार्टीले मन्त्रीको जिम्मेवारी दिएन । आज मन्त्री बन्न लागेका तीनै जना प्रदेशसभामा संसदीय दलको उपनेताको भूमिकामा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप