बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अपहरणकारी सफाइ प्रकरण : अनुसन्धानमा कमजोरी भएको छानबिन समितिको निष्कर्ष

इन्स्पेक्टरसहित ३ जनालाई विभागीय कारबाही सिफारिस
शनिबार, ०६ कात्तिक २०७८, ०७ : ०३
शनिबार, ०६ कात्तिक २०७८

भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न भनिएका दुर्गाबहादुर बुढाथोकी उर्फ सोले कुमारले अदालतबाट सफाइ पाएपछि प्रहरीको अनुसन्धानमाथि प्रश्न उठ्यो । अनुसन्धानमा त्रुटि भएको आशंकामा छानबिन गर्न महानगरीय प्रहरी कार्यालयले गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी चक्रबहादुर सिंह नेतृत्वको समितिले अनुसन्धानमा संलग्न इन्स्पेक्टर सहित ३ जना प्रहरीलाई विभागीय कारबाहीको सिफारिस गरेको छ । 

प्रतिवेदनमा सो मुद्दाको अनुसन्धान गर्ने इन्स्पेक्टर नानिकाजी थापा सहित ३ जनालाई विभागीय कारबाहीको सिफारिस गरिएको छ । एक जना असई र एक हवलदारलाई पनि कारबाहीको सिफारिस गरिएको छ । महानगरीय प्रहरी प्रमुख (एआईजी) हरि बहादुर पालले समितिले प्रतिवेदन बुझाएको रातोपाटीलाई बताए । उनले भने–‘प्रतिवेदन अनुसार कारबाही प्रक्रिया अघि बढेको छ ।’ 

२०७७ पुसमा केन्द्रीय अनुसन्धान ब्युरोले भारतको दार्जिलिङबाट सोले कुमारलाई पक्रेर काठमाडौँ ल्यायो । ब्युरोले थप अनुसन्धानका लागी उनलाई काठमाडौँ प्रहरीको जिम्मा लगाएको थियो । २०६५ सालमा भएको अपहरणमा संलग्न भनिएका सोलेकुमारलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश अम्बिकाप्रसाद निरौलाले सफाइ दिएका थिए । सफाइ पाएपछि अनुसन्धानमा कमजोरी भएकोबारे प्रश्न उठेको थियो । महानगरीय प्रहरी कार्यालयले असोज ११ मा समिति गठन गरेर अनुसन्धानबारे छानबिन गरेको थियो ।

​अनुसन्धानमा प्रहरीको कमजोरी भएको छानबिन समितिको निष्कर्ष छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले सर्लाहीबाट बुढाथोकीले नागरिकता लिएको प्रमाण मिसिलमा समावेश नगरेका कारण उनले आफूलाई ‘म नेपाली नै होइन’ भन्ने दाबी गरे । उनको दाबीलाई न्यायाधीशले पत्याएपछि आरोपीले सफाइ पाए । 

अनुसन्धान अधिकृत नानिकाजी थापाले मुद्दाको चापका कारण नागरिकताको प्रमाण मगाउन छुटेको बयान दिएका छन् । सिआईबीले गरेको अनुसन्धान र आरोपीले बयानमा स्विकारेको आधारमा अनुसन्धान अधिकृतले थप प्रमाण नजुटाइकन मुद्दा अघि बढाएका थिए । तर, इन्स्पेक्टर थापाको गलत नियत नदेखिएको समितिको निष्कर्ष छ ।

‘अनुसन्धानमा प्रहरीको मानवीय त्रुटि भएको देखियो’ छानबिन प्रतिवेदनमा भनिएको छ–‘तर, अनुसन्धान अधिकृतले गलत नियत राखेर अनुसन्धान गरेको पुष्टि भएन ।’

छानबिन समितिको सदस्यमा महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइराला, महानगरीय प्रहरी कार्यालयका डिएसपी रविन कार्की, इन्स्पेक्टर ईश्वर कार्की र सई घनश्याम उप्रेती सदस्य थिए । 

मुद्दा हेर्ने एसपी राख्न सुझाव 

महानगरीय प्रहरी परिसर काठमाडौँमा कामको चापका कारण सोले कुमारको मुद्दामा प्रहरीले अनुसन्धानमा त्रुटि गरेको समितिको निष्कर्ष छ । मुद्दा शाखामा प्रहरी उपरीक्षक (एसपी) र थप एक जना डिएसपीको दरबन्दी थप्न सुझाव दिएको छ । मुद्दा शाखामा इन्स्पेक्टरको सङ्ख्या पनि थप्न सुझाव दिइएको छ । 

‘महानगरीय प्रहरी वृत्तहरूको मुद्दाको मनिटरिङ समेत गर्ने गरी मुद्दा शाखामा एसपीले कमाण्ड गर्नुपर्ने सुझाव दिएका छौँ’ समितिका एक जना सदस्यले रातोपाटीसँग भने–‘जघन्य मुद्दाको अनुसन्धान गर्न थप एक जना डिएसपीको दरबन्दी थप्न सुझाव दिएका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप