बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अर्ली इलेक्सनबारे गठबन्धनले निर्णय गर्छ : प्रधानमन्त्री देउवा

शुक्रबार, ०५ कात्तिक २०७८, १० : २३
शुक्रबार, ०५ कात्तिक २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्सन​बारे गठबन्धनले निर्णय गर्ने बताएका छन् । कैलालीको धनगढीमा प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफूले चाहेर मात्र अर्ली इलेक्सन नहुने बताए ।

बैशाखमा अर्ली इलेक्सन हुन्छ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘ बैशाखमा गर्ने कि कहिले गर्ने ? गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन । गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’

सत्तारुढ काँग्रेस र विपक्षी एमालेमा अर्ली इलेक्सनको चर्चा भइरहेका बेला गठबन्धनले निर्णय लिने बताए । यस्तै सुदूरपश्चिम प्रदेशका बाढी–पहिरो प्रभावित क्षेत्रको भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले तत्काल उद्धार  र राहतको व्यवस्था गरिने आश्वासन दिए ।  बाढी–पहिरो पीडितका लागि तत्कालीन र दीर्घकालीन राहत प्याकेज ल्याइने बताए । 

प्रधानमन्त्री देउवाले एमसीसी पास गरिने पनि बताए । देउवाले भने, ‘एमसीसी पास हुन्छ। यो ठूलो अनुदान हो, ऋण होइन । यो नेपालकै कानुनअनुसार हुन्छ। यति ठूलो अनुदान आएको छ, तर त्यो पनि चाहिएन भन्छन् । हद भइसक्यो,’ देउवाको आक्रोश थियो ।

वडा अधिवेशन हुन बाँकी रहेका कैलालीसहित १३ जिल्लामा निर्वाचन समितिले छिट्टै अधिवेशन हुने बताए । उनले भने, ‘निर्वाचन समितिले काम गरिरहेको छ । छिट्टै अधिवेशन हुन्छ अब । यो निर्वाचन समितिले गर्ने हो ।’ 


काँग्रेसको १४ औं महाधिवेशन गर्ने जिम्मेवारी पार्टीको निर्वाचन समितिको हातमा रहेको बताए । १४ औं महाधिवेशन तोकिएकै मितिमा हुन्छ भनेर सोधिएको प्रश्नमा देउवाले भने, ‘राष्ट्रिय चुनाव गर्ने निर्वाचन आयोग भएजस्तै काँग्रेसको महाधिवेशन गर्न स्वतन्त्र निर्वाचन समिति छ । पार्टीको निर्वाचन कमिटीले जे निर्णय गर्छ, त्यही हुन्छ ।’

साथै देउवाले निर्वाचनको प्रक्रिया सुरु भइसकेको भन्दै बाढी–पहिराे लगायतका कारण समस्या भएको बताए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप