शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक सुरु, आज विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफलमात्र हुने

बिहीबार, ०४ कात्तिक २०७८, १६ : १६
बिहीबार, ०४ कात्तिक २०७८

बागमती प्रदेशसभा बैठक सुरु भएको छ । निर्धारित समयभन्दा ढिलो सुरु भएको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अघिल्लो बैठकमा पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल हुँदैछ । मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको बैठकमै विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् । दसैँ बिदाका कारण झण्डै दुई सातापछि बिहीबार बसेको बैठकमा पनि विश्वासको मतमाथि मत विभाजन भने नहुने भएको छ ।

अल्पमतमा परिसकेकी मुख्यमन्त्री शाक्यले केही दिन सत्ता लम्ब्याउने प्रयासस्वरुप प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्तावमाथिको प्रक्रियालाई अल्झाएको विपक्षी दलहरु बताउँछन् । करिब दुई साता अघि पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि बिहीबारको बैठकमा छलफल हुने र सम्भवतः कार्तिक ७ गते अर्को बैठक राखेर सो बैठकमा मात्र मत विभाजन गराउने सत्ता पक्षको तयारी छ ।

यता, विपक्षी गठबन्धनले भने नयाँ मुख्यमन्त्रीको दाबेदारका रुपमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ । विपक्षी गठबन्धनमा आवद्ध सांसदहरुले नयाँ मुख्यमन्त्रीमा पाण्डेलाई समर्थन जनाउँदै हस्ताक्षर गरेका छन् ।

१०९ सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री शाक्यको दल नेकपा एमालेसँग ४३ संसदमात्र छन् । अर्कोतिर विपक्षी गठबन्धनमा नेकपा माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२, नेकपा एकीकृत समाजवादी पार्टीका १३ र जसपाका एक सांसद छन् । यस आधारमा प्रदेशसभामा विपक्षी गठबन्धन प्रस्ट बहुमतमा देखिन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप