बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए चुनाव : दलीय सर्कुलरले उम्मेदवार तितरबितर !

मङ्गलबार, १९ असोज २०७८, ०९ : २५
मङ्गलबार, १९ असोज २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनलाई लिएर नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आन्तरिक सर्कुलर जारी गरेपछि उम्मेदवारहरू तितरबितर भएका छन् । यद्यपी आन्तरिक सर्कुलरको कतिपय एनआरएनए अभियन्ताले आलोचना गर्दै आएका छन् । यसअघि नै चुनावका लागि भनेर बद्री केसी निकटको प्यानलमा खुलेका माओवादी र काँग्रेस निकटका केही उम्मेदवार पछि हटेका छन् । उनीहरु केही कुल आचार्य समूहतिर औपचारिक रुपमै खुलिसकेका छन् भने केही आन्तरिक छलफल गरेर केही दिनमै सर्कुलर अनुसार लाग्ने तयारीमा रहेका छन् ।

यसअघि केसी समूहमा खुलेका कोषाध्यक्षका उम्मेदवार तथा वर्तमान सहकोषाध्यक्ष लोक प्रसाद दाहालले आफू आचार्य समूहबाट चुनाव लड्ने घोषणा गरेका छन् । रातोपाटीसँग कुरा गर्दै उनले सबैसँगको सल्लाहअनुसार आफू आचार्य टिमबाट चुनाव लड्न लागेको बताए । यद्यपी उनलाई केसी समूहले पनि साथ नछाड्न आग्रह गरेको छ । उसो त सोमबार साँझ आयोजित एक अन्तरक्रिया कार्यक्रममा पनि दाहालले आफूले आचार्य समूहबाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

आचार्यले सञ्चालन गर्दै आएको ‘खुला डबली’ अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘ लामो छलफलपछि प्रवासमा भएका साथीहरु एकै ठाउँमा जानुपर्छ भन्ने निष्कर्षमा पुग्यौं। मैले कुलजीको टिमबाट कोषाध्यक्ष पदमा उम्मेदवार दिने निर्णय गरेको छु ।’ बेल्जियम निवासी दाहाल नेकपा माओवादी केन्द्र निकट मानिन्छन् । केही दिनअघि मात्रै बेल्जियमबाट नेपाल आएका उनले आवश्यक परामर्शपछि केसी टिम छाडेर आचार्यतिर लागेको बताइएको छ ।

यस्तै केही दिनभित्रै नेपाल आउन लागेका उपाध्यक्षका उम्मेदवार डिबी क्षेत्रीको प्यानलबारे पनि टुंगो लाग्नेछ । स्रोतका अनुसार उनलाई आचार्य समूहमा ल्याउन पहल भइरहेको छ भने हाल केसी समूहले उपाध्यक्षको उम्मेदवार भनेर प्रचार गरिरहेको छ । यी दुबै माओवादी निकटका रुपमा चिनिन्छन् ।

तर, माओवादी निकट मानिने संगीता मरहठ्ठा, ओम गुरुङ र मिलन छन्त्यालले भने आचार्य समूहमा आउन अस्वीकार गरेको र उनीहरु गठबन्धन मान्न तयार नभएको एक अभियन्ताले जानकारी दिए ।

यस्तै काँग्रेस निकट मानिने महेश श्रेष्ठ पनि आचार्य समूहतिर आउने तयारीमा रहेको बताइएको छ । पार्टीले सर्कुलर गरेपछि यसअघि केसी टीमबाट चुनाव लड्ने भनेर प्रचार भएका श्रेष्ठ आचार्य समूहतिर आउन तयार भएको बताइएको छ । काँग्रेस र माओवादी केन्द्र निकटका प्रवासी सम्पर्क मन्चभित्र सर्कुलरबारे ब्यापक बहस भइरहेको रातोपाटीको सम्पर्कमा आएका एक एनआरएनए अभियन्ताले बताए ।

आफ्नो टिम फाइनल गरेर मंगलबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्न लागेका बद्री केसीलाई पछिल्लो समीकरणले समस्या भएको छ । समीकरणकै कारण केसीको टीममा रहेका भनिएका केही उम्मेदवार अनुपस्थित हुने बताइएको छ  । यद्यपि केसीले उनीहरुलाई फकाएर कार्यक्रममा सहभागी हुन आग्रह गरिरहेका छन् ।

एनआरएनएमा राजनीतिक प्यानलका आधारमा प्यानल बनाउन नपाइने व्यवस्था भएपछि अघोषित रुपमा राजनीति हुँदै आएको छ । यही बीचमा काँग्रेस र माओवादीले प्रवासमा रहेका आफ्ना शुभेच्छुक संगठनलाई नेपालमा भएको गठबन्धनअनुसार नै चुनावमा सहभागी हुन सर्कुलर गरेको हो । एनआरएनएमा केसी एमाले निकटका मानिन्छन् भने आचार्य काँग्रेस निकटका मानिन्छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप