आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन अन्तर्गत हुम्लामा कसरी भयो विवाद ?

संस्थापन इतर पक्षले समानान्तर कार्यसमिति घोषणा गर्दै
सोमबार, १८ असोज २०७८, १७ : ४६
सोमबार, १८ असोज २०७८

नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको गृहजिल्ला हुम्लामा पार्टीको जिल्ला नेतृत्व छनोट विवादित भएको छ । संस्थापन पक्षले हुम्ला सभापतिमा मोहनविक्रम सिंह सर्वसम्मत रुपमा चयन भएको बताउँदै आएको छ । तर इतर पक्षले भने सिंहलाई सभापति चयन गरिएको संस्थापन पक्षको दाबीलाई अस्वीकार गर्दै आएको छ ।

विवाद बढ्दै जाँदा हुम्लामा काँग्रेसको समानान्तर कार्यसमिति गठन भएका छन् । संस्थापन पक्षले सर्वसम्मत रुपमा गठन भएको भनिएको कार्यसमितिलाई चुनौती दिँदै रामचन्द्र पौडेल पक्षले छुट्टै कार्यसमिति घोषणा गरेको छ । पौडेल पक्षले शाहीमाथि वडा, पालिका, प्रदेश र जिल्लातहको नेतृत्व छनोटमा निर्वाचन अधिकृतलाई हातमा लिएर एकलौटी निर्वाचन गर्न लगाएको आरोप लगाएको छ ।

अधिवेशनमा उनले आफ्नै छोरा भरत शाहीलाई ‘ख’ प्रदेशसभा कार्यसमितिका उपसभापति बनाएका छन् । उनले आफ्ना स्वकीय सचिव राजबहादुर रोकाया र चन्द रावललाई महाधिवेशन प्रतिनिधि बनाएका छन् ।

के भन्छ पौडेल पक्ष ? 

पौडेल पक्षधर नेतृ तथा पूर्व सांसद रिता शाहीले हुम्लामा जीवनबहादुर शाहीले सत्ताको दुरुपयोग गरेर एकलौटी गर्न खोजेको आरोप लगाइन् ।

‘उहाँ (शाही)ले अहिलेसम्म एकलौटी शासन चलाउनुभयो । लामो समयदेखि उहाँको एकलौटी शासनमा रहेर हामीले आन्तरिक लोकतन्त्रको रक्षाका लागि लडाइँ गरिरहेका छौं,’ उनले भनिन् ।

पौडेल पक्षलाई अधिवेशन किन अस्वीकार्य ?

पौडेल पक्षकी नेतृ तथा पूर्व सांसद शाहीले वडा तहदेखि नै हुम्लामा धाँधली हुँदै आएको बताइन् । प्रस्तुत छ, विभिन्न तहका अधिवेशनका क्रममा भएका धाँधलीबारे उनको अनुभव उनकै शब्दमा–

१६ गते यहाँ निर्वाचन अधिकृत आइपुगे । निर्वाचन अधिकृतसँग हाम्रो (पौडेल पक्षको) भेट नै हुन पाएन । निर्वाचन अधिकृत जीवनबहादुर शाहीको सम्पर्कमा गएर बस्नुभयो । एक प्रकारले निर्वाचन अधिकृत नै ‘क्याप्चर’ गरेर राखेजस्तो भयो ।

हुम्लामा ४४ वडा छ । त्यहाँ एक जना पनि मतदान अधिकृत पठाइएन । त्यो पनि ठिक छ भनेर हामीले स्वीकार ग¥यौं । अधिवेशन अघि नै (साउन ७ गतेतिर) मेरोे पालिका (सर्केगाड गाउँपालिका)को एउटा वडामा एकजना अधिकृत पुगेर अधिवेशन भयो भनेर आए । त्यस्ता विवादित अधिकृतलाई नपठाउन भन्दा पनि जीवनबहादुर शाहीको रणनीति अनुसार तिनै मतदान अधिकृतलाई त्यहाँ पठाईयो ।

मैले निर्वाचन अधिकृतलाई फोन गरेर तपाई निर्वाचन गराउन यहाँ आउनुभएको छ, निर्वाचन अधिकृतले त दुईवटै पक्षलाई राखेर निर्वाचनमा जाने हो नि ! सहमतिमा गए पनि दुई पक्षलाई नै राख्ने हो  भनेर जानकारी गराएँ । तर, निर्वाचन अधिकृतले एक पक्षीय मात्र कुरा सुनेर अघि बढे ।

केन्द्रमा शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ । जिल्ला र प्रदेशमा जीवन शाहीको पावर छ, त्यसैले पनि होला यस्तो भएको ।

हुम्ला जिल्लाको ४४ वटै वडामा सहमतिमै नेतृत्व चयन भयो, निर्वाचन भएन । ७ पालिका मध्ये ६ पालिकामा सहमतिमा नेतृत्व चयन भयो । तर, मेरो पालिका सर्केगाड गाउँपालिकामा चुनाव नै गराइयो ।

मिलेर नै जाउँ भन्दा उहाँहरुले निर्वाचनमै जाने भनेर रणनीति बनाइ निर्वाचन गराउन लगाउनुभयो । निर्वाचनलाई त स्वीकार गर्नै प¥यो । सहमतिमै बराबर भागवण्डा गरौँ भन्दा पनि उहाँले मान्नुभएन । निर्वाचनमा जाँदा उहाँहरुको कुनै सदस्य पनि आएन । त्यो हुँदै गर्दा उहाँहरुको एजेन्टले नामावली र मतपत्र च्यात्यो । अनि त्यहाँको निर्वाचन अधिकृतले २ घण्टा स्थगित गरेर सहमतिमा पुनः चुनाव गराइयो ।

प्रदेशसभामा १२ गते अधिवेशन उद्घाटन भयो । १३ गते बिहान नामावली निकाल्यो र १ बजेसम्म नोमिनेशन गरियो ।

त्यसपछि उम्मेदवारलाई बोलाएर निर्वाचन आचारसंहिताबारे छलफल गरिँदै गर्दा हामीले प्रदेशसभा क्षेत्र ‘क’ अन्तर्गतका धेरै मतदाता गाउँबाट आइपुगेका छैनन्, भोलि बिहान ७ बजेबाट चुनाव गराउँ भन्दा मतदान अधिकृतले मान्दै मानेनन् । त्यसपछि हामीले आधिकारिक निवेदन समेत पेस ग¥यौं । तर, उहाँहरुले हामीलाई एक मिनेट पनि नपर्खेर जीवनबहादुर शाहीको प्यानललाई लिएर हाम्रो उपस्थितिबिनै एकलौटी तरिकाले आफ्नो मान्छे जम्मा गरेर निर्वाचन गराइदिए ।

जिल्ला अधिवेशनका लागि हामी जिल्लामा गयौं र पहिला प्रदेश ‘क’ को विवाद समाधान गरेर अघि बढौं भन्यौँ । किनकि त्यहाँ एकपक्षीय ढङ्गले गरेको निर्वाचनको विवाद नमिल्दासम्म हामीले स्वीकार गर्ने कुरा हुँदैन ।

हाम्रा कुरालाई बेवास्ता गर्दै १५ गते जिल्ला अधिवेशन उद्घाटन गरियो । १६ गते बिहानै नामावली निकालेर सबै दावी–विरोध गरेर ३ बजे नोमिनेशन गर्ने समय राखे । हामीले हाम्रा मतदाता नै आउन यहाँ २ दिन लाग्छ, त्यो समयसम्म रोकौं भन्दा राति ६ बजेबाट मतदान गर्ने भनेर समय तोकियो ।

हामीले फरक मत राखेर निर्वाचनमा सहभागी नहुने भन्यौं । निर्वाचन अधिकृतले हाम्रो कुरा सुन्नु भएन । लोकतन्त्रमा हार र जीन सबैको हुन्छ तर, यहाँ (उहाँले) सत्ताको दुरुपयोग गरेर एकलौटी गर्न खोज्नुभयो ।

राज्यको सहयोग, सत्ता र शक्तिको दुरुपयोग गरेर एकलौटी अधिवेशन गरियो । त्यसलाई हामीले स्वीकार गर्ने कुरै भएन । त्यसैले हामीले अर्को समिति बनाएका छौं । सबै कमिटी घोषणा गर्दैछौं ।

निराधार आरोप : जीवनबहादुर शाही

काँग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाही भने पराजित मानसिकताका कारण यस्तो आरोप लगाइएको बताउँछन् । उनले निर्वाचन व्यवस्थित तथा शान्तिपूर्ण रुपमा भयो कि भएन भनेर निर्वाचन अधिकृत दुर्गा सापकोटाले नै राम्रोसँग भन्न सक्ने बताए ।

‘निर्वाचन कस्तो भयो भनेर अरुले होइन निर्वाचन अधिकृतले भन्न सक्छ,’ उनले भने, ‘त्यसैले आरोप त जसले पनि लगाउन सक्छ तर त्यसको वैधता निर्वाचन अधिकृतले मात्र भन्न सक्छ ।’

उम्मेदवार घोषणा गर्ने तर उम्मेदवारी दिन नआउने भएपछि स्वाभाविक रुपमा सर्वसम्मत नेतृत्व चयन भएको उनले बताए । ‘उम्मेदवारी दर्ता नै गर्दिनँ भन्नुहुन्छ भने केही लाग्छ ? सर्व सम्मतिकै लागि योगदान गर्नुभएको होला ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप