बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेवारी भाषा नजान्दा विद्यार्थी फेल !

महानगर भन्छ, विद्यार्थीलाई फेल गर्न पाइँदैन
सोमबार, १८ असोज २०७८, १४ : ५५
सोमबार, १८ असोज २०७८

नेवारी भाषा नजान्दा काठमाडौंका विद्यालयले विद्यार्थीलाई फेल गर्न थालेको पाइएको छ । नेवारी भाषा (नेपाल भाषा) नजानेको भन्दै साना बालबालिकाहरूलाई फेल गर्न थालिएको हो । नयाँ बानेश्वरस्थित इपीएस स्कुलले जारी गरेको मार्कसिटमा कक्षा २ मा पढ्ने विद्यार्थीले नेवारी भाषा नजानेको भन्दै फेल भएको रिजल्ट दिएको छ । स्कुलले दिएको रिजल्टमा अन्य सबै विषयमा ए प्लस र ए आएका विद्यार्थीलाई नेपाल भाषाको आन्तरिक मूल्यांकनमा शून्य अंक दिइएको छ । जसको कारण ती विद्यार्थीले ‘इ’ ग्रेड पाएका छन् । तर, विद्यालयले जारी गरेको -याकमा भने फेल भनिएको छ ।

मूल्यांकन पद्दति ग्रेडिङमा गएपछि विद्यार्थीलाई पास वा फेल भन्न पाइँदैन । विद्यार्थीले पाएको अंकको आधारमा ती विद्यार्थीलाई ए प्लसदेखि ई सम्मको ग्रेडिङ गरिन्छ । तर उक्त विद्यालयले भने विद्यार्थीलाई फेल भनेर रिजल्ट दिइएको छ ।

यस विषयमा विद्यार्थी पास र फेल हुने पद्धति के भनेर भनेर सोध्दा इपिएस स्कुलका भाइस प्रिन्सिपल राजेन्द्र शर्माले कम्प्युटरमा अंक चढाएपछि सोही आधारमा फेल आएको बताए । विद्यार्थीलाई पास वा फेल भन्न नमिलेपनि कम्प्युटर सिस्टमका कारण त्यस्तो नतिजा आएको बताए ।

नेपाल भाषाको सम्बन्धमा भएको के हो भन्ने रातोपाटीको प्रश्नमा शर्माले भने, ‘अहिले महानगरले तालिम दिएका दुईजना शिक्षकले नेपाल भाषा पढाइरहनुभएको छ । अंक पनि उहाँहरुले नै दिनुभएको हो । सोही अंकका आधारमा हामीले रिजल्ट प्रकाशन गरेका हौँ । अब कसरी पढाए, के पढाए र किन शून्य अंक दिए भन्ने कुरा हामीले पनि बुझ्न सकेका छैनौँ । यस सम्बन्धमा के भएको रहेछ हामी, बुझ्छौँ ।’

विद्यालयका भाइस प्रिन्सिपल शर्माले महानगरले बाध्यकारी रुपमा नेपाल भाषा लादेका कारण सिकाई उपलब्धिमा समस्या आएको बताए । उनले भने, ‘महानगरले बाध्यकारी बनाइदिएको छ । महानगरले नै तालिम दिएका दुईजना शिक्षक राखेर हामीले नेपाल भाषा पढाइरहेका छौँ । तर ९० प्रतिशतभन्दा बढी विद्यार्थी गैरनेवार समुदायका छन् । उनीहरुले नेपाल भाषा बुझ्नै सक्दैनन् र पढ्न पनि चाहँदैनन् । तर पनि हामी पढाउन बाध्य छौँ । अब विद्यार्थीले नबुझेपछि नतिजा त त्यस्तै आउने नै भयो ।’

यस्तो छ नेपाल भाषाको मूल्यांकन पद्दति

   काठमाडौं महानगरले अहिले कक्षा १ देखि नै स्थानीय पाठ्यक्रमका रुपमा नेपाल भाषालाई अनिवार्य गराएको छ । १०० पूर्णाङ्कको पाठ्यभारमा नेपाल भाषाको अध्यापन हुँदा कक्षा ३ सम्म प्रयोगात्मक परीक्षा मात्रै लिन पाइन्छ । तर, निजी विद्यालयले भने साना कक्षाका विद्यार्थीसँग पनि लिखित र प्रयोगात्मक परीक्षा लिइरहेको छ । र, जुन विद्यार्थीले नेपाल भाषाका शब्दहरू भन्न जान्दैन त्यस्ता विद्यार्थीलाई शून्य अङ्क दिएर फेल गरिएको छ ।

महानगर भन्छ, ‘विद्यार्थीलाई फेल गर्न पाइँदैन’

निजी विद्यालयहरुले सानो कक्षाका विद्यार्थीहरुलाई पनि नेपाल भाषा नजानेको कारण फेल गरेपछि महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीलाई विद्यार्थी फेल गरिने आधार र कारण के हो भनी सोधेका थियौँ । जवाफमा सुवेदीले कुनै पनि विद्यालयले विद्यार्थीलाई फेल गर्न नपाइने बताए । उनले भने, ‘अहिले विद्यार्थी पास र फेल भन्ने नै हुँदैन । अहिले मूल्यांकन पद्धति नै ग्रेडिङ सिस्टमका आधारमा हुन्छ । ए प्लस देखि ई ग्रेडसम्म छ । कम ग्रेड आउन सक्ला, तर विद्यार्थीलाई फेल गर्न पाइँदैन ।’

शिक्षा विभाग प्रमुख सुवेदीका अनुसार अघिल्लो कक्षामा कम अङ्क प्राप्त गरेका विद्यार्थीलाई अर्को कक्षामा गएपछि थप पाठ्यभार दिएर पढाउने गरी पाठ्यक्रम तयार पारिएको छ । तर कुनै विद्यार्थीले नेपाल भाषा नजानेकै कारण फेल गर्नचाहिँ पाइँदैन, बरु अर्को कक्षामा गएपछि थप पढाउनु पर्छ । विद्यार्थीलाई फेल गर्दा साना बालबालिकाको मानसपटलमा नकारात्मक असर गर्ने भन्दै त्यसो नगर्न अनुरोधसमेत गरे ।

उनले भने, ‘आवश्यक परेमा हामी सर्कुलर नै जारी गर्न पनि सक्छौँ । कक्षा ३ सम्म त परीक्षा लिन नै पाइँदैन । त्यसपछि पनि विद्यार्थीलाई फेल गर्नु हुँदैन । फेल गराएमा विद्यार्थीमा नकारात्मक असर पर्न सक्छ । त्यसकारण यस विषयलाई हामीले गम्भीररुपमा लिएका छौँ ।

तनावमा विद्यार्थी र अभिभावक

नेपाल भाषा नजानेकै कारण परीक्षामा ‘फेल’ हुन थालेपछि विद्यार्थी र अभिभावकमा तनाव थपिएको छ । रिजल्टमा फेल आएपछि बालबालिकाहरु रुने, दुखी हुने गरेको भन्दै त्यसले अन्य विषयको सिकाई उपलब्धिमा समेत असर गर्न सक्ने एक अभिभावकले बताए । विद्यार्थीहरु उक्त विद्यालयमा पढ्नै नमान्नेसम्मको स्थिति आउन लागेको भन्दै अभिभावकले चिन्ता जनाए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप