जागरणतिरको यात्रा
मानवजीवन अथाह सम्भावनाले भरिएको छ । हामीभित्र भएको ज्ञान, बुद्धि, विवेक, प्रेम आदिको कारण जे चाह्यो त्यही बन्न सक्छौँ । जसरी चाह्यो त्यसरी आफूलाई बदल्न सक्दछौँ । परम स्वतन्त्र बन्न पनि सक्छौँ भने कहिल्यै उठ्न नसक्ने किसिमले दलदलमा फस्न पनि सक्छौँ । आफ्नो जीवन उन्नत र परिष्कृत बनाउन आफू जाग्नुको विकल्प छैन । मनमा अनेकौं प्रश्नहरु निरन्तर उठ्नु जरुरी छ । म किन मानव भएँ ? मेरो जन्मको रहस्य के हो ? पन्चतत्वबाट बनेको मानव शरीरपनि किन एउटा रुप अर्को सँग मेल खाँदैन । स्थान विशेष किन शारीरिक बनावट फरक हुन्छ ? आदि इत्यादि प्रश्नहरु हाम्रो मनमा उठ्छन् भने हामी जाग्न थाल्छौँ । खोजी निरन्तर आफूभित्र हुनुपर्दछ ।
यो पुरै अस्तित्व मनको फैलावट हो, किनकि हामी मनको आदेश नभई यो शरीरलाई चलाउदैनौं । खानपनि मन चाहिन्छ, कार्य गर्न, अरुसँग व्यवहार गर्न, कहिँ कतै जान, कुनै कुरा सुन्न आदि हामीले जतिपनि कार्य गर्दछौ सबै मनको आधारमा गर्दछौँ । कसैसँग प्रेम गर्न होस् वा कसैलाई घृणा गर्न नै किन नहोस् सबैमा मन छ । शरीर त देखिने एउटा रुप मात्र हो । पूर्णरुपमा हामी मनबाट निर्देशित छौँ । मनले पनि हामीले लगाएका आदतहरूको आधारमा कार्य गर्दछ । हामीले प्रात:कालमा उठेर योगाभ्यास गर्ने आदत लगाएका छौँ भने त्यो अवस्थामा मनले पनि स्वीकार गर्छ । मनको पनि आफ्नै नियम छ,त्यही आधारमा उसले काम गर्दछ । घर, परिवार, समाज, धर्म, संस्कार, मान्यता, धारणा, भौगोलिक बनावट आदि आधारमा हामीले आदतहरू बनाएका छौँ । ती आदतहरू हामीलाई माथि उठाउने प्रकारका पनि हुन्छन् भने कुनै आदत हाम्रो चेतनालाई तलतिर लैजाने पनि हुन्छन् । मन खाली भएमात्र हामी आफूलाई बुझ्न सक्तछौँ । नानाभाँती कुराहरु मनमा भएका कारण हामीमा अरुको कुरा सुन्ने क्षमता हुँदैन र अरुको कुरामा तुरुन्तै प्रतिकृया दिइहाल्छौँ । अरुलाई सुनाउन हतार रहन्छ, केही कुरा भयो, कुनै किसिमको समस्या आयो प्रभावमा हामी परिहाल्छौँ फलानो यस्तो छ, उस्तो छ, उसलाई यो समस्या सुनाउँदा समाधान हुन्छ भन्दै आफ्नो जीवन अरुलाई सुम्पिन्छौँ । त्यो व्यक्तिभित्र के कुरा छ जसले उसलाई योग्य बनायो हामी कहिले सोच्दैनौँ । जुन चेतना उभित्र छ, त्यहि चेतना मभित्र पनि छ यसको बोध हामीलाई हुँदैन । कसैलाई कुनै किसिमको सल्लाह दिनुपर्यो भनेपनि हामी अरुको भनाइलाई अगाडि सारेर कुरा गर्छौं । जबसम्म हामी बाहिरको प्रभावमा रहन्छौं तबसम्म अगाडि बढ्न सक्दैनौं ।
जागरण अर्थात् आफ्नो अस्तित्वको खोजी आफ्नो क्षमता प्रतिभा आफू हुनुको खोजी हो । आफ्नो मूल स्वभावमा स्थित बन्नु हो । हामीभित्र अथाह खुशी, आनन्द, प्रेम, करुणा, साहस, ज्ञान, ध्यान सबै छ । त्यसको निमित्त आफूतिर फर्किनु जरुरी छ । आफ्नो मूल उर्जाको खोजी गर्नु छ । मभित्र के छ जसले मलाई चलाउँछ, इन्द्रियहरुको माध्यमद्वारा प्रकट हुन्छ, नशनाडी मुटुको धड्कन आदि सबै चलाएर मेरो शरीरलाई एउटा नयाँ रुप दिएको छ । निरन्तर त्यो रुपलाई परिवर्तन पनि गराइरहेको छ ।
रुप भित्रको अरुपको खोजी नै जागरणतिरको यात्रा हो । बाहिर गएको स्वास भित्र फर्किएर नआउने बित्तिकै हामी शरीरलाई लाश बनाउँछौँ र त्यो सड्न, गल्न थाल्छ अनि त्यसबाट दुर्गन्ध आउन थाल्छ । अबपनि हामी बेहोशीको यात्रामा निरन्तर अगाडी बढ्छौँ भने दु:ख, पिडा, चिन्ता, तनाव आदिले हामीमा घर बनाउँछ । कसैले हामीलाई सुधार्न सक्दैन जाग्नु आफैँ पर्छ । दु:ख सुख हाम्रो आफ्नै कमाई हुन् । हामी के बन्ने महाखुशी, महासुखी, महाआनन्दित बन्ने वा महादु:खी बन्ने सबै हाम्रो हातमा छ ।
मानव हुनुमा यति धेरै स्वतन्त्रता रहेछ त्यसको बोध सद्गुरुदेवसंगको सानिध्यबाट प्राप्त हुँदो रहेछ । महासुखी, महाआनन्दित व्यक्तिले मात्र हाम्रो जीवनको सहि अर्थ बोध गरेको हुन्छ । जन्मससँगै हामी धेरैबाट ज्ञान प्राप्त गर्छौं । कसैले सांसारिक ज्ञान दिन्छन् भने सद्गुरुदेवले हामी आफूभित्र भएकै ज्ञानलाई उजागर गरिदिनुहुन्छ । त्यसैले त यति धेरै महत्व छ सद्गुरुदेवको । हामी होशपुर्वक हेर्न सक्यौं भने सद्गुरुदेवको पुरै शरीर नै ज्ञानको भण्डारको रुपमा देख्छौं । करूणाले भरिएका आँखा, प्रेमपूर्ण मधुर अमृतरुपी वाँणी प्रत्येक शब्दमा गहिरा रहस्यहरु, हाउभाउ हिंडाई, कार्य गराई उहाँहरुले प्रयोग गर्ने सम्पूर्ण कुराहरुले हामीलाई जगाउँछन् ।
जीवन विज्ञान प्रतिष्ठान त्यहि जागरणको ढोका हो । हाम्रो जीवन महाजीवन बन्नको निमित्त चाहिने सम्पूर्ण ज्ञान त्यहाँ छ । सद्गुरुदेवद्वारा ज्ञान गंगामा निरन्तर स्नान गर्दै जाँदा मन विस्तारै निर्मल बन्न थाल्छ । मान्यता धारणा वाद सबै विस्तारै घट्दै जान थाल्छन्, मन खाली अनि शान्त हुन थाल्छ ।
निरन्तर सत्संग, साधना पश्चात व्यक्तिले अनुभूति गर्छ, ओहो म त वैकुण्ठमा वास गर्ने क्षमता राख्दो रहेछु भनेर । इश्वर परमदयालु प्रेमल छ, निस्वार्थ रुपमा हामीलाई प्रेम गर्छ भन्ने कुराको पुरा पुरा बोध सद्गुरुदेवको सान्निध्य पश्चात हामी पूर्ण रुपमा अनुभूति गर्न सक्छौं । निरन्तर हामी जाग्दै जान्छौं । आफूप्रति प्रेम हुँदै मन, भाव, चेतना पश्चात पूर्णरुपमा प्रेममा उपलब्ध हुन्छौं । महास्वतन्त्रता प्रेम रहेछ भन्ने अनुभूति हुन्छ । दिनु प्रेम हो । प्रेमबाट जीवनमा सेवा, परोपकार, श्रद्धा, भक्ति सबै जन्मिदै जान्छ ।
सद्गुरुदेवको सान्निध्य पश्चात निरन्तर साधनाले आफुमा अरु अरुमा आफू देख्ने क्षमता निरन्तर बढ्दै जाँदो रहेछ । सबैबाट उन्मुक्त बनेपछि महासुखी, महाआनन्द सबै हामीमा आपसेआप आउँछन् । कमाउन योग्य सम्पत्ति त सद्गुरुदेवको कृपा प्रसाद पो रहेछ । जागरण जीवनमा सद्गुरुदेवको सत्संगबाट प्राप्त हुँदो रहेछ ।
त्यसैले जागरणको यात्रामा आफूलाई डोर्याउनुको विकल्प छैन । जागृत व्यक्तिले मात्र सबैलाई बुझ्न सक्तछ । जीवन सहज र सुगम बन्छ । जहाँ गए पनि आफूभित्रै रमाउँछ । जीवन वरदान बन्छ, उत्सवमय बन्छ । तसर्थ आफ्नो क्षमताको प्रयोग गर्दै निरन्तर सद्गुरुदेवको सान्निध्यमा रहनुपर्दछ । सबैलाई यो सुअवसर प्राप्त होस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा
-
ट्रम्पलाई समर्थन गर्नु मस्कलाई पर्ला महँगो ?
-
ह्वात्तै युरिक एसिड बढाउँछन् यी चिज, हिँडडुल गर्नै हुन्छ अप्ठ्यारो
-
हिमाल हेर्न कोखेडाँडा
-
१२ बजे, १२ समाचार : 'भीआईपीलाई चोख्याउन बयान कागज' देखि 'यू-१९ क्रिकेटमा नेपालको विश्वकप यात्रा'सम्म
-
विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्छ : अध्यक्ष नेपाल