जीवन रूपान्तरणको निमित्त स्वीकारभाव
यो ब्रह्माण्ड नियममा छ, प्रवाहमा छ । पानी जहिले पनि भिरालोतिर बग्छ, गहिरो स्थानमा जम्मा हुन्छ । बादल सदा आकाशमा रहन्छ । बिरुवा जमिनमा रोपेपछि जहिले पनि माथितिर बढ्दै जान्छ । सूर्यचन्द्र उदाउने समय एउटै छ । पशुपन्छी पनि प्रकृतिले जे गर्न लगाएको छ, त्यही गर्छन् । मानिस मात्र यस्तो प्राणी हो, जो प्रकृतिले दिएको सीमाबाट माथि उठेर असीमित सक्छ । त्यसको निमित्त हामीले सजगताका साथमा विभिन्न भावहरूको विकास गर्नुपर्छ । जसमध्ये स्वीकार भाव एक हो ।
सही मार्ग निर्देशन निरन्तर साधनामार्फत हामी यो गुणको विकास गर्न सक्छौँ । बिनासजगता केही हुँदैन । यो संसारमा राम्रो पनि छ, नराम्रो पनि छ । हाम्रो दृष्टि जस्तो छ हामी त्यस्तै देख्छौँ । राम्रो सत्सङ्गमा छौँ भने हामी नराम्रोभित्र लुकेको राम्रो, दुःखभित्र लुकेको सुखलाई, प्रतिकुल परिस्थितिभित्रको अनुकूलतालाई सहज रूपमा देख्न सक्छौँ । त्यसैले त जीवनमा सद्गुरुदेवसँगको सत्सङ्गको अपरिहार्यता रहन्छ । सद्गुरुको सान्निध्यले हामी जीवन र जगत्लाई बुझ्न थाल्छौँ । म को हुँ ? मेरो शरीर कसरी बनेको छ ? आदतहरू कसरी बन्छन् ? मनका विभिन्न खण्डहरूको निर्माण कसरी हुन्छ ? मनलाई कसरी प्रशिक्षित गरेको खण्डमा हामीभित्र स्वीकार भाव जन्मिन्छ ? कस्ता विचारहरू हाम्रो मनमा चल्नु पर्दछ ? कस्ता भावहरूले हामीलाई दिव्यतातिर लैजान्छन् आदि प्रश्नहरूको प्रयोगात्मक उत्तर हामी पाउँछौँ ।
मानिसलाई माथि उठाएर असीमित बनाउने क्षमता स्वीकार भावले राख्छ । यो ब्रह्माण्ड ऊर्जैऊर्जाले बनेको छ । हामीभित्र पनि असीमित ऊर्जा छ । ५ ज्ञानेन्द्रिय, ५ कर्मेन्द्रियहरूका माध्यमद्वारा हामी ऊर्जाको खपत गर्दछौँ । रक्तसञ्चारमा स्वासप्रश्वास, मुटुको धड्कन, पाचन क्रिया आदिमा पनि ऊर्जाको खपत हुन्छ । यहाँसम्म कि मनमा चल्ने विचारहरू हृदयमा उत्पन्न हुने भावहरूले पनि हाम्रो ऊर्जालाई खपत गर्ने अथवा वृद्धि गर्ने गर्दछन् । हाम्रा आदत, वातावरण, साथी सङ्गत, घरपरिवार, अवचेतन मनमा सङ्ग्रहित विचारहरूका कारण हाम्रा विचारहरू बन्ने र बिग्रने गर्दछन् । सकारात्मक विचारले हामीभित्र ऊर्जाको वृद्धि गर्छ भने नकारात्मक विचारहरूले घटाउँछन् ।
त्यस्तै प्रेम, करुणा, दया, क्षमा, अनुग्रह भाव, स्वीकार भाव, खुसी, उमङ्ग आदिले निरन्तर ऊर्जाको अभिवृद्धि गछन् भने यी भावहरू विपरीतका अरू भावहरूले क्षय गर्छन् । त्यसैले त सद्गुरु हामीलाई लक्ष्यतिर बारम्बार डो¥याउनु हुन्छ । लक्ष्यसँगै नेतृत्व क्षमता आवश्यक पर्छ । मन एकत्रित बन्न थाल्छ । नेतृत्व क्षमताको साथमा आँट, साहस, हिम्मत बढ्दै जान्छ तब व्यक्तिमा सहजै स्वीकार भाव जन्मिन्छ । व्यक्तिभित्रको ऊर्जा निरन्तर फैलिन्छ । सर्वहितायालाई आफ्नो लक्ष्य बनाएको खण्डमा असीमित ऊर्जा हामीलाई प्राप्त हुन्छ, कठिनभन्दा कठिन परिस्थितिसँग सहज रूपमा सामना गर्न सक्ने सामथ्र्य रहन्छ । जीवनमा दुःख छन्, अभाव छन् भने पनि यी सबै मलाई बलवान् बनाउन आएका छन् भन्ने अनुभूति हुन्छ । अहिलेको यो महामारीको अवस्था प्रति पनि सहज स्वीकार रहन्छ । किनकि सन्तुलन नै जीवन हो । विकाससँगै विनाश पनि जोडिएको हुन्छ । यस प्रकृतिमा भएका सम्पूर्ण तत्त्वहरू परिवर्तनशील छन् ।
एउटाको रूप परिवर्तन नगरी अर्काे रूप बन्दैन यस्ता तथ्यहरूलाई बुझेपछि जीवनमा विरोध रहँदैन । खुसियाली, आनन्द, शान्ति रहन्छ । विरोध गर्नु असन्तुष्टि जनाउनुमा पनि मेरै ऊर्जा खर्च हुन्छ । जति बराबर असन्तुष्टि त्यति बराबर ऊर्जा रोकिन्छ । त्यसैले सहज र सरल जीवन बनाउन स्वीकार भाव निरन्तर जरुरी छ । सजगतासँगै प्रेम आउने हुँदा यदि शरीरमा कुनै रोग छ, चोटपटक छ भने पनि मेरो आफ्नै कारणले हो भन्ने स्वीकार जन्मिन्छ । जति बराबर शरीरका अङ्ग प्रत्यङ्गमा ऊर्जा पुग्छ, त्यति बराबर जीवन्तताको अनुभूति हुन्छ । मनमा हुने दुःखसुखको कारण बुझेपछि मनका प्रत्येक कृत्यप्रति पनि स्वीकार भाव जन्मिन्छ । तब मन आफ्नो स्वकेन्द्रतिर फर्किन्छ । मनको स्वकेन्द्रमा असीमित आनन्द, शान्ति, प्रेम, करुणा, दया, क्षमा, सहजता, सरलता आदि गुणहरू हुन्छन् । हाम्रो उठबस गुणवत्तासँग हुन्छ । दुःखसुखबाट जीवन पार बन्छ । जीवनमा परम स्वतन्त्रता आउँछ । हामीले देखेको स्वतन्त्रतामा शरीर, मन, भाव, चेतनाको अतिक्रमण हुन्छ तर अध्यात्मको स्वतन्त्रतामा शरीर, मन, भावप्रति मैत्री रहने हुँदा निरन्तर चेतनाको वृद्धि हुन्छ । मैत्री भावका कारण ती सबैले ऊर्जालाई मुक्त गरिदिन्छन् ।
अध्यात्मको यात्रा सद्गुरुबिना अगाडि बढ्न सक्दैन । बाहिरका पदार्थहरूले निरन्तर हाम्रो मनलाई खिचिरहन्छन् । मनका नियमहरू अनुरूपका साधना पद्धति भएको खण्डमा मात्र मनबाट उन्मुक्त बन्न सकिन्छ । होसका साथमा सद्गुरुदेवद्वारा प्रदान गरिएका विधिहरूको प्रयोगपश्चात विस्तारै हामी मनलाई चाहेअनुरूप बनाउन सक्तछौँ । प्रेम करुणा भावका साथमा दिव्य ब्रह्मवाक्यहरूले आफूमाथि विजय प्राप्त गर्न सक्तछौँ । असन्तुष्टि, दुःख, तनाव, चिन्ता सबै हाम्रो उत्थानको निमित्त छन् भन्ने बोधपश्चात डर जीवनमा रहँदैन । हरसमय उच्च मनोबल बढाउने किसिमका वाणीहरू, प्रेम र करुणा भावका साथमा सद्गुरुदेवबाट आउने हुँदा चेतना परिष्कृत बन्छ । हृदय विराट बन्दै सबै अटाउन सक्ने हुन्छ । सबैप्रति धन्यवाद भाव, स्वीकार भाव सद्गुरुदेवको असिम अनुकम्पाबाट मात्र हुनेहुँदा जीवनप्रति श्रद्धा जागेर आउँछ । जीवन धन्य बन्छ ।
त्यसैले आफ्नो जीवन उन्नत, सार्थक र खुसियालीले भर्नको निमित्त सद्गुरूप्रति आफ्नो मनको ढोका खोल्नु जरुरी छ । आफूभित्र आँट, साहसको वृद्धि गर्दा डरप्रति विजय प्राप्त गर्दै स्वीकार जन्मिनु पर्छ । सबैलाई यो सौभाग्य प्राप्त होस् ।